राष्ट्रिय सभा सदस्य विमला राई पौडेल परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको इतिहासमा महिला परराष्ट्र मन्त्री भएको बिरलै देख्न पाइन्छ । यसअघि सहाना प्रधान र सुजाता कोइराला परराष्ट्रमन्त्री बन्नुभएको थियो । नयाँ परराष्ट्र मन्त्रीका चुनौती भने धेरै छन् । बढ्दो भूराजनीतिक परिस्थिति, रुस–युक्रेनको तनाव, मूल्यवृद्धि, भारत–चीनबीचको सीमा विवाद, कमजोर परराष्ट्र सम्बन्ध, साँघुरिएको वैदेशिक लगानी, सार्क राष्ट्रबीचको सम्बन्धलगायतका समस्या हाम्रासामु छन् ।
परराष्ट्रमन्त्रीले छोटो समयमा धेरै काम गर्नुपर्ने छ । कर्मचारीलाई साथमा लिई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा सुधार गर्नुपर्नेछ । कूटनीतिको सही परिचालनले मात्र देशले आफ्नो प्रतिष्ठा र आवाज बुलन्द पार्ने छ । सीमित स्रोत र जनशक्ति हुँदाहुँदै पनि परराष्ट्र सम्बन्ध कसरी अवलम्बन गर्ने कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना ल्याउनुपर्ने मन्त्रीको जिम्मेवारी छ ।
परराष्ट्र मन्त्रालय समाल्ने दिन नै उहाँले नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार काम गर्ने, साझा नीति बनाएर अघि बढ्ने, परराष्ट्रविद्सँग छलफल गर्ने, जनतालाई छिटोछरितो सेवा दिने, राहदानीमा देखिएका समस्या समाधान गर्ने, कूटनीतिक नियोगसँग समन्वय गरी अघि बढ्नुपर्नेछ । राष्ट्रिय स्वार्थलाई बेवास्ता नगरी फाइदा लिने, आफूले पनि नेपालस्थित अन्तर्राष्ट्रिय नियोगसँग मिलेर काम गरेको अनुभव सुनाउँदै नेपालीलाई विदेशस्थित नेपालको दूतावास प्रवेश गर्दा घरजस्तो सुरक्षित महसुस गराउनेजस्ता प्राथमिकता मन्त्री राईले निर्धारण गर्नुभएको छ । सीमा विवादको सम्बन्धमा पनि सबैसँग छलफल गर्ने उहाँको कार्यसूची छ ।
अन्तर्राष्ट्रिय फोरम, संयुक्त राष्ट्रसङ्घमा बलियो उपस्थिति, नेपालजस्तो जलवायु सङ्कटबाट प्रताडित मुलुकको नेतृत्व नेपालले गर्ने गरी पहल गर्नुपर्ने, आर्थिक कूटनीति चलायमान गराउन परराष्ट्रको जनशक्ति बढाउनेजस्ता विषयमा तत्काल चासो व्यक्त गर्न आवश्यक छ ।
संसद्को एक समितिमा बोल्दै परराष्ट्र सचिव भरतराज पौडेलले जनशक्ति अभावले नेपाली दूतावासले आवश्यक काम गर्न नसकेको बताउनुभएको थियो । हाम्रो विदेशस्थित दूतावास निकै साना भएका तीन–चार जनाको मात्र मिसन भएको र संस्थागत क्षमता बढाउनुपर्ने उहाँको तर्क छ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढी भएसँगै कुनै देशमा लाखौँमध्ये केही हजारमा मात्र समस्या देखियो भने सबैमा प्रभाव पर्ने विषय पनि कम चुनौतीपूर्ण छैन । नेपाली श्रमिककै समस्या समाधान गर्दा आर्थिक कूटनीतिलगायत विभिन्न विषयमा सक्रिय सहभागिता जनाउन नसकिएको अवस्था छ । लगानीको वातावरण बनाउन देशभित्रै धेरै विषयमा सुधार गर्न आवश्यक छ ।
मित्रराष्ट्र पाकिस्तानले हाल आफू जलवायु सङ्कटबाट पीडित भएको र जलवायु परिवर्तनले गर्दा नै भीषण बाढी आई खर्बौंको क्षति भएको भन्दै अर्बौं डलर अनुदान पाएको छ । नेपाल पनि जलवायु परिवर्तनले गर्दा प्रताडित मुलुक हो । विश्वका सर्वोच्च शिखरमध्ये अधिकांश नेपालमै छन् । नेपालले अब देखिने र सुनिने कूटनीति अवलम्बन गर्न भारत, पाकिस्तान, भुटान र चीनलगायत विभिन्न मुलुकलाई साथ लिँदै जलवायु कूटनीति अवलम्बन गर्दै देशका लागि अर्बौं डलरको सहयोग विकसित राष्ट्रबाट आउन सक्छ ।
आर्थिक कूटनीति अवलम्बन गर्न अर्थतन्त्र बुझेको र कूटनीतिक जानकार व्यक्तिलाई राजदूतको जिम्मेवारी दिनुपर्छ । करियर डिम्लोम्याटले पनि जीवन नै जागिरमा बिताएको र अनुभवी भएको हुँदा करियर डिम्लोम्याटलाई नै विकसित राष्ट्रमा राजदूत बनाउँदा
परराष्ट्र सेवामा आकर्षण बढाउन सकिन्छ । आर्थिक कूटनीति अवलम्बन गरेर मात्र अब देशको विकास गर्न सकिन्छ भन्नेमा सबै गम्भीर हुनुपर्छ ।
आजको विश्वमा जसले वैदेशिक सम्बन्धमा लगानी गर्छ, उसको मात्र उन्नति प्रगति भएको पाइएको छ । राजतन्त्र हुँदा राजा भएका देशसँगको सम्बन्धले ठूलो अर्थ राख्ने गथ्र्यो । नेपालको खाडी मुलुक, बेलायत, जापान, बेल्जियम र स्पेनलगायतका मुलुकसँग राम्रो सम्बन्ध थियो । राजदूत नियुक्ति गर्दा दाग नलागेको सही व्यक्तिको छनोट र निर्धारित समयमै रिक्त भएको ठाउँमा राजदूत नियुक्त नगर्दा विभिन्न मुलुक हामीसँग चिढिएका छन् । त्यसैगरी जनशक्तिको सीमितता र हाम्रो विदेशस्थित दूतावासमा कम जनशक्ति हुँदा निकै असहज हुने र देशका लागि चाहेर पनि समय दिन नसक्ने अवस्था छ ।
पर्यटनमा सम्भावना हुँदाहुँदै पनि हामी पछि परेका छौँ । हाम्रो मित्रराष्ट्र चीनले बर्सेनि करोडौँ पर्यटक बाहिरी देशमा पठाएर चिनियाँ सफ्ट पावर कूटनीति अवलम्बन गरेको छ । चीनलाई मात्र विश्वासमा लिएर उसको पर्यटकलाई नेपाल सुरक्षित छ भनी नेपाल घुम्न प्रेरणा दिनसक्ने कूटनीतिको विकास गर्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रिय मुद्रा पर्यटन क्षेत्रबाटै बढी ल्याउन सकिन्छ । हालै भएको डरलाग्दो विमान दुर्घटनाले गर्दा अन्तर्राष्ट्रिय मिडियामा नेपाल असुरक्षित छ भन्ने सन्देश गएको छ । नकारात्मक सन्देशलाई सकारात्मक बनाउन विदेशी पर्यटकलाई आकर्षित गर्ने अभियान चलाउनुपर्छ ।
सत्तारुढ गठबन्धनको साझा घोषणापत्रमा सगरमाथा संवादको कुरा पनि उल्लेख छ । सगरमाथा संवाद कोभिडको कारण निर्धारित समयमै हुन पाएन । सगरमाथा संवादजस्ता जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न फोरममा नेपाल सरकारले आफ्नो देशमा गर्न सके कार्यक्रम सार्वजनिक गर्न सके नेपालको छवि बढाउन सहयोग पुग्नेछ ।
दुई निकट छिमेकी मुलुकसँग कूटनीतिक सन्तुलन कायम राख्न सक्नुपर्छ । भारतले छिमेक पहिलो नीति भनी काम गरेको अवस्था छ । भारतले शक्तिराष्ट्र हुन उसको वरिपरिको राष्ट्रबाट सुरक्षा संवेदनशीलतालाई ध्यान दिई विकासशील राष्ट्रलाई बढी अनुदान दिएर सघाउने गरेको छ । भारतसँग सीमा विवाद, ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नबुझेको विषय, गोर्खा भर्ती विवाद, सीमामा नेपालीले दुःख पाउनुलगायतका थुप्रै समस्या छन् । यी समस्याको समाधान वार्तामार्फत गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा यी विषयलाई गम्भीरतापूर्वक राख्नुपर्छ ।
कूटनीतिमा कोही स्थायी मित्र हुँदैनन् । हामी विश्वकै दुई ठूला अर्थतन्त्र र विश्वकै दुई ठूला देशको बीचमा रहेकाले हाम्रो कूटनीति यी देशले अपनाएको कूटनीतिभन्दा धेरै फरक हुनुहुँदैन । शीतयुद्धमा कम बजेटमै पनि नेतृत्व बलियो हुँदा आकर्षक कूटनीति अवलम्बन गर्दै विकास गरेका थियौँ । अब हाम्रो कूटनीति कस्तो हुने भनेर गम्भीर समीक्षा गर्दै राष्ट्र हितअनुसार काम गर्नुपर्छ । अबको युग एसियाको युग भनी विभिन्न अड्कलबाजी गरिएको छ । यसको सदुपयोग कसरी गर्ने भन्ने कुरा हामीले अवलम्बन गर्ने कूटनीतिमा निर्भर हुनेछ ।