दैलेख समाचारदाता
दैलेख, साउन १८ गते । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाही विसं २०७९ असोजमा मलेसिया जानुभयो । चार वर्षको छोरा, छ वर्ष र आठ वर्षकी दुई छोरी र श्रीमतीलाई छोडेर मलेसिया जानुभएका शाहीकी श्रीमती डल्ली शाहीले एक वर्ष नपुग्दै छोराछोरी छोडेर गाउँकै अर्को पुरुषसँग विवाह गर्नुभयो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी हुने महाबु गाउँपालिका–५, कासीकाँधकी गङ्गा वनसँग दोस्रो विवाह गर्ने सहमतिमा मलेसियाबाट शाहीले झन्डै चार लाख रुपियाँ पठाउनुभयो । ‘अविवाहित छु’ भनेकी गङ्गालाई विवाह गर्ने सहमतिमै पटक पटक गरी सुरेन्द्रले रकम पठाउने गरेको भए पनि असार ३२ गते नेपाल फर्किएपछि विवाहबारे कुरा गर्दा ती महिलाले “यति बेला भर्खरै बजै बितेकोले भेट्न नसक्ने भनेपछि पहिला कुरा लुकाए पनि आफू विवाहित भएको र छ वर्षको छोरा रहेको,” जानकारी पाएपछि शाहीले आफू ठगिएको बल्ल थाहा पाउनुभयो । नेपाल फर्केर पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग १० दिन सुर्खेतमा बिताएर साउन १० गते मूलघर दैलेखको लैनचौर नपुग्दै बाटोमै शाहीको हत्या भयो । सुरेन्द्रका बुवा बखतबहादुर शाहीले नेपाल फर्केको केही दिनअघि फोन गरी पहिला अविवाहित हुँ भनेकी ती महिलाले पछि विवाहित भएको, साथमा छोरा रहेको र त्यति ठुलो रकम खर्च भइसकेको अवस्थामा विवाह गर्ने वा नगर्ने भनी टेलिफोनबाटै सुरेन्द्रले सल्लाह मागेको विषयमा “जे गर्छौ तिमीहरू निधो गर तर केटी कस्ती हो, राम्ररी बुझ्नू” भनी आफूले राय दिएको बताउनुभयो । त्यसको केही दिनदेखि बेपत्ता भएका छोरा मृत फेला परेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले अविवाहित महिला हुँ भन्ने गङ्गा वनलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बरालले हत्या हुन सक्ने विभिन्न आधार देखिएको बताउँदै घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले अनुसन्धान गरिरहेको छ, वास्तविक कुरा पत्ता लागेपछि जानकारी दिन्छौँ ।” पछिल्लो समय वैदेशिक रोजगारीमा गएका र सामाजिक सञ्जाल प्रयोगकर्ताको दुरुपयोगले यस्ता किसिमका जघन्य अपराध भइरहेका छन् । अर्कोतर्फ, सम्बन्धविच्छेदका घटनासमेत बढ्दै गएको पाइएको छ । जिल्ला अदालत दैलेखका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जिल्ला अदालत दैलेखमा सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको बताउनुभयो । उहाँले जिल्ला अदालत दैलेखमा गत आवमा २३६ मुद्दा सम्बन्धविच्छेदको आएको बताउनुभयो ।
उहाँले अघिल्लो आवबाट जिम्मेवारीमा सरेका १२९ मुद्दा र गत आवको अवधिमा दर्ता भएका ४०४ गरी कुल ५३३ थान मुद्दामध्ये २३६ मुद्दा सम्बन्धविच्छेदको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “२३६ अर्थात् ४४.२७ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा थिए ।” वैदेशिक रोजगारी र सामाजिक सञ्जालको दुरुपयोगका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएको विश्लेषण जिल्ला अदालत दैलेखले गरेको छ । अधिकांश पति रोजगारीको सिलसिलामा विदेश हुने, पत्नी बच्चाबच्ची पढाउने बहानामा सहर बजार झर्ने र सामाजिक सञ्जालबाट परपुरुषसँग अवैध सम्बन्ध राख्ने समस्याले सम्बन्धविच्छेदका मुद्दा बढ्दै जान थालेको बताइएको छ ।