आएछ मङ्सिर जहाँ धनधान्य बोकी
झार्छन् किसान पसिना प्रतिभा नरोकी
झुल्क्यो प्रसन्न मनसाथ बिहान खासा
टाढा गरी सकल खिन्नपना निराशा !
सर्वत्र नै प्रकृतिको हँसिलो मुहार
देखाउँदो छ दुनियाँसित बारबार
न्यानो छ घाम पनि ताप्न हुने पहार
आनन्दको प्रकृति रम्य सदावहार !
देख्तै पहेँलपुर सुन्दर धान–खेत
हाँस्दो किसान अनुहार प्रसन्न चेत
कर्मिष्ठ जाँगर भए भरिने भकारी
पूजा निरन्तर गरून् श्रमका पुजारी !
निथ्रुक्क भिज्न सकियोस् पसिना सिँचेर
बाली सजाउन सकौँ श्रमले जुटेर
खाद्यान्न टन्न भरिपूर्ण बनून् भकारी
साकार होस् न सपना बिपना सपारी !
पारेर जागृत किसान हटून् समस्या
जीवन्त होस् कृषकको श्रमको तपस्या
उब्जाउ पार्न सकियोस् सब खेत–बारी
सम्पन्नता फल फलोस् सपना उमारी !
आकाशसाथ धरती पनि मुस्कुरायो
सन्तोष प्राप्तिसँग सृष्टि–कला सुहायो
ऊर्जा उमार्न सकियो क्षमता जुटाई
आएछ मङ्सिर अहो ! सपना सजाई !