• १२ असोज २०८१, शनिबार

पाँच सय ज्येष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक

blog

सुनसरीको दुहबी नगरपालिकाद्वारा सिरक वितरण तस्विर - जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, पुस २० गते । सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरी पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई बढ्दो जाडोबाट बच्न फाइबर सिरक वितरण गरेको छ । केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्यनजर गरी फाइबर सिरक वितरण गरेको नगर उपप्रमुख मेनुका खतिवडाले जानकारी दिनुभयो ।

खतिवडाका अनुसार वडाको माग र आवश्यकता अनुसार दुहवी नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका सबै वडामा फाइबर सिरक वितरण गरिएको हो । प्रत्येक वडामा कममा ३५ जना र बढीमा ५० जानलाई फाइबर सिरक वितरण गरेको खतिवडाले जानकारी दिनुभयो ।

उता, दुहवी वडा नम्बर ८ ले पनि वडाका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति र एकल महिलालाई जाडोबाट बच्न फाइबर सिरक वितरण वडाध्यक्ष तारिकचन्द सरदारले जानकारी दिनुभयो ।

वडामा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकलाई न्याय र सम्मान गर्न तथा उनीहरुको मनोबल उच्च राख्न सिरक वितरण गरेको वडा सदस्य इन्दिरा देवी निरौलाले बताउनुभयो । सिरक वितरण कार्यक्रममा वडा सदस्यहरु नबी हुसेन, इन्दिरा देवी निरौला, कलावती माझी,सरिता मुसहर्नीलगायतको उपस्थिति थियो ।