काठमाडौँ, असार २७ गते । अमेरिकी डलर साटी दिन्छु भनी नक्कली पेस्तोल देखाउँदै मुख थुनेर सात लाख लुट्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितलाई ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूसँग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी असार २२ गते भक्तपुर चाँगुनारायण नपा ४ हलछाप स्थित एकान्त जङ्गलमा लगी ६ जनाको समूहले पीडितलाई मुख थुनी नक्कली पेस्तोल देखाई आईफोन मोबाइल र नगद सात लाख रुपियाँ लुटपाट गरी फरार भएका थिए ।
पीडितको जाहेरीको आधारमा प्रहरीले खोजतलास गरी घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नपा १ बोडे बस्ने वर्ष २८ को पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, सोही गाउँ घर भई बोडे बस्ने वर्ष २५ को प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, सोही ठाउँ घर भई हाल बोडेनै बस्ने वर्ष ३६ को सागर भन्ने सन्तवीर पाइन, सोही गाउँ घर भई हाल ललितपुर महानगरपालिका १६ धापाखेल बस्ने वर्ष ३५ को विष्णु कुमार रुम्बालाई पक्राउ गरी कारबाही अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
प्रहरीले बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं. पल्सर मोटरसाइकल, ७२ हजार रुपियाँको चेक, नगद ६४ हजार ४० रुपियाँ, बैक जम्मा गरेको रसिद र विभिन्न कम्पनीका १० वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान गरी कारबाही अघि बढाएको जनाएको छ ।