• १८ साउन २०८२, आइतबार

जनता आवासका घर प्रयोगविहीन

blog

अदानचुली गाउँपालिका–२ को मकैमा निर्माण पूरा भएर पनि प्रयोगमा नआएका भवन । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, साउन १८ गते । न्यून आयस्रोत भएका लक्षित वर्गका लागि जनता आवास कार्यक्रमबाट घर निर्माण गरिएका भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका चार वटा स्थानमा यस्ता सरकारी लगानीका घर निर्माण गरिएका भए पनि ती घर सेवाग्राहीले प्रयोगमा ल्याउन भने नचाहेका हुन् । 

अदानचुली गाउँपालिका–२ को मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा नौ वटा घर निर्माण भए पनि ती सबै घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताउनुभयो । बजेट पाउने आशामा अपायक पर्ने स्थानमा घर निर्माण गरिएका कारण पनि सेवाग्राहीले प्रयोगमै ल्याउन नचाहेको उहाँले जनाउनुभयो । तीनकोठे भवन निर्माणका लागि जनता आवास कार्यक्रमबाट प्रतिघर साढे तीन लाखभन्दा बढी लगानी गरिएको छ । यी घर छनोटमा परेका न्यून आयस्रोत भएका गरिब तथा दलित परिवारले आफैँ निर्माण गरेका हुन् । घर निर्माण हुनु गरिबका लागि सकारात्मक कुरा भएको बताउँदै उहाँले तर अहिले प्रयोगमा किन आउन सकेनन् भन्ने कुराको खोजी हुन आवश्यक रहेको बताउनुभयो । 

त्यसै गरी खार्पुनाथ गाउँपालिका–२ को सेराडिलको औल बस्तीमा पनि यस्तै सरकारी आर्थिक सहयोगमा ११ वटा घर निर्माण गरिएको भए पनि हालसम्म प्रयोगमा आउन नसकेको सो गाउँका स्थानीय कर्णबहादुर छत्यालले बताउनुभयो । जनता आवासको आर्थिक सहयोगमा निर्माण गरिएका घर भएको स्थान हिउँदको समयमा मात्र पशुवस्तु पाल्न बस्ने स्थान भएको तर ती घर निर्माण भएदेखि नै प्रयोगमा नआएको जानकारी उहाँले दिनुभयो । सो स्थानमा घर निर्माण गरिए पनि प्रयोगमा आउने, नआउने पहिले नै आवश्यक खोजी नगरेर घर निर्माण गर्ने कार्यले सरकारको लगानी बालुवामा पानी भएको उहाँले बताउनुभयो । 

यस्तै खार्पुनाथ गाउँपालिका–५ को याङ्चुमा पनि २७ जना दलित घरधुरीका लागि निर्माण गरिएका भवन प्रयोगमै नआई जीर्ण अवस्थामा पुगेको स्थानीय पारस शाहीले बताउनुभयो । छ वर्षअगाडि निर्माण गरिएका भवन गाउँपालिका केन्द्र भएकै स्थानमा भए पनि प्रयोगमा आउन सकेका छैनन् । यी घर निर्माणका लागि दुई लाख ७० हजार रुपियाँ जनता आवास कार्यक्रमले सहयोग गरेको थियो । यता सिमकोट गाउँपालिका–५ र ६ मा पर्ने गुम्बामा निर्माण गरिएका तीन वटा भवन पनि प्रयोगमा आउन सकेका छैनन् । यी भवन आवश्यकताभन्दा पनि पहुँचका भरमा निर्माण गरिएका कारण प्रयोगमा आउन नसेको स्थानीय सुरेश परियारले बताउनुभयो । 

छनोटमा पर्नुभएका लक्षित वर्गसँग पहिलेको घर पनि भएको र सहयोग आएको बजेटले नयाँ घर निर्माण गरेर बजेट सिध्याउने तर आफू नबस्दा नयाँ जस्तापाताले छाएका भवन प्रयोगविहीन अवस्थामा रहेको उहाँले जनाउनुभयो । जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले माग आउने भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताउनुभयो । यसरी सरकारी बजेट खर्च गरेर निर्माण गरिएका भवनको प्रयोगका लागि नयाँ उपाय लागु गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।