• १३ साउन २०८१, आइतबार

बाँदर आतङ्कबाट बच्ने उपाय

blog

नेपालको सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डा दिनहुँ बढ्दो छ । जंगल नजिकैबाट बिहानदेखि रातिसम्म बाँदरको हुलका हुल किसानका खेतबारीमा आउने र मकै भट्मास, कोदो, हिउँदे बर्खे बाली–नाली, मौसमी तरकारी फलफूल सखाप पार्ने गरेको छ । ऋण लिएर लगाएका अन्नबाली उखेलेर फाल्ने, नष्ट गर्ने र यसबाट बाली र ऋण चुक्ता गर्न नसकी किसानको टाउकोमा ऋण थोपरिँदै जाने गरेको छ । उनीहरूले ठूलो समस्या खेप्नु परेको छ । बिहानदेखि बेलुकासम्म बाँदर भगाउन थाल ठटाउँदा ठटाउँदै हेरुवा चौकीदारी गर्दागर्दै पनि बाली–नाली बचाउन नसकी हैरान भएका छन् । बालीको कुरुवा बस्दाबस्दै बालबालिकाले पढाइ छोड्नुपर्ने बाध्यता भएको छ । मिहेनत र लागत लगाएको खेती जोगाउन नसक्दा निराश किसानले खेती गर्न छोडी आफ्नो खेतबारी बाँझो राख्ने गरेका छन् । फलस्वरूप पहिलेको तुलनामा तरकारी, फलफूल र अन्नबालीमा उत्पादनमा कमी आएको र राष्ट्रिय अर्थतन्त्रमा व्यवधान खडा भएको छ । 

यसका अतिरिक्त विद्यालय आउँदा–जाँदा बालबालिकालाई बाँदरले झम्टिने, चिथोर्ने, महिला र केटाकेटीलाई धपाउँदा नटेर्ने, उल्टै आक्रमण गर्ने, यहाँसम्म कि बस्तीबाट बाख्राको पाठो च्यापेर जङ्गललगी छोडिदिने घटना पनि भएका छन् । बाँदर धपाउने क्रममा किसानको मृत्युसमेत भएको छ । यो बाँदर आतङ्कको पराकाष्टा हो ।

आक्रान्त किसानले भिन्न–भिन्न नगरपालिका र गाउँपालिकामा बाँदरविरुद्ध उजुरी गरेपछि बाँदर र किसान द्वन्द्व अध्ययन गर्न र नियन्त्रणका लागि रु. पाँच लाखदेखि ३३ लाखसम्म बजेट छुट्याएका, सङ्कल्प प्रस्ताव पारित गरेका, बाँदर समात्न युवालाई रोजगारी पनि दिने योजनाहरू सार्वजनिक भइरहेका छन् । अहिले यस्तो अवस्थामा किसानहरू गाउँको विकास योजनाभन्दा बाँदर नियन्त्रण नै माग गर्ने गरेका छन् ।

विश्वमा करिब दुई सयभन्दा बढी प्रजातिका दुई लाख बाँदर छन् । त्यसमध्ये नेपालमा तीन प्रजाित छन् –हनुमान लङ्गुर – सेतो ढेडु र २ प्रकारका पहरे (आसामीज) र रातो बगाले (रेसस् मकाक मुलाटा) । गाउँ गाउँमा आतङ्क फैलाउने रातो बगाले बाँदर हुन् । नेपालमा पहरे बाँदरको सङ्ख्या कम छ । यी दुई प्रजातिका बाँदरहरू मठमन्दिरमा खान पाउने भएकोले मानव बस्तीमा नजिकै देखिन्छन् भने जङ्गलमा बस्नेहरू गाउँ बस्तीमा धाउने गर्छन् ।

आतङ्क मच्चाउने कारण 

मानवीय गतिविधिको समयक्रमअनुसार क्रमशः विस्तारै बढ्दै अहिले आएर बाँदरको विकराल समस्या किसानले भोग्नु परेको हो । मानिसको जनसङ्ख्या वृद्धि, वन फडानीबाट वन विनाश, इन्धनका लागि दाउराको अत्यधिक प्रयोग, सामूहिक वन कार्यक्रमअन्तर्गत लगाइएका गैह्रदेशीय प्रजातिका रुख बिरुवामा फलफूल नलाग्ने भएकोले बाँदरले आहार नपाउने कारणबाट बाँदरको आतङ्क मच्चिएको छ । फललाग्ने वन विनाश हुँदा बाँदरको आहारको सङ्कटले यो स्थिति सिर्जना भएको हो ।

मानिसको हस्तक्षेपले वन मासिँदै जानु, बाँदरका हिंस्रक सिकारी जन्तुजस्तै बाघ, चितुवा घट्दै जानु बाँदरको सङ्ख्या बढ्दै जानु, जङ्गलमा प्राकृतिक आहारको अभावले जङ्गल नजिकैको घर बस्तीमा बाँदरले आहार खोज्न थाले । फलस्वरूप किसानको बालीनाली ध्वस्त पार्न जङ्गलभन्दा बढी गाउँ बस्तीतिर रत्तिन थाले । जहाँ आहार पाउँछ त्यही नै झुम्मिने नै भए ।

नियन्त्रण कसरी गर्ने ?

किसानले बाँदर नियन्त्रण गर्न आफूसक्दो प्रयास गरे तापनि पूर्ण रूपमा सफल हुन सकेका छैनन् । जस्तै गुलेली र लठ्ठी प्रयोग गरेर, कुकुर लगाएर, खेतबारीमा टिन, थाली, गाग्री, ढयाङ्ग्रो ठट्टाएर, ढुङ्गा बर्साएर, होहल्ला गरेर, हेरालु÷धरालो÷रुगालो ज्यालादारीमा लगाएर, खेतबारीमा टौवा वा टहरामा बसेर चौकीदारी गराएर, विद्युतीय सोलार तारबार प्रयोग गरेर पनि बाँदरको नियन्त्रण गर्ने गरिएको छ । 

बाँदर हाम्रा पुर्खा हुन् । बाँदर निकै चलाख र बुद्धिमान हुन्छन् । त्यसैले बाँदरलाई नियन्त्रण गर्ने प्रयासमा मानिसले गर्ने गरेका उपाय केही समयका लागि काम गर्न सक्छ । तर लामो समय त्यही एउटा उपायले नियन्त्रण गर्न नसकिने परिस्थिति छ । त्यसैले विभिन्न उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कुनै पनि वन्यजन्तु लखेट्न, मार्न, पक्रन, दुःख दिने वा सो प्रयत्न गर्नेलाई कसुर हेरी १० हजार रुपियाँयासम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ । गैरकानुनी तरिकाले बाँदर नियन्त्रणमा लिनु संरक्षित वन्यजन्तुलाई हानी नोक्सानी पु¥याए दण्ड सजायको व्यवस्था छ । यसैले बाँदरलाई मार्ने, बन्ध्याकरण गर्ने, समात्ने, पाल्नेलगायतका कार्य दण्डनीय हुन सक्छ ।

कानुनले बन्देज गरे पनि गाउँपालिका र नगरपालिकाले बाँदर समात्दै स्थानान्तरण गरेको देखिन्छ । बाँदरका हुल समातेर राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु आरक्षमा छोडिदा त्यहाँको राख्न सक्ने वनको सीमित क्षमताभन्दा बढी भएमा आहारको खोजीमा गाउँबस्तीमा जान थाल्छ । यस किसिमले एक ठाउँको समस्या अन्यत्र सर्न गई समस्या बल्झिन सक्छ ।

अल्पकालीन उपाय 

बाँदर सङ्ख्या कम गर्न बन्ध्याकरण महँगो पर्ने भएकोले यो व्यावहारिक नहुन सक्छ । फाइट्रोइस्ट्रोजनको गाढा झोल खुवाउँदा बाँदरमा बाँझोपन ल्याई सङख्या घटाउन सहयोग पु-याउँछ । एकाध दुःख दिने बदमास भालेको हकमा उसलाई समातेर खुसी पारी सजिलै तह लगाउन सकिन्छ । 

वडा/पालिकाले छुट्याएको बजेटबाट बाँदरलाई केही समयका लागि वनभित्रै खुवाउन ठाउँ ठाउँमा फिडिङ स्टेसन बनाई पर्याप्त मौसमी सस्ता फलफूल, तरकारी, कोदो/सूर्यमुखीको गेडा छरिदिने जसबाट बाँदरहरू ससाना गेडाहरू टिप्न दिनभर व्यस्त भइरहने र रात परेपछि किसानको खेतबारी धाउन नपर्ने र नसक्ने हुन्छ । यदि आहार पर्याप्त नभएको कारणबाट खेतबारीमा बाँदर छिरे पनि यी निम्न विधि छिमेकी देश भारतमा सफल भएकोले यहाँ पनि अपनाउन सकिन्छ । कतिपय उपायले लागत खर्च बढ्ने हुँदा वडा÷पालिकाको सहयोग लिनुपर्ने हुन्छ ।

विकर्षक पदार्थ प्रयोग 

दोलखाका गाउँपालिकाले ‘बाँदर घाँस’, मोलासिस जातका घाँस रोपेर बाँदरको बिगबिगी घटेको पाइएको छ । यो जातको घाँसको गन्ध बाँदरलाई मन नपर्ने, पातमा झुस हुने र च्याप्च्याप् तेलजस्तो टाँसिने पदार्थ निस्कने भएकोले बाँदर यसको नजिक नआउने र झुस शरीरमा टाँसिने तिनीहरूमा चेत भएकोले टाढा रहन्छन् । 

विकर्षक रसायन प्रयोग 

रसायन–विकर्षक जस्तै एन्थ्राकुइनोना, ब्युटानेथिवल र मिथाइल एन्थ्रानिलेट, थिमेट, दिसिनोलेसिसको प्रयोगबाट बाँदरलाई बालीनालीबाट टाढा राख्न सकिन्छ । थिमेट ग्रान्युल्स १० ग्रामलाई २ ग्राम बालुवासँग मिसाएर ससाना थैलीमा राखी र थैलीमा ससाना प्वाल पारेर खेतबारीको सीमानामा राखिँदा बाँदरलाई खेतबारी भित्र आउन हतोत्साह पार्छ । यी रसायन यहाँ नपाएमा विदेशबाट आयात गर्नुपर्ने हुन्छ । 

माछाको प्रयोग 

अर्को उपाय हो, बाँदरलाई मन नपर्ने माछाको गन्ध । सुक्खा ससाना माछाको ससाना पुडिया बनाई खेतबारीमा रुखको हाँगाबिँगामा झुन्डाउने र बाँदरले पुडिया खोलेपछि हातमा लागेको गन्ध मेटाउन रगत आउञ्जेलसम्म हात रगट्ने गर्छ । यसबाट बाँदरका हुल आउन हतोत्साह हुन्छ । 

खुर्सानीको प्रयोग 

पिरो खुर्सानीको धुलो, मुगफलीको धुलो र नरिवलको तेल भातमा मिसाई ससाना त्यसको डल्ला पार्ने र खेतबारीको ठाउँ ठाउँमा राख्ने । बाँदरले भातको डल्ला खाँदा जिब्रो पोल्ने र पानीको खोजमा भाग्ने गर्छ । 

खेलौना सर्पको प्रयोग 

रबरबाट बनेका रङ्गीन खेलौना सर्पलाई बाँदर आउने ठाउँ ठाउँमा राख्ने र खेलौना सर्प राख्ने ठाउँ बदलिरहने गर्नुपर्छ । बाँदरले नक्कली सर्प हो भन्ने पत्ता नलगाएसम्म यो उपायले केही समयको लागि बाँदरलाई रोक्न सकिन्छ ।

धुवाँको प्रयोग 

गुइँठा, झिगटामा खुर्सानी छरेर आगो बाल्ने र धुवाँ निकाल्ने, झिँगटा मसिनो दाउरालाई फिनायलमा चोपेर धुवाँ निकाल्ने, धुवाँबाट बाँदर टाढै भाग्ने गर्छ ।

लङ्गुरको प्रयोग 

रातो बगाले बाँदरका प्राकृतिक शत्रु हुन्, लङ्गुर, रुखको पात खाएर पनि बाच्ने लङ्गुरलाई अन्यत्र ठाउँबाट ल्याई समस्याग्रस्त ठाउँमा छोड्ने । लङ्गुर भएको ठाउँबाट बगाले बाँदर भाग्ने गर्छन् ।

हिंस्रक जन्तुको आवाजको प्रयोग 

बाघ, सिंह र लङ्गुरको आवाज इन्टरनेटबाट रेकर्ड गर्ने र पेनड्राइभमा राखी मोबाइल बेट्रीबाट चल्ने आवाज–उपकरण रुख, खम्बामा जडान गर्ने र बाँदर कुन समय बढी खेतबारीमा आउँछ त्यस अवधिमा ६ घण्टासम्म चर्को बजाउने गर्ने । हिंस्रक शत्रुको चर्को आवाजले खेतबारीमा बाँदर पस्न हिम्मत गर्दैनन् ।

पटाखा/आवाज दिने बन्दुक 

यस्तै किसिमले बाँदरको हुल खेतबारीमा पस्ने बित्तिकै पटाखा÷बन्दुक पड्काउने । यसबाट बाँदर भाग्ने छन् ।

मूल्ली भालेलाई रङ पोत्ने

राष्ट्रिय कुञ्ज विभागबाट स्वीकृति लिई बाँदरका हुलका मूल्ली (डोमिमेन्ट) भालेलाई समातेर रातो र सेतो रङले पोत्ने र त्यसलाई बाँदरको हुलमा छोडिदिने, त्यसबाट बाँदरहरू डराइ भाग्ने गर्छन् ।

बाँदर पक्रिने विधि 

बाँदरलाई पक्रिन सुकेको नरिवललाई खोक्रो पारेर बाँदरको हातसम्म छिर्ने गरी गोलाकार प्वाल बनाउने र नरिवलभित्र केरा राखी त्यसलाई खोरभित्र राख्ने । बाँदरले हात छिराएर केरा समातेर निकाल्ने कोसिसमा नरिवलको प्वालबाट केरा समातेको हातको पञ्जा अड्किने हुन्छ । चलाख बाँदर यहाँ माथ खान्छ । केरा समातेपछि हातको पन्जा फुकाएर बाहिर निकाल्ने बुद्धि हुँदैन । एकपटक केरा समातेपछि लोभले त्यसलाई छाड्न चाहदैन र नरिवलमा पञ्जा अड्किन्छ । यस प्रकार ठूलो खोरमा धेरै नरिवल राखेर धेरै बाँदर पनि समात्न सकिन्छ ।

बुख्याचा राख्ने 

खेतबारीमा मानिस, बाघ, चितुवा, कालो बिरालो वा अजिङ्गर स्वरूपको बुख्याचा बनाएर राखेमा बाँदर खेतबारीमा छिर्न आँट गर्दैन ।

सौर्य विद्युत् बार  बिजुलीको हल्का झट्का दिने बार राख्ने । यसबाट खेतबारीमा बाँदरका हुलले बिजुलीको झट्का अनुभव भएपछि फेरि त्यहाँ छिर्न साहस गर्न सक्तैनन् ।

आधुनिक बाँदर खोरको प्रयोग 

यसबाट समस्या दिने बाँदरलाई समात्न सकिने र अन्यत्र सार्ने काममा ल्याउन सकिन्छ ।

कुरुवा राख्ने 

बाँदर भगाउन कुरुवा कामदार राखेर शतप्रतिशत सफल हुन नसके पनि केही हदसम्म बाली बचाउन सकिन्छ तर लागत खर्च बढ्ने हुन्छ ।

अल्ट्रासोनिक यन्त्रको प्रयोग 

खेतबारीमा आउने बाँदरलाई भ्रमित, विचलित र तर्साउन सोलार अल्ट्रासोनिक बाँदर विकर्षक यन्त्रको प्रयोग गर्न सकिन्छ । यो उच्च फ्रिक्वेन्सीको अल्ट्रासोनिक आवाजको वेभले बाँदरलाई कान दुख्ने र असुविधा हुने र जडान गरेको ठाउँमा बस्न नसक्ने हुन्छ । 

यो वेभलाई भ्रमलाई मानिस र घरपालुवा जन्तुले सुन्न नसक्ने भएकोले उनीहरूमा कुनै खराब असर हुँदैन । करिब रु. सात हजार मूल्यमा भारतबाट आयात गर्न सकिन्छ ।

कृत्रिम बुद्धिमत्ता 

कम्प्युटरको सहयोगमा सोच्ने, बुझ्ने र निर्णय लिने क्षमताको विकासबाट आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ क्रलाउड कम्प्युटिङबाट बाँदरको गतिविधि, तिनीहरूको पहिचान गर्ने र यसले खासगरी सहरी क्षेत्रमा दुःख दिने बाँदरको नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।