• १७ साउन २०८२, शनिबार

सिँजा जोड्ने दुईवटा बेलिब्रिज पुल बन्ने

blog

सिँजा गाउँपालिका–३ सिँजा गाउँपालिकामा बाढिले क्षति पुर्याएपछि हाल जोखिम अवस्थामा रहेको पुल । तस्बिर : नेत्र शाही

नेत्र शाही 
जुम्ला, साउन १७ गते ।
अन्यौलमा रहेका जुम्लाको सिँजा गाउँपालिका र नाग्म गमगडि राजमार्ग जोड्ने २ वटा मोटरवल बेलिब्रिज पुल बन्ने पक्का भएको छ ।   

सिँजा गाउँपालिकाको योजना अनुसार वि.सं २०७९ सालमा विपद्ले क्षति पुर्याएको सिँजा गाउँपालिका जोड्ने कोटेसाँघुमा मोटरवल बेलिब्रिज पुल निर्माण हुने भएको हो । गाउँपालिका अनुसार यस पटक कोटेसाँघुको पुल तथा गाउँपालिकाबाट रनुखाना गाउँ जोड्ने मोटरबल पुल पनि निर्माण हुने भएको हो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार ति पुल निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ३९ लाख रुपियाँ समपुरक अनुदानबाट बजेट आएपछि गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सवैभन्दा ठूलो ठोस योजना दुईवटा पुल निर्माण कार्यमा प्रथामिकता दिएको हो ।

जम्मा सात करोड रुपियाँ पुल लागत भएका ति पुलको यस वर्ष तीन करोड ३९ लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढ्ने अध्यक्ष धितालले जानकारी दिनुभयो । सङ्घीय अनुदानसँगै गाउँपालिकाले एक/एक करोड बजेट विनियोजन गरेपछि नाग्म गमगडि राजमार्ग जोडिने भएको छ ।

जुम्लासहित कर्णालीमा वि.सं २०७९ सालमा आएको बाढीले सिँजा गाउँपालिका–३ जोड्ने पुल भत्किएको थियो । पुल भत्किएपछि स्थानीयलाई आवतजावत समस्या हुँदै आएको अवस्थामा सो पुल पनि निर्माण हुने भएको छ । कोटेसाँघुमा पुल नहुँदा वडा नम्बर २ र नाग्म गमगडि राजमार्गबाट आउने मानिसहरु आचार्यलिहीबाट घुमेर आउन बाध्य भएको छ ।

अहिले गाउँपालिकाले दुईवटा मुख्य पुलहरुका लागि बजेट विनियोजन गरेपछि स्थानीय खुशी भएका छन् । स्थानीय हिम्मत खत्रीका अनुसार कोटेसाँघु र रनुखानाका पुल सिँजाका जनताको महत्त्वपूर्ण आवतजावत हुने पुल भएकाले यस पटक गाउँपालिकाले निकास दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।