नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महत्वपूर्ण पर्व हो। मूलतः विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन पनि हो । खासगरीकन यस दिनबाट शिक्षारम्भका लागि यो दिन उत्तम मानिन्छ । आफ्ना बालबालिकाले सधैँभरि राम्रो पढ्न सकून् भन्ने कामना गर्दै अधिकांश अभिभावकले पनि यसै दिन आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्छन्, अक्षर लेखाउँछन् र चिनाउँछन् । यसमा विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी । मूलतः हिन्दु धर्म र संस्कृतिअनुसार हामी बर्सेनि अनेकौँ देवीदेवताको पूजाआजा बन्दना गर्दै उत्सव पर्वहरू मनाउने गर्छौं । ती अनेकौँ पर्व उत्सवमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रूपमा मनाउँदै हामी वाणीको देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गर्दछौँ । परम्परागत रूपमा हामीले मनाउँदै आएको यो पर्व हाम्रो देश नेपालभरि विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा रहिआएको छ । यसै दिनदेखि वसन्त ऋतुको आगमन पनि हुने भएकोले मुख्य रूपले दुई अलग–अलग उत्सवको रूपमा मनाइने गरिन्छ, एक वसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विधाकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीको रूपमा वसन्तपञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोट विरुवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ ।
वसन्तपञ्चमीकै दिन विधाकी देवी सरस्वतीको पूजा आराधाना गर्ने परम्परा रहेको छ । प्राचीन ग्रन्थ महाभारत आदिले पनि सरस्वतीको पूजा गर्ने कुराको उल्लेख गरेका छन् । सरस्वती ब्रह्माकी छोरी हुन् तर स्वयं ब्रह्माले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि ग्रन्थहरूमा उल्लेख छ । सरस्वतीको रूप र प्रकृतिको बारेमा ग्रन्थमा वर्णन गरिएअनुसार, सेतो कमलासनमा विराजमान भएकी, सेता वस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा वीणा धारण गरेकी र हाँसमा चढेकी सरस्वतीको प्रतीतस्वरूप पुस्तक, कमल, वीणा, आदिको पूजा गर्नाले ज्ञान र कलामा पारङ्गत हुन सकिन्छ भन्ने जनविश्वास छ । अतः यस दिन सरस्वतीका प्रसिद्ध पीठमध्ये काठमाडौँ उपत्यकामा जयबागेश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको चाँगु र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरमा विशेष भीड लाग्ने गर्छ।
हाम्रो नेपाली परम्परामा बालबालिकालाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरुवात गरिन्छ । अक्षरारम्भ गर्दा पहिले सिद्धिबुद्धिदाता गणेशजीको पूजा गराइन्छ, त्यसपति श्रीसरस्वती देवी र वेदव्यास जो हिन्दु वाङ्मय जगत्को गुरुको रूपमा लिइन्छ, यी सबैलाई यथोचित पूजा गरेर पढाउन सुरु गरिन्छ । यसरी सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्तपञ्चमी पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रूपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महìव छ । फलतः गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानको लागि श्रद्धालु नर–नारी विभिन्न नदी एवं तीर्थस्थलमा ठूलो भीड लाग्ने गर्छ । यसबाहेक काठमाडौँ हनुमानढोकास्थित गद्दी बैठकमा वसन्त श्रवण गर्ने परम्परासमेत रहिआएको छ । यस दिनमा कैयौँ विद्यार्थी मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्छन् । यस अथाह विश्वमा ज्ञानको अभावमा मुक्ति असम्भव भएको पाइन्छ ।
गीतामा भगवान् श्रीकृष्णले “नहि ज्ञानेत सदृश पवित्रमिह विधते” भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिनु भएको छ । यसैले ज्ञान र विधाको देवीको आराधना ज्ञानका उपासक विद्यार्थीले सरस्वती पूजाको अवसरमा पुस्तकको पूजासमेत गर्छन् । मूलतः वसन्तको पञ्चमीपछि गर्मी लाग्ने हुँदा यस दिनदेखि वातावरण परिवर्तन भयो भनेर बुझ्ने गरिएको छ । वर्षभरिमा पञ्चमी धेरै आउँछ । तर, चार पञ्चमी महìवपूर्ण रहेको छ । यसरी नागपञ्चमी, ऋषिपञ्चमी, विवाहपञ्चमी, वसन्तपञ्चमी वा श्रीपञ्चमी महिनामा दुई पटक पञ्चमी आउँछन् । जसमध्ये श्रीपञ्चमी नै महìवपूर्ण छ । संसारमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले यस दिनको महìव धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्तपञ्चमीमा भने श्री जोडिनु सरस्वतीलाई सम्मान गरेर पद दिइएको हो । श्री शब्दले ऐश्वर्य, मान, सम्मान, मङ्गल, आदि भाव बुझाउँछ । गायत्रीको उपासना नै देवीको उपासना हो भन्ने कुरा पनि छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी, जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ । यसको साथै स्वर, सङ्गीत, ताल, लयदेखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला आदिमा प्रेरित गर्ने महत्वपूर्ण शक्तिका रूपमा सरस्वतीको उपासना गरिने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्तपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । तसर्थ चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । यी सम्पूर्ण कुराका आधारमा प्रज्ञा, मेधा, ध्यान, धारण, ज्ञान, विज्ञान, कला, संस्कृति, साहित्य, सङ्गीत, सृष्टि, सिर्जनाकी आधारभूत श्रीसरस्वती माताको उत्सव मनाइने पर्व श्रीपञ्चमी, वसन्तपञ्चमीको महोत्सव जीवन र राष्ट्रिय जीवनको समग्र समुत्थानका लागि प्रार्थना गरौँ । सरस्वती माताले हामी सम्पूर्ण नेपालीमा सत्य र श्रेय मार्गको अवलम्बन गर्दै अगाडि बढ्ने साहसको साथै तन, मन, धन, बल, बुद्धि र विवेकयुक्त नागरिक बन्ने प्रेरणा दिऊन् भन्ने प्रार्थना गर्दछौँ ।