• २३ पुस २०८१, मङ्गलबार

विकास निर्माणका कामलाई निरन्तरता

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, मङ्सिर ९ गते  । नेपाली कांगे्रसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा योजनामा परेका सडक निर्माणका कामको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनमा आउनुभएका कार्कीले क्षेत्रवासीका चाहाना अनुसार विकास निर्माणका काम अगाडि बढेको बताउनुभएको छ । 

उहाँले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा कालोपत्रे हुने सडक र विकास निर्माणका कामको बारेमा प्राविधिक, ठेकेदार र स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । अनुगमनमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, कोशी प्रदेश क्षेत्र नम्बर ४ (ख) का सांसद हाजी इसराइल मन्सुरीसहित क्षेत्रमा भएका विकास निर्माणका कामको स्थलगत अनुगम गरिएको हो ।

तुलनात्मक रूपमा सुनसरी ४ मा धेरै योजना परे पनि गत वर्ष नै परेका योजना सम्पन्न नभएकाले सडकको काम चाँडै सुरु हुने बताउनुभएको छ । वराहक्षेत्र १० को प्रकाशपुर क्षेत्रबाट निर्माण कार्यको काम सुरु हुन लागेको कार्कीले जनाउँदै भन्नुभयो, “यस क्षेत्रलाई हेर्नलायक क्षेत्र बनाउँछु । केही समय लागे पनि विकासका काममा सुनसरी ४ पछि पर्दैैन ।” उहाँले आफू निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने बताउनुभयो । सांसद कार्कीले समग्र जिल्लाको विकासका आयोजनालाई प्राथमिकता दिँदै आउनुभएको छ ।