घिउ, चाकु, तरुलजस्ता पोसिलो खाद्यपदार्थ खाएर मनाइने माघ महिना भूकम्पसँग साइनो लगाएको महिनासमेत हो । वि.सं १९९० मा माघ २ गते मुलुकमा गएको विनाशकारी भूकम्पको सम्झनामा भूकम्प दिवस मनाइने गरिँदै आएको छ । भौगोलिक अवस्थितिका कारण नेपाल भूकम्प बढी जाने क्षेत्रमा पर्छ । पछिल्लो पटक गोरखा जिल्लाको बारपाक क्षेत्र केन्द्रबिन्दु भएर २०७२ वैशाख १२ गते गएको ७.९ रेक्टर स्केलको विनाशकारी ‘गोरखा’ भूकम्पको झझल्को अझै पनि नेपाली मानसपटलमा ताजै रहेको छ । गोरखा भूकम्पका परकम्पले नेपालीलाई पछिसम्म पनि झस्काइरहेको छ । अहिले पनि त्रास कम भएको छैन । ससाना भूकम्प पूर्ण रूपमा रोकिएको छैन, ससाना परकम्प गइनै रहेका छन् भने मुलुकको सुदूरपश्चिम भेगमा भूकम्पले दुःख दिइरहेको छ ।
गोरखा भूकम्पले नेपालको जनधनमा ठुलो क्षति पुर्यायो । अर्थतन्त्रलाई नोक्सान पुर्यायो । त्यसपश्चात् पनि नेपालका विभिन्न भागमा साना तथा मझौला खालका भूकम्पका झड्का महसुस गरिएकै छन् । यी सबै तथ्यबाट नेपाललाई भूकम्पको जोखिम भएको क्षेत्रका रूपमा औँल्याउन सकिन्छ भन्ने कुरा जन साधारणको भनाइ मात्र होइन, आधारसमेत छन् । वि.सं २०७२ को गोरखा भूकम्पपश्चात् नेपालमा फेरि पनि भूकम्प जाने प्रक्षेपणले यो आधार दिने गरेको छ । वैज्ञानिक अध्ययन तथा आधारमा भन्नुपर्दा गोरखा भूकम्पका क्रममा सिर्जित सम्पूर्ण शक्ति सतहबाहिर निष्कासित भएको छैन । त्यस्तो शक्ति जमिनमुनि बाँकी नै छ । खास गरी काठमाडौँ र आसपासको सतहमुनि त्यस्तो शक्ति बढी सञ्चित भएको अध्ययन निष्कर्ष बाहिर आउने गरेका छन् । त्यसै कारण काठमाडैाँ तथा आसपासमा फेरि ठुलो भूकम्पको जोखिममा रहेको आशङ्का बढिरहेको छ ।
काठमाडैाँ उपत्यकादेखि तराईको जमिनमुनि सञ्चित भूकम्पीय शक्ति निष्कासित हुन सकेको छैन । त्यसरी शक्ति बाहिर आउन नसकेकै फलस्वरूप यी क्षेत्र भूकम्पको जोखिममा परेको हो । यो शक्ति भूकम्प गएपछि मात्र उत्सर्जित हुने भूगर्भविद्हरूको भनाइ पनि यहाँ उल्लेखनीय छ । समय क्रमसँगै शक्ति सञ्चयमा वृद्धि भई ठुलो भूकम्पको जोखिम पनि त्यत्तिकै बढी हुने स्थिति अवस्था छ । भूकम्पबाट जोखिन भौतिक संरचनालाई त्यसैअनुरूप दिगो र प्रभावकारी बनाउनुपर्ने चुनौतीसमेत छ ।
त्यसो त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै भूकम्पीय जोखिम अधिक रहेको भूखण्ड हो नेपाल । नेपालको भूसतहमुनि भूकम्पीय शक्ति सञ्चय हुने क्रम बढ्दो छ । पूर्वी तथा पश्चिमी क्षेत्रमा ठुलो भूकम्प नगएको तथ्यमा आधारित रहेर औँल्याउनु पर्दा ठुलो भूकम्पको सम्भावनालाई नकार्न सकिँदैन । ठुला भूकम्पको सम्भावना मुलुकभरि नै देखिएको अवस्थामा भूकम्पीय सुरक्षालाई बढी महŒव दिनु जरुरी छ । भूकम्प आफैँले कुनै ठुलो क्षति गर्दैन । निर्माण गरिएका संरचनाले ठुलो क्षति गर्ने हो । मानव निर्मित संरचनाका कारण अत्यधिक मात्रामा धनजनको क्षति हुने नेपालको मात्र होइन, संसारभरिको अनुभव छ । यसको प्रत्यक्ष उदाहरणका रूपमा वि.सं २०७२ को भूकम्पमा भएको धनजनको विनाशलाई उदाहरणका रूपमा लिन सकिन्छ । झन्डै दस हजार मानिसले ज्यान गुमाउनुका अतिरिक्त बिसौँ हजार मानिस घाइते भए । हजारौँ आवासीय र अन्य भौतिक पूर्वाधारको क्षति भयो । गोरखा भूकम्पमा अधिकांश मानवीय क्षति मानव निर्मित संरचनाका कारण भएका थिए र त्यसबाट पर्याप्त पाठ सिक्नुपर्ने अवस्थासमेत छ ।
भूकम्पीय क्षतिबाट बच्नका निम्ति आमजनतामा व्यापक भूकम्पीय सुरक्षा सचेतना आवश्यक पर्नेमा दुई मत छैन । भूकम्प जाँदा अपनाउनु पर्ने सुरक्षा मापदण्ड तथा तौरतरिकाका सम्बन्धमा जनतालाई प्रशिक्षित गराइनु अति आवश्यक छ । यसका निम्ति सम्बद्ध निकायले पहलकदमी लिनु महत्वपूर्ण हुनेछ । यसका साथै मानव निर्मित संरचनाहरू आवासीय तथा अन्य भवनका अतिरिक्त सबै भौतिक पूर्वाधारको मजबुती तथा सुरक्षाका सम्बन्धमा निश्चित मापदण्ड अपनाउन नीतिगत रूपमा नै कडा व्यवस्था गर्न सकिए भूकम्पबाट हुने मानवीय तथा अन्य किसिमका क्षति न्यूनीकरणमा महत्वपूर्ण आधार हुन सक्ने थियो । विज्ञान पनि भूकम्पको भविष्यवाणी गर्न सक्षम छैन । यस्तो अवस्थामा भूकम्पबाट हुने क्षतिबाट बच्न भूकम्पीय सुरक्षा, सचेतना तथा उद्धारका पूर्वतयारी महत्वपूर्ण हुन्छन् । यी सबै प्रयासका निम्ति सरकार तथा समुदायको महत्वपूर्ण भूमिका रहनेमा दुई मत छैन । भूकम्प सुरक्षा दिवसले यी पक्षलाई ध्यान दिनु जरुरी छ ।