भाइबहिनीहरू, सबैभन्दा अग्लो हिमाल कुन हो ? पक्कै पनि तपाईंहरूले सगरमाथा भन्नुहुने छ । तपाईंहरूको उत्तर ठिक छ । नेपालको मात्र नभई विश्वमै सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । अग्लो हिमालका रूपमा सगरमाथाले कीर्तिमान कायम गरेको छ । तुलना गर्दा अरूभन्दा सर्वोच्च वा फरक हुन्छ भने उसले कीर्तिमान कायम गरेको भनिन्छ । कीर्तिमान भनेको प्रसिद्धि पनि हो । यसलाई अझ सजिलो गरी बुझौँ है त ? मानिलिऊँ, तपाईंको विद्यालयमा भएको दौड प्रतियोगितामा एक जना विद्यार्थीले एक मिनेटमा एक किलोमिटर दौडिएर कीर्तिमान कायम गर्नुभएको छ । अर्काे पटकको प्रतियोगितामा तपाईंले सोही दुरी ५५ सेकेन्डमा पार गर्नुभयो । अब तपाईंले ती विद्यार्थीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्नुभयो । अर्काे कुनै विद्यार्थी वा तपाईं आफैँले पनि एक किलोमिटर दुरी ५५ सेकेन्डभन्दा कममा पूरा गर्नुभयो भने अब नयाँ कीर्तिमान कायम हुने छ ।
मानिसले मात्र कीर्तिमान कायम गर्दैन । स्थान, नदी, हिमाल, पहाड, झरना, निकुञ्ज, मन्दिर, तालतलैया आदिको पनि कीर्तिमान हुन सक्छ । ती निर्जीवले आफूले चाहेर कीर्तिमान कायम गरेका होइनन् । प्रकृतिले नै तिनलाई कीर्तिमानी बनाइदिएका हुन् तर मानिसले बनाएको संरचनाले कीर्तिमान कायम गरेको छ भने ती प्राकृतिक होइनन् । जस्तै– सबैभन्दा अग्लो टावर छ भने त्यो मानिसले बनाएको हो । त्यो आफैँ अग्लो टावर बनेको होइन । कीर्तिमान देशभित्र वा विश्वभरि कायम गर्न सकिन्छ । यस अङ्कमा नेपालका अर्थात् स्वदेशभित्रका प्राकृतिक तथा मानव निर्मित संरचनाका कीर्तिमानबारे चर्चा गर्ने छौँ ।
सर्वोच्च शिखर सगरमाथा
सगरमाथाले सर्वोच्च शिखरका रूपमा कीर्तिमान कायम गरेको छ । यो हिमाल सन् १८५२ मा पत्ता लागेको हो । सन् १८६५ मा जर्ज एभरेस्टको सम्मानमा यो हिमालको नाम माउन्ट एभरेस्ट राखिएको थियो । कुनै पनि स्थानको उचाइ नाप्दा समुद्र सतहदेखिको नाप लिने चलन छ । समुद्री सतहबाट नाप्दा सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर छ । हिमाल चढ्नुलाई आरोहण गर्ने भनिन्छ । सगरमाथा आरोहणको प्रयास सन् १९२२ देखि भएको हो । २०१६ साल जेठ १६ गते अर्थात् सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसैले हरेक वर्षको मे २९ का दिन सगरमाथा दिवस मनाउने गरिन्छ । २०१२ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यले यो हिमालको नाम सगरमाथा राखिदिनुभएको हो ।
सप्तकोशी
सप्तकोशी नेपालको सबैभन्दा तीव्र गतिमा बग्ने नदी हो । सबैभन्दा छिटो हिँड्ने वा बग्ने क्रियालाई तीव्र गति भनिन्छ । यो नदीको पानी एक सेकेन्डमा एक हजार ५६४ घनमिटर बग्दछ । चीनको ह्वाङहो नदीले विश्वमै तीव्र गतिमा बग्ने नदीका रूपमा कीर्तिमान कायम गरेको छ । त्यसपछि तीव्र गतिमा बग्ने नदी सप्तकोशी हो । अर्थात् विश्वमै तीव्र गतिमा बग्ने ह्वाङहोपछिको दोस्रो नदी सप्तकोशी हो । सप्तकोशीमा विभिन्न सात वटा नदी मिसिएका छन् । मुख्य नदीमा विभिन्न नदी मिसिएको हुन्छ । मिसिने नदीलाई सहायक नदी भनिन्छ । सप्तकोशीका सहायक नदी अरुण, सुनकोशी, दुधकोशी, तामाकोशी, इन्द्रावती, तमोर र लिखु हुन् । यसको लम्बाइ ७२० किलोमिटर रहेको छ । यो नेपालको सबैभन्दा लामो नदी पनि हो । नेपालका नदी बग्दै अन्तिममा भारत पुग्छन् । नदीको लम्बाइ नेपालभित्र बग्दासम्मको मात्र लिइन्छ । तसर्थ ७२० किलोमिटर भनेको नदीको मुहानदेखि भारतको सीमासम्मको लम्बाइ हो । वर्षायाममा बाढी आउँदा भारत आसपासका क्षेत्रलाई डुबान पार्ने भएकाले सप्तकोशीलाई ‘विहारको दुःख’ पनि भन्ने गरिन्छ ।
सप्तगण्डकी
सप्तगण्डकी नेपालको सबैभन्दा गहिरो नदी हो । नदीभित्रको जमिनको सतहदेखि हामीले नदी बग्दा देख्ने माथिको सतहसम्मलाई गहिराइका रूपमा नाप्ने गरिन्छ । सप्तगण्डकीको सहायक नदी सात वटा छन् । त्यसैले यसको नाम सप्तगण्डकी रहेको हो । यो नदीलाई चितवनमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ । नारायणगढ पुग्नुभएको छ भने पक्कै पनि नारायणी नदी देख्नुभएको होला । सप्तगण्डकीका सहायक नदीमा कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौदी, मस्र्याङ्दी र त्रिशूली पर्दछन् । यसको लम्बाइ ३३८ किलोमिटर रहेको छ । यस नदीलाई भारतमा पुगेपछि गण्डक भन्ने गरिएको छ ।
कर्णाली पुल
एउटा मात्र खम्बा (पिलर) भएको नेपालको सबैभन्दा लामो पुल देख्नुभएको छ ? यस्तो पुल कर्णाली नदीमाथि बनेको छ । यो पुलले लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलालीलाई जोड्छ । यो पुल पूर्वपश्चिम राजमार्गमा निर्माण भएको छ । त्यसैले यो पुलले सुदूरपश्चिमलाई पूर्वी भागसँग जोडेको छ । यो पुल चिसापानी भन्ने स्थानमा छ । चलनचल्तीमा यसलाई कर्णाली चिसापानी पुल भन्ने गरिएको छ । यो पुलको लम्बाइ पाँच सय मिटर र चौडाइ १० मिटर छ । यो पुल २०५० सालमा बनेको हो । यहाँ भयङ्कर हावा चल्ने गर्छ । कर्णाली नदीका सहायक नदी हुम्ला, कर्णाली, मुगु कर्णाली, ठुलीभेरी, सानीभेरी, तिला, बुढीगङ्गा र सेती हो । कर्णाली नदीको लम्बाइ ५०७ किलोमिटर रहेको छ ।
अरूण नदी
सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी अरुण हो । अर्थात् यसको मूल अग्लो स्थानमा छ । यसलाई तिब्बती भाषामा फुङ्चु नदी भनिन्छ । चीनको तिब्बत क्षेत्रबाट यसको मुहान उत्पत्ति भएको हो र मुहान समुद्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा छ । यो नदी पूर्वी नेपालको सङ्खुवासभा भएर बग्छ । यो कोशी नदीको मुख्य सहायक नदी हो । यो सप्तकोशीको सहायक नदी पनि हो ।
अरुण उपत्यका
चारैतिर पहाडले घेरिएको र बिचमा ठुलो ठाउँ भएकोलाई उपत्यका भनिन्छ । नेपालमा धेरै वटा उपत्यका छन् । अरुण उपत्यका सबैभन्दा गहिरो उपत्यका हो । यो उपत्यका समुद्री सतहभन्दा तीन हजार छ सय मिटर गहिरो छ । यस उपत्यकामा छ सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसैले यो उपत्यकालाई बढी चरा भएको उपत्यका भनेर पनि चिनिन्छ । यहाँ आठ सयभन्दा बढी प्रजातिका पुतली पनि पाइन्छ । अरुण नदी पनि अरुण उपत्यका भएर बग्दछ । अरुण नदीमा ८३ भन्दा बढी प्रजातिका माछा पाइन्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको निकुञ्ज हो । वनजङ्गल, वन्यजन्तुलगायतलाई सुरक्षा गर्न छुट्याइएको स्थानलाई निकुञ्ज भनिन्छ । सगरमाथा हिमाल पनि यसै निकुञ्जभित्र पर्दछ । यो निकुञ्ज समुद्री सतहबाट एक हजार आठ सयदेखि आठ हजार ८४८.८६ मिटरसम्मको उचाइमा रहेको छ । यो निकुञ्जको स्थापना २०३२ सालमा भएको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ ।
सुलीगाड झरना
सुलीगाड झरना नेपालको सबैभन्दा अग्लो ठाउँमा भएको झरना हो । अग्लो ठाउँबाट खसेको पानीको छाँगोलाई झरना भनिन्छ । यो झरना समुद्र सतहबाट तीन हजार ६१३ मिटर अग्लो ठाउँमा छ । डोल्पाको फोक्सुन्डो तालको पानी केही पर बग्दै आएर झरनाका रूपमा तल खस्छ । यस झरनाको छाँगो १६८ मिटर लामो छ ।
पचालझरना
पचालझरना नेपालकै अग्लो तथा लामो झरना हो । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको यो झरनाको उचाइ ३८१ मिटर रहेको छ । यो झरना विश्वका ३० अग्ला झरनामा पनि पर्छ । यो झरना घना जङ्गलको बिचमा रहेको छ । यसअघि तेह्रथुमको ह्यात्रुङ झरनालाई सबैभन्दा अग्लो भनिन्थ्यो । ह्यात्रुङ झरना ३६५ मिटर अग्लो छ ।
कालिञ्चोक मन्दिर
कालिञ्चोक मन्दिर नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको भगवती मन्दिर हो । दोलखाको सदरमुकाम चरीकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा यो मन्दिर छ । मन्दिर समुद्री सतहदेखि तीन हजार ८४२ मिटर अग्लो ठाउँमा छ । ताप्लेजुङमा प्रसिद्ध पाथीभरा देवीको मन्दिरका बारेमा सुन्नुभएको छ ? पाथीभरा मन्दिर समुद्री सतहदेखि तीन हजार ७९४ मिटरमा रहेको छ । कालिञ्चोक भगवती मन्दिर पाथीभराभन्दा ४८ मिटरले अग्लो स्थानमा छ । मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा छ । अचेल कालिञ्चोकमा केबुलकारको पनि सुविधा छ ।
तेङ्बोचे (त्याङबोचे) गुम्बा
तेङ्बोचे गुम्बा नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको गुम्बा हो । यो गुम्बा सोलुखुम्बुमा छ । यो गुम्बा समुद्री सतहदेखि तीन हजार ८६७ मिटर अग्लो ठाउँमा छ । विश्वका मानिस सगरमाथा हेर्नका लागि यो ठाउँमा पनि आउने गर्छन् । तेङ्बोचे हुँदै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो तालसम्म पुग्न सकिन्छ ।
राराताल
नेपालको सबैभन्दा ठुलो र फराकिलो ताल रारा हो । प्रशस्त पानी जमेको ठुलो पोखरी वा दहलाई ताल भनिन्छ । रारा ताल १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको लम्बाइ ५.६ किलोमिटर, चौडा २.४ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारा ताललाई तत्कालीन राजा महेन्द्र शाहले २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गर्नुभएको थियो । केही वर्षयता धेरै सङ्ख्यामा नेपाली पर्यटक राराताल जाने गरेका छन् ।
फोक्सुन्डो ताल
फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो । डोल्पामा रहेको यो ताललाई स्थानीय भाषामा रिग्म ताल भन्ने गरिन्छ । यो ताल से फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र छ । हिमालको सफा पानी जमेर यो ताल बनेको हो । निकै गहिरो भएकाले यो ताल गाढा निलो रङको छ । फोक्सुन्डो ताल समुद्री सतहभन्दा करिब तीन हजार नौ सय मिटरको उचाइमा छ । यस तालको लम्बाइ ४.८ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मीटर छ ।
तिलिचो ताल
नेपालको सबैभन्दा अग्लो ठाउँमा भएको ताल तिलिचो हो । यो ताल मनाङमा रहेको छ । यो ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर अग्लो ठाउँमा छ । यो तालको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ करिब दुई सय मिटर छ । अरू तालको जस्तो तिलिचो तालको वरपर बोटबिरुवा छैन । बोटबिरुवा नभए पनि निकै सुन्दर छ । धेरै जना त्यहाँ घुम्न जाने गरेका छन् । हुन त तिलिचोभन्दा अग्लो ठाउँमा भएको ताल डोल्पामा फेला परेको दाबी गरिएको छ । डोल्पाको काजिन साराताल समुद्री सतहदेखि पाँच हजार १९० मिटर अग्लो ठाउँमा रहेको दाबी गरिएको छ ।
गेरुवा पुल
बर्दियाको कोठियाघाटमा निर्मित पुल नेपालको सबैभन्दा लामो पक्की पुल हो । गेरुवा नदीमा बनेको यो पुलको लम्बाइ एक हजार १५ मिटर छ । यसअघि सात सय मिटर लामो मेचीको कन्काइ पुललाई सबैभन्दा लामो पक्की पुलका रूपमा लिइन्थ्यो । यस पुलले राजापुर नगरपालिकालगायतलाई जोड्ने गर्दछ । यो पुलका २० वटा पिल्लर छन् । यसको चौडाइ नौ मिटरको छ ।
त्रिशूल
संसारको सबैभन्दा ठूलो त्रिशुल दाङको धर्नास्थित पाण्डेश्वर (धारापानी) महादेवको मन्दिर परिसरमा रहेको छ । त्रिशुलको उचाइ ५५.५ फिट र गोलाई ४४ इन्च रहेको छ । घोराही बजारबाट झन्डै आधा घण्टा दक्षिणतर्फ यात्रा गरेपछि यो मन्दिरमा पुग्न सकिन्छ । नदी पुग्न बबई नदी पार गर्नु पर्छ । चुरे पहाडको काखमा पाण्डेश्वर मन्दिर रहेको छ ।
दाङ उपत्यका
दाङ उपत्यका नेपालको सबैभन्दा ठुलो उपत्यकाका रूपमा मात्र परिचित नभई एसियाकै ठुला उपत्यकामध्ये एक मानिन्छ । पूर्वपश्चिम औसत लम्बाइ ९० किलोमिटर र उत्तर–दक्षिण चौडाइ औसत करिब ७२ किलोमिटर छ । दाङमा भित्री मधेशका समथर फाँट छन् । यी फाँटलाई चारैतिरबाट घेर्ने साना तथा मध्यम पहाडबाट निर्मित दुई उपत्यका रहेका छन् ।