• १९ चैत २०८२, बिहिबार

बगदादस्थित अमेरिकी दूतावासद्वारा आक्रमणको चेतावनी जारी

blog

बगदाद, चैत १९ गते । बगदादस्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने  अमेरिकी संरचना र  इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ ।

बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ  भने राजधानीको मध्य भागमा थप आक्रमणको चेतावनी दिएको छ । इरानसँग जोडिएको इराकी आतङ्कवादी मिलिशिया समूहले आगामी २४–४८ घण्टामा मध्य बगदादमा आक्रमण गर्न सक्ने दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ । यसैबिच इराकमा रहेका अमेरिकीहरूलाई देश छोड्नका लागि सुझावसमेत दिएको छ । 

इरान समर्थक समूह कताब हेजबुल्लाहले मार्च-१९ मा युद्व विराम घोषणा गरेपछि हालैका दिनमा इराकमा आक्रमण दर घटेको थियो । यद्देपी समूहले आफ्नो पछिल्लो युद्व विरामको म्याद सकिएपछि बुधबार समय थपको घोषणा भने गरेको छैन । गत महिना वासिङ्टन र बगदादले आक्रमण रोक्न र इराकी क्षेत्रलाई अमेरिकी सुविधा विरुद्ध आक्रमण गर्न प्रयोग नगरिएको सुनिश्चित गर्न सहयोग तीव्र पार्ने बताएका थिए ।

तर अमेरिकी दूतावासको बिहीबार जारी गरेकोे विज्ञप्तिमा इराकी सरकारले इराकी भूभागबाट आतङ्कवादी आक्रमण नरोकेको जनाएको छ । पेन्टागनले युद्धको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहविरुद्ध हवाइ आक्रमण गरेको बताएको छ भने, वासिङ्टनले इराकी सुरक्षा बललाई लक्षित गरेको दाबीलाई अस्वीकार गरेको छ । उत्तरपश्चिमी इराकमा पिएमएफको विरुद्धमा बुधबार गरिएको आक्रमणको दोष पिएमएफले अमेरिका र इजरायललाई दिएको थियो भने आक्रमणमा तीन जना लडाकुको मृत्यु भएको थियो ।

अमेरिकी दूतावासले विज्ञप्तीमा इराकमा रहेका अमेरिकी नागरिकलाई आतङ्कवादी मिलिसियाले अपहरणका लागि अमेरिकीलाई लक्षित गरेको चेतावनी दिएको छ । सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले कम्तिमा ३० वटा ड्रोनले दुहोक प्रान्तलाई रातारात निशाना बनाएको जनाएको छ । रासस/एएफपी