• १९ चैत २०८२, बिहिबार

पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

blog

पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा दुर्घटना भएको पिकअप । तस्बिर गोरखापत्र ।

राधा लुइटेल

 फिदिम, चैत १९ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा पिकअप  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन ।

मृत्यु हुनेमा हिलिहाङ-५, सुभाङका २४ वर्षीय आवास माबो रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्ण जानकारी दिनुभयो ।

बिहीबार दिउँसो दुई बजे डोब्कीलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च. ६०२९ नम्बरको अम्लिसो (कुच्चो) बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो । 

उपचारका क्रममा माबोको निधन भएको अस्पतालले जनाएको छ । गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते  भएका छन ।

चालक बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।