• १९ चैत २०८२, बिहिबार

मकै पकेट क्षेत्रका किसानलाई कृषि उपकरण

blog

किसानलाई कृषि उपकरण हस्तान्तरण गरिँदै । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, चैत १९ गते । बुटवल उपमहानगरपालिकाले मकै पकेट क्षेत्रका किसानलाई कृषि उपकरण वितरण गरेको छ।

उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा ज्याप प्लान्टर १० थान, तराजु ५ थान, मिल २ थान तथा बिल सिडरलगायतका सामग्री वितरण गरेको हो ।

बुटवल वडा न १४ मोतीगन्जमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई ती उपकरणहरू हस्तान्तरण गर्नुभयो।

सो अवसरमा उहाँले तिनाउ पश्चिम क्षेत्रका वडाहरूलाई कृषि उत्पादनमा अग्रणी बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो।

नगर प्रमुख पाण्डेयले बुटवललाई मकै पोल्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै किसानले उत्पादन गरेको मकै आफैँले बिक्री गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।

“किसान आफैँले उत्पादन र बिक्री गर्ने व्यवस्था भएमा आम्दानीको ठुलो हिस्सा किसानकै हातमा पर्छ,” उहाँले भन्नुभयो, “यसका लागि नगरले आवश्यक व्यवस्थापनको उपाय खोजिरहेको छ।”

उहाँले कृषि उत्पादनको बजारीकरणलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपाने र वडा नम्बर १९ का अध्यक्ष चन्द सिंह थापाले समेत कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका संयोजक तुलसीप्रसाद पौडेलका अनुसार यस वर्ष ३५.५ बिघा क्षेत्रफलमा व्यावसायिक मकै खेती गरिएको छ।

२०७९ सालमा वडा नं १४ र १९ को मोतीगन्जलाई मकै पकेट क्षेत्र घोषणा गरिएपछि १६ जना कृषकबाट सुरु भएको व्यावसायिक खेती अहिले ५३ जना कृषकसम्म विस्तार भएको छ।

यहाँ गत वर्ष करिब एक  करोड रुपियाँ बराबरको मकै बिक्री भएकोमा यस वर्ष एक करोड ३० लाख रुपियाँको हरियो मकै बिक्री गर्ने लक्ष्य राखिएको मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका सचिव मुक्ति गैरे अर्जुनले बताउनुभयो ।

मकै पकेट क्षेत्र सञ्चालन भएपछि उपमहानगरपालिकाले किसानलाई बिउ, प्राविधिक सहयोग, उपकरण, जोताइ खर्च, मजदुरी तथा मलखादमा सहयोग गर्दै आएको छ ।