अनिल पराजुली
हेटौँडा, चैत १९ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ४४ जनाले तोकिएकै समयमा निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो खर्च विवरण समयमै पेश गरेका हुन् ।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । सोही प्रावधानअनुसार मकवानपुरका सबै उम्मेदवारले तोकिएको समयभित्रै विवरण बुझाएका हुन् ।
अघिल्ला निर्वाचनमा खर्च विवरण समयमै नबुझाउने उम्मेदवारलाई जरिवाना गर्नुपर्ने अवस्था आएको भए पनि यसपटक भने सबै उम्मेदवारले जिम्मेवारीपूर्वक विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालयमा बुझाइएको विवरणअनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कुल २ करोड ७ लाख ५६ हजार ३२२ रुपियाँ खर्च भएको छ । निर्वाचन क्षेत्र नं. १ मा १ करोड १२ लाख २८ हजार २३३ रुपियाँ र निर्वाचन क्षेत्र नं. २ मा ९५ लाख २८ हजार ८८ रुपियाँ खर्च भएको उल्लेख छ ।
मकवानपुरमा कुल ४४ जना उम्मेदवारमध्ये निर्वाचन क्षेत्र नं. १ मा दलका १३ र स्वतन्त्र १० गरी २३ जना तथा निर्वाचन क्षेत्र नं. २ मा दलका १६ र स्वतन्त्र पाँच गरी २१ जना उम्मेदवार रहेका थिए । निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम र निर्वाचन क्षेत्र नं. २ बाट प्रशान्त उप्रेती विजयी हुनुभएको थियो । गौतमले १० लाख ८६ हजार ८५५ रुपियाँ र उप्रेतीले २७ लाख ९८ हजार ८११ रुपियाँ खर्च भएको विवरण पेश गर्नुभएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।