• १३ साउन २०८१, आइतबार

उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ वृद्धि

blog

काठमाडौं, माघ ४ गते । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपियाँ तोकेका छौँ । सरकारले ७० रुपियाँ ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ ।” उहाँका अनुसार  प्रस्तावित समर्थन मूल्य ५३५ थियो । बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत वर्षको तुलनामा २० रुपियाँ बढी हो । 

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो । ५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उहाँले बताउनुभयो ।