वि.सं. २०७८ मङ्सिरपछि वस्तु आयातमा गरिएका कडाइले देशको अर्थतन्त्र सुधारोन्मुख देखिँदै आएको छ । गएका वर्षहरूमा विदेशी विनिमय सञ्चितिमा कमी आएसँगै विलासी वस्तु आयातमा कडा गरिएको थियो । आयातमा गरिएको कडाइसँगै विदेशी विनिमय सञ्चिति बढेको छ ।
चालू आर्थिक वर्षका पछिल्ला महिनामा वैदेशिक रोजगारीबाट प्राप्त अर्थात रेमिट्यान्स रकम पनि बढ्दै गएको छ । यसले गर्दा देशको शोधनान्तर स्थिति बचतमा देखिएको छ । व्यापार घाटामा कमी आएको छ । सोही कारण देशको अर्थतन्त्र सकारात्मक देखिएको भनिएको छ । रेमिट्यान्स आयमा शोधनान्तर बचत देखिए पनि मूल्य वृद्धि आमसर्वसाधारणले सहजै धान्न सकिने खालको छैन । केही सूचकाङ्कमा सुधारले अर्थतन्त्रको बाटो सुधारतर्फ गएको भन्न मिल्छ र ? यसमा सबैको उस्तै धारणा पाउन सकिन्न ।
आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा देशको व्यापार घाटा पाँच खर्ब ९७ अर्ब पुगी छ खर्बको हाराहारीमा पुगेको छ । २०७९/८० को पाँच महिनामा आयात २० दशमलव ७१ प्रतिशत र निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ । २०७९ मङ्सिरसम्म छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको मात्र नेपालले वस्तु आयात गरेको छ । ६७ अर्ब ३० करोडको वस्तु निर्यात गरेको छ ।
निर्यातभन्दा आयात बढी हुँदै आएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ । २०७९/८० मा भएका कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र छ । त्यसैगरी आयात हिस्सा ९१ प्रतिशत छ । सबभन्दा बढी व्यापार घाटा भारतसँगै रहँदै आएको छ । भारतसँग मात्र पाँच महिनामा तीन खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्रमा व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
अधिक व्यापार घाटा हुने दोस्रो देशमा चीन परे पनि चीनसँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख मात्र छ । व्यापार घाटामा भएको तेस्रो देशमा रहेको इन्डोनेसियासँग २० अर्ब ८३ करोड चार लाख ६२ हजार छ । चौथो स्थानमा रहेको युएई १५ लाख र पाँचौँ स्थानमा रहेको अर्जेन्टिनासँग १४ अर्ब ४३ करोड छ । व्यापार घाटा रहेको अन्य
देशमा क्रमशः कतार, ओमान, मलेसिया, जोर्डन, युक्रेन, अस्ट्रेलिया, साउदी अरेबिया, बेल्जियम, थाइल्यान्ड, भियतनाम, कोरिया, ब्राजिल, बङ्गलादेश, पाराग्वे, फ्रान्स, सिङ्गापुर, साउथ अफ्रिका, ताइवान, जापान, क्यानडा, हङकङ मुख्य छन् । त्यस्तै स्विट्जरल्यान्ड, जर्मनी, टर्की, अस्ट्रिया, पोल्यान्ड, न्युजिल्यान्ड, इजरायल, युके, इटाली, तान्जानिया, नेदरल्यान्ड्स, कुवेत, चेक रिपब्लिक, बहराइन, म्यानमारलगायतसँग व्यापार घाटा छ । दक्षिण एसियाली सानो देश भुटानसँगसमेत २४ करोड ९५ लाख ४० हजारको व्यापार घाटा छ ।
व्यापार घाटा नभएको देशमा अमेरिका अग्रस्थानमा छ । संयुक्त राज्य अमेरिकासँग नेपालको व्यापार नाफामा ११ करोड ५४ लाख नौ हजार छ । २०७९/८० को मङ्सिरसम्म व्यापार नाफामा भएका देशमा अल्जेरिया, कम्बोडिया, रोमानिया, उरुग्वे, नर्वे, क्रोएसिया, कङ्गो, अफगानिस्तान, मोरिससलगायत छन् । २०७९ वैशाखदेखि सरकारले विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाएका कारण २०७९/८० मा व्यापार कमै व्यापार घाटा छ । २०७९/८० मा व्यापार घाटा १९ प्रतिशतले घटेको छ । २०७९/८० को पहिलो पाँच महिनामा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार आयात र निर्यात ६७ अर्ब ३० करोड ४५ लाख दुई हजारका भएको छ ।
सरकारले लगाएका प्रतिबन्धका कारण आयात घटेको स्पष्ट भए पनि कुनै अवरोधबिना किन निर्यात घटेको हो भन्ने पहिल्याउन सकिएको छैन । २०७९/८० मङ्सिरसम्म नेपालले एक खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ । २०७९/८० मा कृषिजन्य वस्तु आयात करिब एकतिहाइले घटेको छ । २०७९ मङ्सिरसम्म २० अर्ब ३१ करोडको खाद्यान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको देखिन्छ । २०७९ मार्गसम्म एक खर्ब ३४ अर्बको तरल इन्धन पदार्थ, करिब ८४ अर्बको मेसिन र विद्युतीय उपकरण, करिब ६४ अर्बको फलाम आयात भएको छ । २०७९/८० को पाँच महिनामा कुल सात खर्ब ३२ अर्ब पाँच करोड नौ लाख ५२ हजारको कुल वैदेशिक व्यापार भएको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासङ्घको अगुवाइ भने वर्तमानमा केही क्षेत्रमा देखिएको सुधारले अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको भन्न सकिँदैन । निजी क्षेत्रले अर्थतन्त्र सही बाटोमा नभएको देखे पनि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी २०७९/८० को चार महिनाको विवरणअनुसार शोधनान्तर स्थिति २० अर्ब तीन करोडको बचत देखिएको छ । यसले अर्थतन्त्रमा सुधार देखिएको भनिएको छ । २०७८/७९ को पहिलो चार महिनामा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडको घाटामा रहेको थियो भनिन्छ । यसैगरी चालू खाता भने पछिल्लो चार महिनामा ३५ अर्ब ४० करोडको घाटामा देखिएको छ ।
२०७९/८० को पछिल्लो चार महिनामा २८ करोडले घाटामा देखिएको विवरणले भन्छ । यसैगरी पुँजीगत ट्रान्सफर १८ दशमलव एक प्रतिशतले बढेर दुई अर्ब ९७ करोड रुपियाँ पुग्दा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । २०७९÷८० को चार महिनामा कुल वस्तु निर्यात ३३ दशमलव तीन प्रतिशतले घटेको छ । सोअनुसार पछिल्ला चार महिनामा ५४ अर्ब ७७ करोड रुपियाँको वस्तु विदेशमा निर्यात भएको देखिन्छ । २०७९/८० को पहिलो चार महिनामा तेस्रो देशतर्फको निर्यात सात दशमलव चार प्रतिशतले बढेको छ । २०७९/८० को पहिलो चार महिनामा जिङ्कसिट, पार्टिकल बोर्ड, ऊनी
गलैँचा, चिया, तयारी पोसाकलगायतका वस्तुका निर्यात बढेकोमा सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ता कपडालगायत वस्तुका निर्यात घटेको छ । विलासी वस्तुका आयातमा गरेको कडाइसँग २०७९÷८० को पछिल्लो चार महिनामा कुल वस्तु आयातमा पनि कमी आएको छ ।
वस्तु आयात गरिने देशका आधारमा भारत, चीन तथा अन्य देशबाट भएको आयात क्रमशः १६ दशमलव पाँच प्रतिशत, २० दशमलव नौ प्रतिशत र २० दशमलव एक प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तरल इन्धन, रासायनिक मल, स्पन्ज आइरन, सुन, हवाईजहाजका पार्टपुर्जालगायतका वस्तुका आयात बढे पनि सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस बिलेट,, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात भने घटेको छ । निर्याततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिवि भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ पनि जलेश्वरबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको देखिन्छ ।
२०७९/८० मा वस्तु आयात कम हुँदा नेपालमा सञ्चिति रहेको विदेशी मुद्रा बाहिर जान रोकिए पनि भन्सारबाट सङ्कलन हुने राजस्वमा कमी आएको छ, वस्तु आयात कम हुँदा देशभित्र पनि व्यापार कम भएको छ । निर्यातमा कमी हँुदा नेपालभित्र उत्पादनको अवस्था नाजुक हुँदै गएको छ ।
विभिन्न नीतिगत तथा संरचनागत सुधारपछि नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भई हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधनान्तर स्थितिमा समेत प्रतिकूल अवस्था छ । देशको निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा ह्रास आएको छ ।