• १२ असोज २०८१, शनिबार

अवैध आयात र आर्थिक मन्दीले पोल्ट्री व्यवसाय सङ्कटमा

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १५ गते । झापाका पोल्ट्री व्यवसायीहरूले भारतीय कुखुराको अवैध आयात रोक्नका लागि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले झापाका पोल्ट्री किसान पलायन हुन थालेको तथा लगानी समेत उच्च जोखिममा रहेको जनाउँदै सो माग गरेको हो ।  

भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेको जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताउनुभयो । “आधाभन्दा बढी व्यवसायी पलायन हुन लागेको विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।

जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हुनेगरेको व्यवसायीले बताउने गरेका छन् । आर्थिक मन्दीका कारणले ४० प्रतिशत माग घटेको र मूल्य समेत घटेको निरौलाले जानकारी दिनुभयो । तीन वर्ष अघिसम्म हामी आठ हजार जनाले पोल्ट्री व्यवसाय गरे पनि अहिले यो ५ हजार जनामा सीमित भएको उहाँको भनाइ छ । 

मुख्यमन्त्री कार्कीले झापाको गौरादहमा आफ्नै निवासमा व्यवसायीहरूको गुनासो सुनेपछि गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । “कृषिमन्त्री र सम्बन्धित सरोकारवालालाई राखेर समस्या समाधानका लागि कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरौँ” पोल्ट्री व्यवसायीसँग उहाँले भन्नुभयो ।

“हामी कुखुरामा आत्मनिर्भर बन्नु खुसीको खबर हो र हामीले यहाँका व्यवसायीहरूलाई प्रोत्साहन गर्ने कुरामा कमी गर्दैनौँ” उहाँको भनाइ छ । अवैध रूपमा हुने आयात रोक्नका लागि आफ्नोतर्फ गर्नुपर्ने सहयोग तथा कुनै नीतिगत निर्णय गर्नुपर्ने भएमा त्यसमा पनि आफ्नो ध्यान जाने उहाँले बताउनुभयो ।