नेपालका लागि भ्रष्टाचार दीर्घकालीन रोग नै भएको प्रमाणित गराइँदै छ। सार्वजनिक जीवनमा स्वीकृत मूल्यविरुद्धको आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार भनिन्छ। जनजीवनमा यसलाई आर्थिक अपराधसित जोडेर हेर्ने गरिन्छ। यो समग्र आर्थिक विकासको बाधक नै भ्रष्टाचार हो। आर्थिक विकास सम्बन्धित क्षेत्रका विभिन्न पक्षमा हुने गुणात्मक परिवर्तन हो। आर्थिक विकासलाई सामाजिक, राजनीतिक, आर्थिक, प्राविधिक, पर्यावरणीय आदि विविध पक्षमा हुने विभिन्न पूर्वाधार निर्माण एवं यिनीहरूमा निरन्तर सुधारको प्रयासको समग्र रूप भनी परिभाषित गर्न सकिन्छ। भ्रष्टाचारलाई समाजको आर्थिक विकासको शत्रु नै मानिन्छ।
आर्थिक विकास निरन्तर चलिरहने एउटा प्रक्रिया हो। आर्थिक विकास प्रक्रिया सञ्चालन गर्दा सुरुमै कानुन, नियमावली, कार्ययोजना निर्माण गर्नु अति आवश्यक हुन्छ। मुलुकमा भ्रष्टाचार व्याप्त छ भने एकातिर कानुन, नियमावली, कार्ययोजना निर्माण गर्दा नीतिगत भ्रष्टाचार भएको हुनसक्छ। जसले गर्दा यथार्थमा आधारित कानुन, नियमावली, कार्ययोजना बन्नुपर्नेमा कसैको निहित स्वार्थमा आधारित बनिदिन्छ भने अर्कोतिर काम गर्ने सम्बन्धित निकायले आर्थिक अपचलन एवं सामाजिक तथा नैतिक मूल्यमान्यताविरुद्ध हुने कार्य गरेका पनि हुन सक्छन्। फलस्वरूप त्यस देशमा आर्थिक विकासको कार्य प्रभावकारी एवं पारदर्शी तवरले सम्पादन हुन सक्दैनन्। त्यस्ता मुलुकमा आर्थिक भ्रष्टाचार, नैतिक, सामाजिक र नीतिगत भ्रष्टाचार व्यापक रूपमा गाँजिएको हुन्छ। त्यस्ता मुलुक आर्थिक विकासका हिसाबले पिछडिएको देशको सूचीमा सूचीकृत हुन पुग्छन्।
नेपाल एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको ‘घुस लिने र घुस दिने दुवै समाज र मुलुकका प्रमुख शत्रु हुन्’ भन्ने भनाइ नेपाली समाजमा स्थापित छ। सङ्घीय शासकदेखि प्रदेश र स्थानीय जनप्रतिनिधिसम्म भ्रष्टाचारको भाइरल रोगले सबैलाई ग्रसित बनाएको छ।
बितेका ३३ वर्षमा भ्रष्टाचार र अनियमितताका धेरै काण्ड सार्वजनिक भए। के त्यसलाई भ्रष्टाचार नभन्ने ? राजनीतिक नेतृत्वको व्यवहार र कार्यशैली मान्छेलाई झुक्याउन र प्रभावमा पार्न यो गर्छु, त्यो गर्छु भनेर वा यो गरेँ, त्यो गरँे भनेर मनलाग्दी फलाक्ने मात्र भयो। बोलीमा गहकिलो भन्दा पनि कपासझैँ हलुका बोल्ने कार्यक्षमता भएको देखिन्छ। नेपाली समाजभित्र यस्तो मनोविज्ञान जबर्जस्त विकसित भएर गएको छ। हाम्रो समाजभित्र कुनै पनि व्यक्तिको मान–मर्यादा, सम्मान र सामाजिक सम्बन्ध उसको शक्ति, सम्पत्ति र सम्पन्नताका आधारमा मापन र निर्धारण गर्ने गरिन्छ।
यी सबैखाले पहुँच, सम्पन्नता र शक्तिपछाडिको स्रोत के हो ? कहाँबाट यसको सञ्चय भएको छ ? कसैले पनि चासो र निगरानी गरेको पाइँदैन। त्यस्ता व्यक्तिको उच्च जीवनशैली र रहन–सहनमा कसरी यति थोरै समयमा आमूल परिवर्तन भयो ? यसको खोजी गर्नु जरुरी छ। उसको जीवन पद्धतिको प्रशंसा गर्नेजस्तै उसले पहिरिएको वस्त्र, महँगा गाडी, जोडेका जग्गा–जमिन, महल र असीमित लगानी उसको राजनीतिक नेतृत्वसँगको अस्वाभाविक सम्बन्ध एवं ठूला–ठूला व्यावसायिक उद्योगपतिसँगको उठबस र सर–सङ्गतको चर्चा–परिचर्चा र प्रशंसा गर्ने गरिन्छ। उसका जीवनशैलीको रवाफलाई आदर्श मान्ने, देखासिकी गर्ने उसप्रति आदर र सम्मान भाव प्रकट गर्ने, उसलाई उदीयमान आदर्श र मालिकका रूपमा सम्मान गरी समाजमा उसको कर्मलाई स्थापित गर्न लागिपर्ने मान्यताउपर विकसित संस्कार र संस्कृति मौलाएर जान थालेको छ।
नेपाली समाजभित्र एउटा यस्तो विषय सामाजिक संस्कारका रूपमा जरो गाडेर बसेको छ, अनावश्यक अरूका विषयमा चासो व्यक्त गर्ने। हाम्रो समाज नचाहिँदो रवाफमा अल्झने, आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार नहुने, अरूको कुरा काट्दै चिया पसलदेखि गाउँको चौतारामा समय कटाउने सोझा, इमानदार र सामान्य पहुँच भएका एवं आर्थिक, राजनीतिक र सामाजिक आधार कमजोर भएका मानिसलाई हुतिहाराको उपाधि दिएर बेकम्मा, काम नलाग्ने यतिसम्मको ‘नामर्द’समेत भन्न पछि पर्दैनन्। फलस्वरूप आफ्नो स्वाभिमान, आत्मसम्मान र प्रतिष्ठालाई जीवन्त राख्न जसरी भए पनि लुटेर, ठगेर र भ्रष्टाचार गरेरै रातारात अप्रत्यासित अकुत सम्पत्ति आर्जन गर्नुपर्ने। जसका कारण समाजभित्र रवाफ, रहन–सहन र हालिमुहाली नभएकाको मान–मर्यादा नै जोखिममा पर्ने भएको छ। यस्तो समाजभित्रको मनोवृत्तिले बिस्तारै–बिस्तारै मानिसमा गनिन र सुनिनकै लागि भए पनि जेजस्तो समाजविरोधी कार्य गर्न तयार हुनुपर्ने सामाजिक दबाब नेपाली समाजमा जबर्जस्त स्थापित छ। यस्तो सामाजिक मनोविज्ञानका कारण नेपाली समाज उत्पादनमुखीभन्दा पनि चरम उपभोक्तावादी संस्कारतर्फ उन्मुख हुँदै गएको छ।
देशभित्र दुःख गरेर खाने किसान, मजदुर र श्रमजीवी वर्गप्रति यो समाज र राष्ट्र उदासीन छ। आमश्रमजीवीको श्रम र पसिनाप्रति आदरभाव र प्रोत्साहित गर्ने व्यवस्था कहिल्यै सिर्जना हुन सकेन। त्यस्तो संस्कार र मनोवृत्तिबाट उत्पादित हाम्रो राजनीतिक नेतृत्व कस्तो निर्माण होला ? भ्रष्टाचार, अनियमितता र त्यसबाट सिर्जित राज्यसत्तामा भएको बेथिति कुनै एउटा पक्ष मात्र जिम्मेवार अवश्य छैन। त्यसका लागि सिङ्गो समाज, सामाजिक चेतना, समग्र राजनीति, प्रशासनिक संयन्त्र, कर्मचारी, सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, आमसचेत नागरिक समुदाय, शिक्षित युवा वर्ग आ–आफ्नो ठाउँमा तहअनुसार दोषी छन्। यसको मुख्य दोषी भने राजनीति र राजनीतिक पात्र भएकाले यसको सुधार गर्ने जिम्मेवारी पनि राजनीतिक तहबाटै हुनुपर्छ। त्यस्तो सम्भावना अहिलेको अवस्थामा सम्भव देखिँदैन। मूलतः राजनीतिले देश, समाज र जनतालाई के दिन सकिन्छ भन्ने भन्दा पनि राजनीतिमार्फत देश, समाज र जनताबाट के प्राप्त गर्न सकिन्छ भन्ने नकारात्मक दृष्टिले राजनीति र नेतृत्व ग्रसित भएको छ। विद्युत्, सडक, विभिन्न सरकारी भवन निर्माणमा ढिलासुस्ती र स्तरहीनता त्यसै भएको छैन।
कसको स्वार्थका कारण बिजुलीबाट सञ्चालित दैनिक हजारौँ क्विन्टल राजधानी भित्र्याउने रोपवे बन्द भयो ? विस्तार गर्दै लैजानुपर्ने ट्रलिबस बन्द किन गरियो। नेपाली जडीबुटी बिनाप्रशोधन किन सस्तो मूल्यमा निकासा गरिन्छ ? स्वास्थ्य सामग्री तथा विभिन्न उपकरणलगायत विभिन्न मन्त्रालय सम्बद्ध सार्वजनिक खरिदमा वर्षाैंदेखि कसरी सीमित बिचौलियाकै हालिमुहाली छ ? कसरी स्तरहीन औषधि एवं उपकरण बिक्री गरी जनस्वास्थ्यमा खेलबाड गरिँदै छ ? स्थापना र सञ्चालनमा ल्याउनै नसकिने राज्यकोषबाट खरिद गरिएको करोडौँ पर्ने उपकरण बिनाप्रयोग कमिसनको लालचमा किन कवाडीमा बेचिन्छ ?
२०३५ सालमा स्थापना भएको नेपाल ओरिन्ड म्याग्नेसाइट प्रा.लि. चार अर्ब ५८ करोड रुपियाँ घाटा लगाएर कसले बन्द ग¥यो ? बुटवल धागो कारखाना एक अर्ब ६८ करोड रुपियाँ घाटामा कसले बन्द गरायो ? गोरखकाली रबर उद्योग १४ अर्ब ४७ करोड रुपियाँ घाटामा कसले बन्द गरायो ?
जनकपुर चुरोट कारखाना दुई अर्ब ९० करोड रुपियाँ घाटामा कसले कमिसनको लोभमा बन्द गरायो ? विराटनगर जुटमिल उद्योग के कारण बन्द भयो ? नेपाल औषधि लिमिटेड के कारण बन्द गर्नुप¥यो ? हिमाल सिमेन्ट कसको निर्देशनमा बन्द गरियो ? भृकुटी कागज उद्योग बन्द गर्नुपर्ने कारण के थियो ? बाँसबारी छालाजुत्ता कारखाना बन्द हुनुको कारण के हो ? लगायत विभिन्न सरकारी तथा गैरसरकारी उद्योग बन्द हुनुका पछाडि कसको स्वार्थ गाँसिएको छ ? यसको उचित जवाफ कोबाट कहिले आउला ? समाजवाद भनेको राज्यको मुख्य नेतृत्वमा उद्योगको सञ्चालन हो, भएका उद्योग कमिसनको लोभमा बेच्नु दलाल पुँजीवाद हो।
नयाँ संसद् र सरकारलाई हिजो देखिएका बेथितिमाथि प्रहार गर्ने साहस पैदा होला ? नयाँ संसद्ले सही दिशा पक्रेर अघि बढ्ने हिम्मत गर्ला ? नीतिगत बहस र नीति निर्माण गर्ने कार्यमा आफूलाई डो¥याउन सक्ला ? यी आमप्रश्नलाई पहिलो प्राथमिकता दिन आवश्यक छ। हामीले निर्माण गर्न खोजेको संसद् कस्तो हो ? यसका लागि संसद्लाई कस्तो सांसद चाहिन्छ ? यस्ता विषयमा कुनै पनि राजनीतिक दलमा बहस हुने गर्दैन। नेपाली राजनीतिमा नीतिगत र संरचनागत परिवर्तन नभएकै कारण संसद्भित्र र बाहिर परिवर्तनको अनुभूति हुनै सकेको छैन।