काठमाडौं, पुस २८ गते । स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराको महामारी फैलिरहेका वडाहरूमा सञ्चालित खोप अभियान सञ्चालन गर्न खोप वितरणमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सरकारले २२ देखि २७ गतेसम्म सात हजार १६३ जनालाई खोप लगाइसकेको छ । जिल्लामा सात हजार मात्रा दादुरा रुबेला खोप स्टकमा रहेका छन् । आज (बिहीबार) थप खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्राप्त हुन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
१६ दिनमा ११५ जनामा दादुरा पुष्टि
दादुरा १६ दिनमा दादुरा ११५ जनामा पुष्टि भइसकेको छ । खोप सुपरभाइजर श्रेष्ठका अनुसार उक्त वडामा पुस १२ गतेदेखि आजसम्म दादुराबाट ११५ जना बालबालिकाहरू सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये दुई जना अस्पतालमा र ५८ जना होम आइसोलेसनमा गरी ६२ जना बिरामी रहेका छन् । बिरामीमध्ये ५२ जना सङ्क्रमण मुक्त भएका छन् । श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये अधिकांशले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छैनन् ।
सरकारले दादुराको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुस २२ गतेबाट महामारी फैलिएका वडामा ६ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ ।
आज नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४ र १५ का सात वडामा १५ खोप केन्द्रबाट बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप अभियान सञ्चालनमा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
दादुरा के हो ?
सरुवारोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग पाँच वर्ष मुनिका बालबालिकाहरूलाई धेरै लाग्ने र यसले छिटो छिटो महामारीको रूप दिने डा. कोइराला बताउनुहुन्छ ।
उहाँका अनुसार दादुरा भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाम तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवम् भित्री अङ्गहरूमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएको व्यक्तिले खोक्दा हाछिँउ गर्दा निस्कने छिट्टा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
डा.कोइरालाका अनुसार ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षणहरूमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिने डा. कोइराला बताउनुहुन्छ ।
चिकित्सकका अनुसार रोगीको सम्पर्कमा आएको १० देखि १२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्दछ । दादुरा सङ्क्रमित व्यक्तिलाई डाबर र बिमिरा देखा पर्नुभन्दा ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
चिकित्सक अनुसार दादुरा रोग लागेपछि यसको उपचार छैन । तर, यस्तो रोग लागेका व्यक्तिहरूलाई छुट्टै राख्नुपर्छ ।
साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनु चिकित्सकको आग्रह छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोगबाट बचाउन सरकारले राष्ट्रिय खोप अभियानअन्तर्गत नौ देखि १५ महिनासम्मका बालबालिकालाई खोप अभियान सञ्चालन गर्दै आएको छ । बालबालिकालाई अनिवार्य रूपमा दादुरा खोप लगाउन चिकित्सकको सुझाव ।दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनहरूले देखाएको छ ।