काठमाडौँ, साउन १८ गते । बिरामी परीक्षणका लागि गुहार लगाइरहेका छन् । चिकित्सक र नर्सहरू आकस्मिक कक्षमा आएका बिरामी व्यवस्थापनसँगै स्वास्थ्य परीक्षणमा व्यस्त छन् । अस्पताल व्यवस्थापनमा खटिएका कर्मचारी बेला बेला आउँछन्, एकैछिनमा हराउँछन् । डाक्टरले आफैँ शय्याको प्रबन्ध गरेर बिरामीको उपचार सुरु गर्छन् । प्रायः भिड रहने वीर अस्पतालको आकस्मिक कक्षको व्यवस्थापनमा खटिने कर्मचारीको लापर्बाहीले बिरामी मर्माहत हुन्छन् किनभने वीर अस्पतालको आकस्मिक कक्षको भद्रगोल दृश्यले उपचार गर्न जाने बिरामी र कुरुवामाथि आहत पुग्छ ।
अस्पताल प्रशासनले वीर अस्पतालको आकस्मिक कक्ष व्यवस्थित गर्दैन । बरु शौचालय र फोहोर सङ्कलनका लागि राखिएका डब्बाछेउ शय्यामा बिरामी राख्दै आएको छ । बिरामी कुरुवा कमलप्रसाद मण्डलका अनुसार अस्पताल प्रशासन र कर्मचारीले ‘जहाँ खाली छ, त्यहीँ बिरामी राख्नू’ भन्छन् ।
उहाँले भन्नुभयो, “अर्धचेत अवस्थाका बिरामी ल्याउँदा शौचालयछेउमा बेडमा राख्न भनेपछि दुई तीन घण्टा त्यहीँ राख्नुपर्यो । अनि डाक्टर आएपछि अगाडि बेड खाली गरेर सारेपछि मात्रै थप परीक्षण भयो ।”
उहाँ मात्रै होइन, नुवाकोटबाट दिदीको उपचारका लागि आएकी सुनिता तामाङको अवस्था पनि उस्तै थियो । उहाँले भन्नुभयो, “शौचालयछेउमै त राख्न नलगाउनुपर्ने हो । यहाँ बिरामी भएर उपचारका लागि आउँदा अर्को रोग थपिने डर हुँदोरहेछ ।”
‘आकस्मिक कक्ष विस्तार चाँडै’
देशको सबैभन्दा पुरानो वीर अस्पतालको १३६ वर्षको इतिहासमा स्वास्थ्य सेवामा नवीन आयाम थपेकै छ । निजी अस्पतालमा गएर उपचार गर्न नसक्ने देशैभरिका नागरिकको विश्वास र भरोसा वीर अस्पतालकै उपचार सेवामा छ तर वीर अस्पताल जानु भनेको मृत्यु निम्त्याउनु हो भन्ने अवस्थामा नागरिकको मनोभावना सिर्जना हुँदा अस्पताल प्रशासनले चाँडै सेवा विस्तार हुने प्रस्ट पारेको छ । वीर अस्पतालका उपनिर्देशक डा. समाज गौतमले भन्नुभयो, “भौतिक संरचना र जनशक्ति पर्याप्त नहुँदा केही समस्या भएकै छ तर आकस्मिक कक्षमा आउने बिरामीलाई फोहोर सङ्कलन गर्ने डब्बा र शौचालयको छेउमा राख्न मिल्दै मिल्दैन ।”
उहाँले वीर अस्पतालको संरचनागत सुधार प्राथमिकतामा राख्नुपर्ने बताउँदै आकस्मिक कक्ष पनि फराकिलो बनाइने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बिरामी बढेको बढ्यै छन् । कोठा विस्तार गर्न र भवन बनाउन पनि ठाउँ छैन । आकस्मिक कक्ष भएको स्थानलाई फराकिलो बनाउने काम सुरु हुँदै छ । ठेक्का दिइसकेको छ । आकस्मिक कक्षलाई विस्तार गरिने छ ।”
डा. गौतमका अनुसार आकस्मिक कक्षको उत्तरतर्फको ढोकादेखि पूर्वतर्फको ढोकासम्म विस्तार गरेर फराकिलो बनाइने छ । उहाँले पाँच सात महिनामा काम पूरा हुने बताउँदै बिरामीले दुःख पाउने गरेको विषयमा आफूहरू गम्भीर रहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ भवन हस्तान्तरण गरेको पाँच वर्षसम्म संरचना बदल्न नपाउने भएकाले आकस्मिक कक्ष भएकै स्थानलाई विस्तार गर्ने तयारी छ । आकस्मिक कक्षलाई सुविधासम्पन्न बनाउने र एक तलामाथिको आधा भागलाई पनि आकस्मिक कक्षका लागि प्रयोग गरिने छ ।”
मापदण्ड पालना गर्नै पर्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले बिरामीलाई शौचालय र फोहोर राख्ने ठाउँको छेउमा राख्न नमिल्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आकस्मिक कक्ष मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले आकस्मिक कक्षमा तुलनात्मक रूपमा बढी बिरामी आउने र आकस्मिक कक्षमा आएका बिरामीलाई फिर्ता गर्न नमिल्ने बताउनुभयो । उहाँले एउटै शय्यामा दुई तीन जना नै राखेर भए पनि, शय्या थपेर पनि सेवा दिइरहेको बताउनुभयो । उहाँले वीर अस्पतालको आकस्मिक कक्षलाई व्यवस्थित गर्न ७० वटा शय्या थप्नका लागि बजेट विनियोजन भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रोमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी छैन । अलि गम्भीर भइसकेपछि मात्रै अस्पताल जाने बानीले पनि आकस्मिक कक्षमा भिड लाग्ने गरेको छ । जनशक्ति र पूर्वाधारको अध्यावधिक र विस्तार भएको छैन । यति भन्दै गर्दा अस्पतालले न्यूनतम सेवा मापदण्ड पालना गर्नै पर्छ ।”
डा. बुढाथोकीले न्यूनतम सेवा मापदण्ड अनुसार प्रत्येक वर्ष स्वमूल्याङ्कन पनि हुने, मन्त्रालय र विभागबाट अनुगमन गरिने र सुधारका प्रयास पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शय्याको छेउमा एउटा सानो डस्टबिन हुनु पर्छ तर सङ्क्रामक र गल्ने फोहोर राख्ने ठुला डस्टबिन शय्याको छेउमै राख्न मिल्दैन । निश्चित दुरीमा राखे पनि प्रत्येक दिन खाली गर्नु पर्छ । प्रत्येक ‘सिफ्ट’ मा सफाइ गर्नु पर्छ ।”