• ७ मंसिर २०८१, शुक्रबार

बालबालिकाका लागि ‘पेपर स्याट’

blog

काठमाडौँ, पुस २२ गते । नेपालले आफ्नै भूउपग्रह पठाउन थालेपछि त्यसप्रतिको उत्सुकता बढेको छ । यसै क्रममा त्यसलाई बालबालिकाको तहदेखि नै अनुसन्धानको विषय बनाउन र भूउपग्रह बनाउन सिकाउन बेग्लै अभियान थालिएको छ कागजी उपग्रह अर्थात् पेपर स्याट । अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिका र युवालाई ध्यानमा राखेर ‘पेपर स्याट’ अभियान थालेको हो । 

नेपालले २०७६ वैशाख ५ गते ‘नेपाली स्याट वान’ नानो स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । अहिले मुनाल र डाँफे नामका दुई नानो स्याटेलाइट प्रक्षेपणको तयारी हुँदै गर्दा प्रतिष्ठानले शैक्षिक प्रयोजनका लागि नेपाली स्याटेलाइटको मोडेल (नमुना) स्याटेलाइट ल्याएको हो ।

नेपाली स्याटेलाइटको नमुना भूउपग्रहको नाम ‘पेपर स्याट’ दिइएको हो । ‘पेपर स्याट’ कागज र प्लास्टिकले बनेको नमुना भूउपग्रह हो । यो नमुना भूउपग्रह दुई वर्षभन्दा माथि उमेर समूहका बालबालिका र युवालाई लक्षित गरेर निर्माण गरिएको छ । वास्तमै भूउपग्रह कसरी बनाइन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने विषयबारे आधारभूत जानकारी दिने उद्देश्यले ‘पेपर स्याट’ ल्याइएको हो । 

बालबालिका र युवालाई स्याटेलाइट कसरी बन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने लगायतका जानकारी दिन र भूउपग्रहबारे कौतुहलता जगाउन ‘पेपर स्याट’ ल्याएका हौँ । हामीले यसलाई बालबालिकाका र युवाका लागि अध्ययन वा शैक्षिक सामग्रीका लागि मात्रभन्दा पनि यो उपहार वा सोभिनियरको रुपमा विकास गरेका छौँ’, अन्तरिक्ष प्रतिष्ठान नेपालमा स्याटेलाइट अनुसन्धानकर्ता विकल्प ढुङ्गानाले भन्नुभयो । 

उहाँका अनुसार यसको निर्माण गर्दा नेपाली कला र संस्कृतिलाई प्राथमिकता दिइएको छ भने यसमा नेपाली कागज लोक्ता प्रयोग भएको छ । तर यसको उत्पादन गर्न सक्ने उद्योग नेपालमा भेटिएको छैन । ‘पेपर स्याट’को उत्पादन थ्रिडी प्रिन्टरको सहायताले गरिन्छ । यसको मूल्य दुई हजार रुपियाँ रहेको र धेरै उत्पादन हुन थालेपछि यसको मूल्य घट्ने बताइएको छ । 

‘पेपर स्याट’भित्र चित्र, तस्बिर र स्याटेलाइट बनाउन र जोड्न सिकाउने पुस्तिका (म्यानुअल) पनि राखिएको अनुसन्धानकर्ता ढुङ्गानाले बताउनुभयो । धेरै प्रयास र छलफलपछि हामीले नेपालका प्रत्येक व्यक्तिलाई भू¬उपग्रहबारे परिचय गराउने एउटा अनौठो र सजिलो तरिका लिएर आएका छौँ । त्यही चिज हो ‘पेपर स्याट’, अनुसन्धानकर्ता ढुङ्गानाले भन्नुभयो । 

उहाँले आफूहरुले यो भूउपग्रहलाई कागज र प्लास्टिकबाट बनेको भूउपग्रहको रूपमा परिचय गराउने गरेको बताउनुभयो । “धेरैले यो कागज र प्लास्टिक मात्र हो भन्न पनि सक्छन्, तर ‘पेपर स्याट’ले देखेको सपना कागज र प्लास्टिकभन्दा परको चिज हो । पेपर स्याटले नेपाली बालबालिका र युवालाई भूउपग्रहका क्षेत्रमा ठूलो सपना देख्न प्रेरित गर्छ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार ‘पेपर स्याट’मा आठवटा जोड्ने स्थान र १२ वटा रेल हुन्छन् । तिनीहरुलाई जोड्दै गयौँ भने एउटा घनाकार बन्छ । यो बनाउँदा नेपाली स्याटेलाइट वानयुको क्युब स्याटको मानक (स्ट्यान्र्डर) लाई लिएको छ । यसमा सोलार सेल कस्तो देखिन्छ, यसमा के कुरा रहेका छन् र स्याटेलाइट झ्वाटै बाहिरबाट हेर्दा कस्तो देखिन्छ भन्ने देखाउन त्यसको बाहिर बोर्डको एक भागमा नेपाली कला, संस्कृति झल्काउने प्रिन्टिङ गरेको र अर्को भाग खाली छाडिएको हुन्छ जहाँ बालबालिकाले केही कुरा पेन्टिङ गरेर आफ्नो सिर्जनशीलता देखाउन सक्छन् ।