एउटा खराब कम्पनीमा जोडिनुभन्दा एक्लै उभिनु उत्तम हुन्छ ।’
–जर्ज वासिङ्टन
२०७८ भदौ ६ गते स्थापना भएको नेकपा (एकीकृत समाजवादी) को धार नेकपा निर्माणको आधारमा उभिएर भएको छ, त्यसैले सबै कम्युनिस्ट पार्टी यही जगमा उभिनै पर्ने बाध्यता छ । देखिएका कम्युनिस्ट पार्टीमा सबैभन्दा वैज्ञानिक, असल, समाजवादी, साम्यवादी चेतको गणनाका आधारमा यही कम्युनिस्ट पार्टी नै उत्तम हो । अघिल्लो हप्ता नेकपा (एकीकृत समाजवादी) मा सदस्यता नवीकरण गर्नुभएका समाजवादी नेता घनश्याम भुसालको लिखित तथा सार्वजनिक वक्तव्यको सार यही हो । यही सारको ऊर्जा, उत्साह र उमङ्गसहित सङ्गठन निर्माणको आधारमा अहिले नेकपा (एकीकृत समाजवादी) एक्लै उभिएको छ, अडिएको छ, अथवा भनौँ अनेक हेपाइ र आलोचना तथा पलायन रोजिरहेका नेता कार्यकर्ता गनेर पनि पार्टी निर्माणमा धीमा सही जुटिरहेको छ ।
कोर्डिनेसन केन्द्रका नाममा ३० को दशकमा हस्तलिखित आह्वानसहित माधवकुमार नेपाल र सीपी मैनालीले आह्वान गरेको कम्युनिस्ट पार्टी निर्माणमा उनै अभियन्ता नेपाल अहिले पनि त्यही हिन्दी गीतका निर्दोष श्रोता हुनुहुन्छ । पुग्ने जो कोहीलाई त्यही गीत गाउनु हुन्छ, सुनाउनुहुन्छ, ‘एक्ला चलो रे ।’ पछिल्ला अन्तर्वार्ता, सम्बोधनमा उहाँमा पनि केही नम्रता देखिन्छ नेकपा एमाले नेतृत्व र खासगरी केपी ओलीका सन्दर्भमा ।
यसले गरेको सङ्केत कम्युनिस्ट पार्टी निर्माणको आधारशीला तयार हुँदैछ भन्ने थियो । प्रधानमन्त्री र प्रदेश सरकारमा पनि माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिनु पक्कै कम्युनिस्ट मन एकाकार हुँदैछ भन्ने आभाष थियो । तर, लामो समय एमालेमा अपहेलना, मानसिक तनाव, विभेद खेपेका नेता कार्यकर्ता हठात् एमाले वा माओवादीसँग मिल्ने कुरामा भने विपक्षमा थिए । समाजवादीको तीन लाख मत पनि कटाउन नदिन कैयौँ ठाउँमा एमाले र माओवादीले खेलेको भूमिकामा नेपाली कांग्रेसको पनि साथ थियो भन्ने बुझेका भूगोलका नेता कार्यकर्ता नेतृत्वलाई खबरदारी गरिरहेका थिए कि, टोलछिमेकका नेता कार्यकर्ताको पनि सम्मानजनक व्यवस्थापनबिना काठमाडौँमा ‘दक्षिणपश्चिमा’ ग्रन्थीका सञ्चारग्राममा बोलेजस्तो सर्लक्क एमाले वा माओवादीभित्र गाभिनु हुन्न ।
विद्रोहको एक वर्ष नपुग्दै कैयौँ शीर्ष नेता एमालेसँग झुम्मिएका थिए भने कैयौँको बोलचालसमेत भएको थिएन र नहोस् भनेर समाजवादी र एमालेको एउटा ठूलो पङ्क्ति कन्दनी छिन्ने गरी बल गरिरहेको पनि दुवै पार्टीका नेता कार्यकर्ताले अनुभूत गरेकै थिए । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि माधवकुमार नेपाललाई ‘सञ्चोबिसञ्चो’ सोध्नु, झर्कीफर्कीयुक्त सम्बोधन नगर्नु, प्रधानमन्त्रीमार्फत भेटघाटको मेलोमेसो खोज्नु ‘भित्रभित्रै’ पाकेको खिचडीको बासना टोलछिमेकसम्म पुगेको हो कि भन्ने छनक मिल्थ्यो ।
अघिल्लो कार्यकालको ‘आधा प्रधानमन्त्री’ दिएर यस पटक एमालेले माओवादीलाई आफ्नो साथ दिए पनि माओवादी यसरी ९९ प्रतिशत विश्वासका मतका साथ ‘जयजयकार’मा पुग्छ भन्ने एमालेको अनुमान थिएन, यद्यपि एमालेका धेरै नेता अनुमानलाई सम्बोधन र सिद्धान्त बनाउन सिद्धहस्तझैँ छन् । नेपाली कांग्रेसले विश्वासको मत दिएर कुनै पनि बेला माओवादी–एमालेको तासघरमा तुरुप मात्र होइन, ‘एक्का’ र ‘जोकर’ हान्छ भन्ने सङ्केत गरेको एमालेले भेउ अबचाहिँ पाएकै हुनुपर्छ । यही मेसोमा समाजवादी पनि एमाले र अझ ओलीबाहेकका नेतासँग वार्तामा जुट्नु र ससाना कम्युनिस्ट पार्टीसँग एकीकृत हुने बजार हल्लाले पनि एमालेसँग सम्बन्ध पक्कै सुध्रिने भएन । चुनावअघि पनि समाजवादीसँग माओवादी एक हुने हल्लाकै कारण थ्रेसहोल्ड कट्न सकेन भन्नेहरू त्यही पार्टीमा यथेष्ट छन् । एमालेसँग विद्रोह र माओवादीमा विलय समाजवाद होइन भनेर विमति राख्ने नेताले कैयौँ ठाउँमा एमालेलाई भित्रभित्रै साथ दिए र माओवादीलाई हाकाहाकी असहयोग गरे भनेर पनि चर्चा भएकै छ ।
निर्वाचनलगत्तैका यी दुई महिनामा समाजवादीबारे चलेको हल्लाले पनि कार्यकर्ता बिलखबन्दमा परेका छन् । सुरुमा उपेन्द्र यादवसँगको मिलनका विषयलाई निकै चर्चा गरियो । विगतमा डा. बाबुराम भट्टराई, अशोक राईजस्ता समावेशी मुद्दाका निर्दोष पक्षधरसँग पनि निरन्तरता दिन नसकेका उपेन्द्र यादवसँग माधवकुमार नेपालको समाजवादी पार्टीको कार्यदिशा, कार्यनीति, कार्यभार र कार्यक्रम मिल्ला र भनेर प्रश्नहरू उब्जिए । माधवकुमार नेपालको गृहजिल्ला रौतहटमै उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले गरेको नृशंस हत्या प्रकरणमा भित्री मधेश भनेर चिनिने मकवानपुरकै मन अझै पनि दुखिरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा काम गर्न गएका मजदुर पनि मारिएको त्यो घटनालाई माफी दिइए पनि पुनः एकीकरणका लागि उपेन्द्र यादवले एक शब्द बोल्नुभएको छैन ।
अर्कातिर राजनीतिमा खास देखिने गरी लोभ नगर्ने सादगी चरित्रका बाबुराम भट्टराईसँग त उपेन्द्र यादवले सहकार्य गर्न सक्नुभएन भने माधवकुमार नेपाल त अहिले पनि अग्रज, अगुवा र अझै देश र पार्टीको प्रमुख व्यक्ति हुने सपनाले सक्रिय हुनुहुन्छ । यस पटक पनि १० सांसद छन्, स्थानीय तहमा समाजवादीको ठिकै हैसियत छ । एमालेले २०५४ को ‘वामदेव गौतम र नेकपा माले’ बनाउने शपथ खाए पनि त्यो धूलिसात इतिहासलाई बिर्सने र उस्तै परे राष्ट्रपति, प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्षसम्म हुने हैसियत करार राख्नु भएका नेपाल र उस्तै हुटहुटीमा दौडिरहनु भएका उपेन्द्र यादवसँगको सहकार्य नेपाली कम्युनिस्ट आन्दोलनलाई थप ऊर्जा हुन सक्ला ? नेपाल र यादव दुवै पार्टीका नेता कार्यकर्ताले मिहीनसँग संवाद र छलफल नगरी नहुने विषय हो ।
कार्यकर्ताहरू भन्छन्, एमालेको अपमान सहन नकेर भएको विद्रोहमा माओवादीले पनि उस्तै व्यवहार गरे । भर्खर बनेको पार्टी, को छन् र त्यहाँ भनेर स्थानीय तह निर्वाचनमा वडादेखि नै समाजवादीलाई साथ दिएनन्, आफूहरू जित्न कांग्रेसका बुइँ चढे, एमालेलाई जिताए तर समाजवादीसँग मितेरी साइनोका नाममा अविजित नहोस् भनेर खेदो खने, खोचे थापे । यो विषय माओवादी र समाजवादीको शीर्ष नेतृत्वसँग पनि पटक पटक नपुगेको होइन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि यसको छनक देखियो । हुँदाहुँदा एमालेले प्रधानमन्त्री दिने भनेपछि गएको पुस १० गते त हो, पुष्पकमल दाहाल, शेरबहादुर देउवासँगको असहमतिमा सधैँ दायाँबायाँ रहने माधवकुमार नेपालसँग पनि सल्लाह नगरी बालकोट जानुभयो । लगत्तै माधवकुमार नेपालसँग भेटेर यो सम्बन्ध त उहाँले सुधार्नुभयो ।
हजार अपमान सहेर ‘एक्ला चलो रे’ अभियान चलाइरहनु भएका माधवकुमार नेपालले विश्वासको मत दिएर अनि कुनै प्रतिक्रिया नदिएर यो विषयलाई मिडियामा फासफुस त पारियो । तर माओवादी नेतृत्वमा देखिएको एमालेनिकटताका कारण तत्काल समाजवादी र माओवादी एकताको आधार तय भएको देखिन्न । प्रधानमन्त्री पार्टीभित्र एमाले निकटको पनि घेरामा हुनुहुन्छ, उहाँको सरकार एमालेकै तारबारले सुरक्षित छ । यस्तो अवस्थामा समाजवादीले कहिले उपेन्द्र यादव त कहिले पुष्पकमल दाहालका पार्टीसँग एकताको हल्ला फिजाउनु भएका कार्यकर्तालाई पनि पलायन गराउनु हो । नेताहरू जुट्छन्, चियाको खपत हुन्छ, सुरक्षाकर्मीको घेरा देखेपछि मिडियाले पच्छ्याउने नै भयो ।
तर आजै एकता, भोलि सहमतिलगायतका विषय भने बिल्कुल बेमौसमी छ । यसले कम्युनिस्ट पार्टीप्रति विकर्षण, नेतृत्वप्रति अविश्वास र अनिर्णयको बन्दीजस्ता पगरी गुथाउँदै स्वयं घनश्याम भुसालले भन्नुभएको आकर्षक, अन्तिम गन्तव्यको पार्टी भनेर ऊर्जा दिएको ‘समाजवादी’ पङ्क्ति पनि कुहिरोको काग पो हो कि भनेर भीडले आफ्नो मत कुनै पनि अमूक शक्तिलाई प्रदान गरे नीति तथा कार्यक्रम मात्र राम्रो भएर हुन्न भन्ने पुष्टि हुन जान्छ । अहिले पार्टी विस्तार, बलियो प्रतिपक्षी अझ कम्युनिस्ट शक्ति बनेर नै अघि बढ्न उचित हुने नेता कार्यकर्ताको सुझाव पनि मान्नु पर्छ । यतिखेर सबै सत्तामा झुम्मिएका बेला नेकपा (एकीकृत समाजवादी) ले कम्युनिस्ट शक्तिको बलियो प्रतिपक्षी कुर्सी रोज्दा अहिले भोगेको भन्दा थप क्षति बेहोर्नु पर्दैन, क्षति पुर्दै जाने वातावरण बनाउन चाहिँ नेतृत्व सक्रिय हुनुपर्छ ।