बुलबुले समाचारदाता
सुर्खेत, साउन १८ गते । वीरेन्द्रनगर नगरपालिका–७ का महावीर विकलाई यतिबेला भ्याइनभ्याइ छ । पहिला मिस्त्री काम गरेर घरधन्दा चलाउने गर्नुभएका उहाँ उक्त काम छोडेर फोहोरबाट मोहर बनाउन होमिनुभएको छ । वीरेन्द्रनगर बजारमा फालिएका प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै आठ सय रुपियाँभन्दा बढी उहाँले आम्दानी गर्ने गर्नुभएको छ ।
महावीरलाई गरिबीका कारण अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता थियो । फोहोरमा मोहर खोज्न थालेपछि त्यो समस्या हटेको छ । वीरेन्द्रनगरमा एके कबाड कलेक्सनमा उहाँले सङ्कलन गरेका कबाडीका सामान बेच्ने गर्नुभएको छ । यही सामान बेचेर पाँच जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ । प्लास्टिकको झोला, बोतललगायत प्लास्टिकका सामग्री टिप्दै जम्मा पार्ने समूह जताततै भेटिने गरेको उहाँले सुनाउनुभयो । उहाँले दैनिक १५ देखि ३० केजी प्लास्टिक बटुलेर कबाडीमा बेच्ने र कबाडीबाट इन्डस्ट्रीले प्रतिकेजी २५ रुपियाँका दरले किन्दै आएको छ । महावीर तीन वर्षदेखि फोहोर सङ्कलन गरेर बेच्ने काममा निरन्तर लागिरहनुभएको छ ।
सोही वडाकी लक्ष्मी नेपालीसमेत दुई वर्षदेखि फोहोरको डङ्गुरमा मोहर कमाउन व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो घरखर्च चलाउन र छोराछोरीलाई पढाउन यो आम्दानीले सहज भएको बताउनुभयो । कबाडी सामान सङ्कलन गरेर दिनमै एक हजार जम्मा गर्ने गरेको उहाँको भनाइ छ । लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम दैनिक एक हजारको कमाइ भनेको महिनामा ३० हजारको हो ।
लक्ष्मी र महावीर जस्ता व्यक्ति वीरेन्द्रनगरको मुख्य मुख्य चोकमा पानीको खुला बोतल, रेडबुलको खाली डिब्बा, फलामका टुक्रा बोरामा सङ्कलन गरेर नजिकै रहेका विभिन्न कबाडी केन्द्रमा बेच्न पुग्नुहुन्छ । दिनको पाँच सय रुपियाँदेखि एक हजारसम्म कमाउन सकिने उहाँले बताउनुभयो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यत्रतत्र प्रयोग भएका प्लास्टिकका सामान फालिएका हुन्छन् । वीरेन्द्रनगरको मुख्य चोक, होटेलनजिक यत्रतत्र फालेका कबाडीका सामान उहाँले टिप्ने गर्नुभएको छ ।
कबाडबाटै करोडौँको मालिक
रोजगारी नपाएको भन्दै कर्णालीबाट सयौँ युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कर्णालीका युवाको पहिलो गन्तव्य भारत हो । परिवारको सामान्य गुजारा चलाउन उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ पसिरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कबाडी सङ्कलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कबाडी साट्न ल्याइएका सामग्री र साटेको कबाडीसमेत बेचेर उनीहरूले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
भारतका चन्दनकुमार जैसवाल विगत पाँच वर्षदेखि वीरेन्द्रनगर–४ मा कबाडी सङ्कलनको व्यवसायमा व्यस्त हुनुहुन्छ । एके कबाड कलेक्सन दर्ता गरेर कबाडीका सामान खरिद गरेर बुटवल, नारायणगढलगायतका गाउँमा पठाउने गरेको उहाँले बताउनुभयो । जैसवालले महिनामा एक लाखभन्दा बढीको आम्दानी गर्ने गरेको सुनाउनुभयो । यस्तै सोही ठाउँमा कबाडी सामानको सङ्कलन गर्दै आएका भारतका मोहबद एकवालले कबाडीको सामान सङ्कलन गरेर नारायणगढ पठाउने गरेको बताउनुभयो । राम्रो आम्दानी हुने भन्दै उहाँले सामान सङ्कलनको काममा व्यस्त रहेको सुनाउनुभयो ।