ज्येष्ठ नागरिक ऊ आफैँ परिभाषित हुन्छ । उसको अनुहारले नै परिचय गराएको हुन्छ । जो व्यक्ति देख्दैमा शारीरिक रूपले कमजोर, उमेरले पाको, कपाल झरेको वा सेतै फुलेको, आँखा भित्र पसेका, गाला चाउरिँदै गएका, दाँत झरेका, मांसपेसी सुकेका, रगत सकिँदै गएको, गाला र गलाबाट छाला तुर्लुङ बाहिर झरेको, अनुहार फुङ्ग भएको, शरीरका सबै अङ्ग प्रत्यङ्ग कमजोर भएकाजस्ता लक्षण देखिन्छ, यसबाट ज्येष्ठ नागरिक भनेर सहजै अनुमान गर्न सकिन्छ ।
शरीरका सबै अङ्ग कमजोर हुँदै जाने क्रम नरोकिने हुँदा जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकले विभिन्न कठिनाइ सहनु र भोग्नुपर्ने हुन्छ । उमेर र बल छउञ्जेल कसैको निगरानीमा बस्नु नपरेको व्यक्ति बुढेसकालमा भने बाध्यताबस अरूको सहयोगमा बाँच्नुपर्ने हुन्छ । अन्तरमनले नमाने पनि अरूको सहयोग र सहायता लिनैपर्छ ज्येष्ठ नागरिकले । उसँग अन्य विकल्प हँुंदैन । उमेर भएको बेलामा अनेक दुःख गरेर सबैलाई हुर्काएको र पालेको व्यक्ति बुढेसकालमा भने अरूको निगाहमा बाँच्नुपर्दा मन विरक्तिएर आउनु स्वाभाविकै हुन आउँछ ।
ज्येष्ठ नागरिकका समस्यालाई बुझेर नै संविधानमा समेत केही व्यवस्था गरिएको छ । संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ । संविधानमा भएको प्रावधानलाई कार्यरूप दिन ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को प्रस्तावनामा समेत ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरिएको छ । जसमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरूको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नुपर्ने कुरा उल्लेख छ ।
ज्येष्ठ नागरिकलाई कानुनतः सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलजस्ता क्षेत्रमा सेवा, सुविधा उपलब्ध गराउनु सबैको कर्तव्य हुने कुरा उल्लेख भए पनि यो प्रावधानले ज्येष्ठ नागरिकलाई खासै सुविधा पुगेको देखिँदैन । ज्येष्ठ नागरिकलाई छुट्टै कक्ष र प्राथमिकता दिनुपर्नेछ भनी लेखिएको कानुनी व्यवस्थालाई अस्पताल, सार्वजनिक यातायात, बैङ्किङ, बत्ती, पानीको भुक्तानीजस्ता सामान्य काम कुरामा समेत प्राथमिकतामा राख्ने गरिएको छैन । सार्वजनिक यातायातमा केही सुविधा दिने भनी दुई सिट आरक्षित गरे पनि तन्नेरी केटाकेटीले ओगटेका हुन्छन् । स्वास्थ्य क्षेत्रमा एउटा छुट्टै कक्षको स्थापना हुन नसकेको अवस्थामा उपचार र सुविधा उपलब्ध गराउने विषय त धेरै परको हुने भइहाल्यो । ऐन–नियमले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार र यातायातमा ५० प्रतिशत छुट दिने घोषित नीति भए पनि कार्यान्वयन हुन सकेको देखिँदैन ।
ज्येष्ठ नागरिकमा देखिएको समस्या भनेको प्रथम दृष्टिमै उनीहरू हेपिएका हुन्छन् । अरू त के आफ्नै घरपरिवारबाट पनि वास्ता गरिएको हुँदैन । परिवारका सदस्यले आफूप्रति पहिले गरेका सबै कुरा बिर्सिदिने हुँदा रहेछन् । बूढाबूढीबाट आय आर्जन केही नहुने हुँदा ज्येष्ठ नागरिकले घरपरिवारबाट पनि डर मान्नुपर्ने अवस्था हुँदो रहेछ । सर्वसाधारणको राम्रो दृष्टिकोण हुने भए सायद सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि आरक्षण गरिएको सिटमा कोही पनि बस्दैनथे होलान् । ज्येष्ठ नागरिकप्रति सकारात्मक विचार सबैमा हुने भए किन सरकारले सिट छुट्याउनु पथ्र्यो र ? वर्तमान अवस्थालाई हेर्ने हो भने सिट छुट्याउनुको कुनै अर्थ छैन । कारण ती सिटमा ज्येष्ठ नागरिकले बस्ने मौका नै पाउन सकेका हुँदैनन् । ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल कक्ष, उपचारमा ५० प्रतिशत छुट भन्ने कुरा पनि व्यवहारमा देखिँदैन ।
ज्येष्ठ नागरिकसम्बन्धी कतिपय कानुन निस्क्रिय भएको अवस्था पनि देखिन्छ । ज्येष्ठ नागरिकका लागि हेरचाह स्थान, आश्रम तथा दिवा सेवा केन्द्रको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ । यसको पालना भएको अवस्था देखिँदैन । ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पु-याउन विभिन्न सङ्घसंस्था स्थापना भएका देखिन्छन् तर तिनीहरूले प्रदान गर्दै आएका सेवा, सुविधा तथा अन्य विषयको नियमन भएको छैन ।
नेपालमा ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पुगेकोलाई भनिएको छ तर भत्ता दिने विषयमा भने ६८ वर्षको उमेर नपुगेसम्म दिने गरिएको छैन । एकातिर ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भनी ऐनले नै परिभाषित गरेको छ भने अर्कोतिर ६८ वर्ष नपुगेसम्म मासिक भत्ता नपाउने गरिएको छ । नेपालीको आयु औसत ७१ वर्षको छ भने ६८ वर्ष पुगेपछि दिइएको भत्ताले त्यति योगदान दिन नसक्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । अहिलेको महँगीमा सरकारबाट उपलब्ध हुँदै आएको मासिक चार हजार रुपियाँले ज्येष्ठ नागरिकलाई पुग्ने देखिँदैन । यो भत्तालाई प्राथमिकतामा राखी बढाउँदै लैजानुपर्छ, ता कि उनीहरूलाई जीवन धान्न सहज होस् ।
ज्येष्ठ नागरिक राज्यका गहना हुन् भनिए पनि वास्तवमा त्यस्तो हुन सकेको छैन । अहिले पनि अधिकांश ज्येष्ठ नागरिक पीडामा बाँच्न बाध्य छन् । जीवनको उत्तरार्धको अवस्थामा आफू स्वयं केही गर्न नसक्ने र अरूले पनि ध्यान नदिने हुँदा ज्येष्ठ नागरिकका समस्यामा खासै सुधार आउन सकेको छैन र राज्य तथा सम्बन्धित संस्थाले धेरै काम गर्नुपर्ने बाँकी नै देखिन्छ ।
ज्येष्ठ नागरिकलाई कसैले पनि हेला गर्नु हुँदैन र उनीहरूले भोग्दै आएका समस्या पहिचान गरेर सुल्झाउनुपर्छ । जीवनको सबभन्दा ठूलो वस्तु भनेको स्वास्थ्य हो । स्वास्थ्य नै भएन भने जीवनको कुनै अर्थ हुँदैन । विभिन्न दीर्घ रोग र बुढ्यौलीबाट ग्रसित भएका व्यक्तिलाई उपचार दिएर उनीहरूको जीवन रक्षा गर्नुपर्छ । शारीरिक अवस्था कमजोर भए पनि मानसिक रूपले धेरै बलिया हुन सक्छन् । लामो जीवनयापनमा विभिन्न अनुभवको एक पुञ्जनै हुने हुँदा राज्यले उनीहरूले प्राप्त गरेका ज्ञान, सीप, विज्ञताजस्ता महत्वपूर्ण विषयबाट फाइदा लिन सक्नुपर्छ ।
ज्येष्ठ नागरिक सबै पक्षबाट हेपिएका र उपेक्षित गरिएका छन् । एउटा सानो बच्चासमेत ज्येष्ठ नागरिकसँग रमाउन सकेको हुँदैन । अरू सदस्यबाट चकलेट मिठाई पाउन सक्छ भने ज्येष्ठ नागरिकसँग चकलेट किनिदिने हैसियतसमेत कतिपयसँग हुँदैन । अरूलाई त झनै काउसोजस्तै हुन सक्दछन् ज्येष्ठ नागरिक ।
एउटा चाउचाउको पोको र निधारमा रातो टीका लगाइदिएर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने चलन बढ्दै गएको छ । सकिनसकी विचरा ज्येष्ठ नागरिक केही आशा, केही सहयोगको अपेक्षा गर्दै लौरो टेक्दै पुगेका हुन्छन् । कार्यक्रम स्थल पुग्दा यस्तो व्यवहारले उनीहरूको मन कस्तो हुन्छ होला ? यस्तो गर्नुभन्दा त सम्मान नगर्नु नै राम्रो हुनेछ । अतः यस प्रकारका कार्यक्रम बन्द गर्नु नै राम्रो हुनेछ ।
ज्येष्ठ नागरिकको योगदानलाई लिएर २०७५ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै गठन भई आएको छ । यसले ज्येष्ठ नागरिको जीवनस्तरमा सुधार ल्याउन विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यसभन्दा अघि २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा ७५ वर्ष पुगेका प्रत्येक ज्येष्ठ नागरिकलाई प्रतिमहिना रु.१००।– का दरले मासिक भत्ता दिइएको थियो । पछि आएका सरकारले पनि यसैलाई निरन्तरता दिँदै आएका छन् र अहिले यो रकम रु. ४०००।– पुगेको छ । अहिलेको महँगीमा यो रकम खासै ठूलो नभए पनि केही हदसम्म ज्येष्ठ नागरिकलाई सहयोग पु-याएकै छ ।
हाल मन्त्रालयबाट सञ्चालित हुँदै आएका कार्यक्रम देख्दा साना भए पनि धेरै महìवपूर्ण देखिएका छन् । विभिन्न जिल्लामा स्वास्थ्य उपचार, वृद्धाश्रम, दिवा सेवा केन्द्रको सुदृढीकरणजस्ता कार्यक्रम सञ्चालनमा रहेका छन् । त्यस्तैगरी ज्येष्ठ नागरिकलाई सुविधा पु-याउन कार्यरत संस्था तथा व्यक्तिलाई तालिम तथा
प्रशिक्षण उपलब्ध गराउँदै आएको अवस्था पनि छ । उच्चस्तरीय केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको माध्यमबाट नीतिगत तथा परामर्शसम्बन्धी कार्य भई आएको छ । ज्येष्ठ नागरिक कल्याण कोषको स्थापना तथा ज्येष्ठ नागरिकको अभिलेख राख्ने कामसमेत भइरहेको छ ।
यसैगरी औषधोपचार, वृद्धाश्रम, स्याहारसुसार, खानपिनजस्ता कतिपय मानवीय पक्षसँग जोडिएका विषयमा धेरै काम गर्न बाँकी नै छन् । यद्यपि सरकारले आफ्ना सीमित स्रोतसाधनले भ्याएसम्म सेवा पु-याउँदै आएको कार्य भने सन्तोषजनक नै मान्नुपर्ने हुन्छ । बढ्दो भूमण्डलीयकरणको स्थितिमा नेपालले पनि ज्येष्ठ नागरिकको सुविधामा वृद्धि गर्दै जानुपर्छ । कुल जनसङ्ख्याको ८.४ प्रतिशत ज्येष्ठ नागरिक भएको अनुमान छ । यसलाई आधार मान्दा ६० वर्षभन्दा माथिको जनसङ्ख्या २५ लाखभन्दा बढी हुन आउँछ । यति ठूलो जनसङ्ख्या जुन धेरै अनुभवी, ज्ञान र सीपयुक्त छ, त्यसलाई उपेक्षित गर्नु देशका लागि ठूलो क्षति हुन जान्छ । बरु यिनीहरूबाट राज्यले धेरै फाइदा लिने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आजको आवश्यकता हो ।