केदार तिमल्सिना
बनेपा, चैत १९ गते । नेपाल नागरिकता (दोस्रो संशोधन ऐन) २०८२ प्रमाणिकरण भएपछि काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय आमाको नामबाट, पितृत्व र मातृत्व दुवै ठेगाना नभएको नेपाली नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला केही महिनादेखि जिल्लामा आमाको नामबाट र पितृत्व र मातृत्व दुवै ठेगान नभएको नेपाली नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढेको जनाएको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा जेठ ११ देखि हालसम्म २३ जनाले आमाको नामबाट नागरिकता प्रमाणपत्र र चालु आवको कात्तिकदेखि हालसम्म पितृत्व र मातृत्व दुवै ठेगान नभएका पाँच जना र दुई जनालाई अङ्गिकृत नेपाली नागरिकता प्रदान गरिएको बताउनुभयो ।
उहाँले हालसम्म जिल्लामा आमाको नामबाट १२ जना महिला र ११ जना पुरुष तथा पितृत्व र मातृत्व दुवै ठेगान नभएको तीन जना महिला र दुई जना पुरुषलाई वंशज र एक पुरुष र एक महिलालाई अङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
“पछिल्लो समय नेपाल नागरिकता (दोस्रो संशोधन) २०८२ मा व्यवस्था भए बमोजिम आमाको नामबाट र पितृत्व र मातृत्व दुवै ठेगान नभएका नेपाली नागरिकलाई वंशजको आधारमा र दुई जनालाई अङ्गिकृत नागरिकता प्रदान गरेका हौँ” प्रजिअ अधिकारीले भन्नुभयो ।
जिल्लामा जेठ महिनामा एक जना, असार महिनामा तीन जना, कात्तिक महिनामा एक जना, मङ्सिर महिनामा तीन जना, पुस महिनामा तीन जना, माघ महिनामा दुई जना, फागुन महिनामा सात जना र चैत महिनाको हालसम्म तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
यस्तै, कात्तिक महिनामा एक जना, मङ्सिर महिनामा दुई जना र चैत महिनामा दुई जनालाई पितृत्व र मातृत्व दुवै ठेगान नभएको नेपाली नागरिकता र माघ महिनामा दुई जनालाई अङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रजिअ अधिकारीले पछिल्लो समय कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्दैआएको बताउनुभयो ।
उहाँले जिल्लामा रहेका १३ वटै स्थानीय तहहरुलाई पत्राचार गरेर आफ्नो स्थानीय तहमा रहेका ‘क’ वर्गका अपाङ्गता भएका र नागरिकता नपाएका व्यक्तिको जानकारी दिन आग्रह गरेको बताउनुभयो । कार्यालयले पछिल्लो समय नागरिकहरुका लागि गुनासो गर्नका लागि ‘क्यूआर’ को सुविधा समेत उपलब्ध गराएको बताउनुभयो ।
“कार्यालयमा विभिन्न कारणले नागरिकले गुनासो गर्न आनाकानी गर्न सक्ने भएकाले क्यूआर कोडको व्यवस्था गर्दा निर्धक्क भएर घरबाट नै गुनासो गर्न सक्नेछन्” प्रजिअ अधिकारीले थप्नुभयो ।
उहाँले कार्यालयले गुनासोको साथै नागरिक वडा पत्रलाई पनि क्यूआरको माध्यमबाट जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । यसैगरी कार्यालयले पछिल्लो समय कुनै पनि सेवाग्राहीले वडा कार्यालयको सिफारिस ल्याएपछि छुट्टै निवेदन आवश्यक नपर्ने व्यवस्था समेत गरेको बताउनुभयो ।