• ५ असोज २०८१, शनिबार

माघ अन्तिम साता क्यान इन्फोटेक मेला

blog

काठमाडौँ, माघ १३ गते । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तक्र्रिया गर्ने उद्देश्यले माघ २४ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला आयोजना गर्न लागिएको जनाइएको छ ।

मेलाबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रणजित पोदारले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाबीच गहन छलफल हुनेछ,” पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

प्रदर्शनीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, सुबिसुलगायतका संस्थाको साथ रहेको जनाइएको छ । 

सन १९९५ देखि बर्सेनि आयोजना हुँदै आएको यस्तो प्रदर्शनी यस पटक सातै प्रदेशमा क्रमिक रूपमा गर्ने योजना रहेको जनाइएको छ ।