• १६ वैशाख २०८२, मङ्गलबार

अल्टिमेटम नाघ्यो पुरिएन सडकका खाल्टाखुल्टी

blog

काठमाडौँ, माघ १२ गते । उपप्रधामन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको अल्टिमेटम नाघ्दा पनि काठमाडौँका सडकका खाल्टाखुल्टी अझै पुरिएको छैन। 

सम्बन्धित निकायका कर्मचारीलाई मन्त्रालयमै बोलाएर १५ दिनभित्र काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठले अल्टिमेटम दिनुभएको थियो। अल्टिमेटमको अवधि माघ ३ गते सकिएको छ। उहाँले गत पुस १९ गते अल्टिमेटम दिनुभएको थियो। 

काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले मन्त्रालयको निर्देशनपछि अहिलेसम्म तीन हजार २० वर्गमिटर खल्टाखुल्टीको मर्मत गरिसकिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सडक विभागअन्तर्गत पर्ने सडकका ७० प्रतिशत खाल्टाखुल्टी मर्मत भइसकेको छ। बाँकीमा काम जारी छ।”

उहाँका अनुसार मेलम्ची खानेपानीको चुहावट र विद्युत्को तार भूमिगत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले सडक खन्दा खाल्टाखुल्टी मर्मत हुनसकेको छैन। मेलम्चीले पुरानो पाइपलाइनबाट पानी पठाउँदा चुहावट रोकिएको छैन। पानी चुहावट भइरहेको ठाउँमा मर्मत गर्न कठिन देखिएको छ। विद्युत्को तार भूमिगत गर्ने कार्य र खानेपानीको चुहावटका कारण करिब २० प्रतिशत खाल्टाखुल्टी मर्मत गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार अहिले नयाँबानेश्वर–पुरानोबानेश्वर–गौशाला–मित्रपार्क सडकखण्ड, डिल्लीबजार–बालुवाटार–विशालनगर सडकखण्ड, सामाखुसी–महाराजगञ्ज–चप्पलकारखाना (चक्रपथ) सडकखण्ड, बालाजु चोक–प्रहरी चौकी सडकखण्डमा रहेका खाल्टाखुल्टी मर्मत कार्य भइरहेको छ।

त्यसैगरी कोटेश्वर, नागपोखरी–नक्साल सडकखण्ड, नारायणगोपाल चोक–बाँसबारी–मण्डिखाटार सडकखण्ड, नयाँबानेश्वर–थापागाउँ–हनुमानस्थान सडकखण्ड, त्रिपुरेश्वर, दरबारमार्ग–लाजिम्पाट सडकखण्ड, 

सानोगौचरण–कालोपुल–लामपोखरी–गणेशस्थान सडकखण्ड, लैनचौर–सोह्रखुट्टेलगायतका सडकखण्डमा खाल्टाखुल्टी मर्मत गर्ने कार्य भइरहेको छ।

उहाँले क्रसर उद्योग बन्द भएकाले निर्माण सामग्री अभावका कारण खाल्डो मर्मतका लागि चाहिने मसिनो ढुङ्गा उपलब्ध हुन नसक्दा कालोपत्रेबाट गरिने मर्मत कार्य बन्द भई माघ ३ गतेदेखि फरकखाले मसिनो ढुङ्गाबाट मर्मत कार्य भइरहेको बताउनुभयो।