• ८ चैत २०८२, आइतबार

मौसम पूर्वानुमानमा चीनकाे नयाँ उपलब्धि सार्वजनिक

blog

साङ्केतिक तस्बिर । चित्र : एआई

बेइजिङ, चैत ८ गते । चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४ सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ ।

प्रशासनका एक अधिकारीका अनुसार उपग्रहमा जडित छ वटा उपकरणहरू सबै अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन् ।

सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, चट्याङ पत्ता लगाउने, आयनमण्डल अवलोकन तथा सौर गतिविधि निगरानीमा यसको व्यापक क्षमता देखाएका छन् ।

यी उपलब्धिले मौसम पूर्वानुमान सुधार र अन्तरिक्ष मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष डिसेम्बर २७ मा सिचुआन प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको फेंग्युन–४सी हाल विश्वकै सबैभन्दा सक्षम भूस्थिर मौसम उपग्रहमध्ये एक मानिन्छ ।

यस उपग्रहले साना तथा मध्यम स्तरका मौसमी प्रणालीहरूको निगरानी र पूर्वचेतावनी क्षमतामा उल्लेखनीय सुधार ल्याउने छ । साथै, अन्तरिक्ष मौसमका स्रोतहरूको अनुगमनमा पनि यसको भूमिका महत्त्वपूर्ण हुने र मौसमजन्य विपद् न्यूनीकरणमा अग्रपंक्तिको सुरक्षा प्रणालीका रूपमा काम गर्ने विश्वास गरिएको छ । रासस/सिन्ह्वा