• ८ पुस २०८१, सोमबार

छ महिनापछि सामाजिक सुरक्षा भत्ता

blog

मुगु समाचारदाता

मुगु, माघ १६ गते । चौमासिक रूपमा उपलब्ध गराइनुपर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाउँपालिकाले करिब छ महिनापछि ज्येष्ठ नागरिकको बैङ्क खातामा पठाएको छ। पालिकामा लेखापाल अभावका कारणले छ महिनापछि ज्येष्ठ नागरिकको भत्ता बैङ्क खातामा पठाइएको हो।

ज्येष्ठ नागरिकले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा औषधोपचार, न्यानो कपडा, पोसिलो खाना, जुत्ता चप्पल र लत्ताकपडा खरिद गर्नबाट वञ्चित भएको ज्येष्ठ नागरिक सतलबहादुर रोकायाले बताउनुभयो। लेखापालको समस्याले चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताउनुभयो।

वडा नं. १ देखि ८ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी दुईवटा वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रियामा अघि बढाइएको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो। पालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनदेखि अर्को जिल्लामा सरुवा भएको र उक्त सोरु गाउँपालिकामा अरू लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाजमा प्रभावित भएको थियो। मङ्सिर अन्तिम साताबाट बुढाको काज फिर्ता भई पुनः सोरु गाउँपालिकामा हाजिर भएपछि बल्ल कामकाज अघि बढेको हो।