• २० असोज २०८१, आइतबार

रोकियो नदी नियन्त्रणका काम

blog

शालिग्राम नेपाल 

चितवन, पुस १६ गते । दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म पक्की पर्खाल (तटबन्ध) लगाउने  कार्य रोकिएको छ । पूर्वी चितवनको लोथरदेखि सौराहासम्म राप्ती नदीको कटान र डुबानले मानव बस्ती जोखिम रहँदै आएको थियो । यो समस्यालाई समाधान गर्न पक्की पर्खाल लगाउने गरी अगाडि बढेको बहुवर्षे योजनाको काम रोकिएको हो । 

आर्थिक वर्ष २०७७/७८ को साउनबाट पूर्वी क्षेत्रको बृहत् विकास तथा नदी कटान रोक्नका लागि निर्माण सुरु भएको परियोजना सम्पन्न गर्नका लागि थप रकम मागसहितको विस्तृत योजना समेटिएको योजनाको फाइल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट फिर्ता आएको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो । 

१६ अर्ब रुपियाँको लागतमा निर्माण हुने यो परियोजनाबाट पूर्वी चितवनका बासिन्दासँगै पर्यटकीय क्षेत्र सौराहाको सुरक्षासँग पनि जोडिएको थियो । नदी नियन्त्रणका केही काम भए पनि थप कामका लागि बजेट माग गर्न मन्त्रालय लगेको फाइलमा कुनै कारबाही नभएर फिर्ता आएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइमा यो काम गर्ने योजना थियो । गत वर्षबाट निर्माण सुरु गरिएको यो काम हालसम्म करिब १५० मिटर बनेको छ ।