• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा ९६ वटा मुलुकका पर्यटक

दुई लाख ३० हजार भारतीय र २३ हजार विदेशी पर्यटकले गरे लुम्बिनी दर्शन

blog

लक्ष्मण पौडेल

भैरहवा, पुस २१ गते । कोराेना महामारीबाट थलिएको पर्यटन क्षेत्रमा कोरोनापछि अन्तर्राष्ट्रिय पर्यटक आउन थालेका छन् । यसबाट पर्यटन व्यवसायी उत्साहित छन् । गत  वर्ष ९६ मुलुकका पर्यटक र तीर्थयात्रीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् । सन् २०२१ मा ६८ मुलुकका एक हजार १९७ विदेशी पर्यटक यहाँ आएका थिए । २०२२ मा दुई लाख ३० हजार ४१३ जना भारतीय पर्यटक आएका थिए ।

चिलीबाट २३ पर्यटक, चीनबाट ४३२ पर्यटक यहाँ आएका छन् । रुसको आक्रमणबाट तहसनहस भएको युक्रेनका पनि २० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२१ मा भियतनामबाट १५ जना आएका थिए भने २०२२ मा सबैभन्दा बढी छ हजार ६७३ जना आएका छन् । २०२१ मा थाइल्याण्डबाट १० जना आएकोमा गत वर्ष चार हजार ३८० पर्यटक यहाँ आएका छन् ।

श्रीलङ्काबाट एक हजार ८८५ र म्यानमारबाट एक हजार ४९५ पर्यटक लुम्बिनी आएका छन् । जर्मनीबाट ९५०, फ्रान्सबाट ६६१, नेदरल्याण्ड्सबाट ४७९, स्पेनबाट ३७३, इटलीबाट २०५ र डेनमार्कबाट एक सय पर्यटक आएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार क्यानाडाबाट १२८, बेल्जियम १३९, अष्ट्रेलियाबाट २४०, दक्षिण कोरियाबाट ६१७ र जापानबाट १९३ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

गत जेठमा बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवागमनपछि भारतीय पर्यटक पनि बढेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । 

सन् २०२२ मा दुई लाख ३० हजार ४१३ जना भारतीय पर्यटक आएका थिए ।“यसअघि कुनै पनि वर्ष यति धेरै सङ्ख्यामा भारतीय पर्यटक आएका थिएनन्”– लुम्बिनी विकास कोषका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले भन्नुभयो, “मोदीको लुम्बिनी भ्रमणका कारणले यस क्षेत्रको ब्राण्डिङ गर्न सहयोगी बन्यो ।”

अक्टुबर, नोभेम्बर र डिसेम्बर तीन महिनामा मात्रै एक लाख एक हजार ६२१ पर्यटक आए । “भारतीयहरु मोदीप्रति निक्कै आस्था र विश्वास राख्छन् । त्यसैले उहाँ जाने घुम्ने ठाउँ पछ्याउँदै पुग्न पनि भारतीय निक्कै लालायित हुन्छन्”– अधिकृत गौतमले भन्नुभयो । यसले कोभिडपछि थलिएको यहाँको पर्यटन प्रवर्धनलाई राम्रो ऊर्जा थपेको उहाँले बताउनुभयो । लुम्बिनीको प्रचार भारतभर फैलिनु नेपालीको शिर विश्वभर उँचो हुने अवसर भएको उहाँले बताउनुभयो । २०२१ मा ४३ हजार ७३२ भारतीय यहाँ आएका थिए । २०२० मा ३७ हजार २९६ भारतीय आएका थिए ।