• २० असोज २०८१, आइतबार

बाह्रै महिना सडक चल्ने बनाउन माग

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, पुस १६ गते ।  काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमध्ये डाँडापारि क्षेत्रका दुईवटा गाउँपालिका जोड्ने सडक व्यवस्थित र राम्रो नहुँदा दुई पालिकाका बासिन्दाले सधैँ सडकको दुःख झेल्न बाध्य हुँदै आएका छन् । 

महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका जोड्ने सडकमा बाह्रै महिना सवारी चल्ने अवस्था नहुँदा स्थानीयवासीले बर्खा र हिउँदमा नै सडकको दुःख बेहोर्न बाध्य भएका हुन् ।

दुवै गाउँपालिका जोड्ने सडक राम्रो नभएका कारण बिरामीलाई अस्पताल पु¥याउन तथा सदरमुकाम धुलिखेलसम्म आउन सास्ती बेहोरेका डाँडापारिवासीले धेरै सडकभन्दा एउटा सडक दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका दिलदास श्रेष्ठले महाभारत गाउँपालिका जोड्ने सडक निर्माण सुरु गरिएको एक दशकभन्दा बढी समय हुँदा पनि राम्रो सडक बन्न नसकेको बताउनुभयो । 

“पछिल्ला केही वर्षदेखि महाभारत गाउँपालिकाको केन्द्र तथा विभिन्न वडामा जाने सडकका लागि व्यापक बजेट आएको छ तर उक्त बजेटबाट कतै पनि राम्रो काम भने भएको छैन,” श्रेष्ठले थप्नुभयो । 

उहाँले गाउँपालिकाको केन्द्र जोड्ने एउटा पनि सडक राम्रो नहुँदा वर्षायाममा बिरामीलाई समयमा नै अस्पताल पु¥याउन नसकिने अवस्था रहेको बताउनुभयो । “महाभारत आउनका लागि धेरैवटा सडक बनेका छन् तर कुनै पनि बाटो व्यवस्थित र दिगो छैनन्, सडक व्यवस्थित नहुँदा सदरमुकाम जानसमेत जोखिम मोल्नुपर्ने अवस्था छ,” श्रेष्ठले थप्नुभयो । 

महाभारत गाउँपालिका–४ का सवारीचालक राजन तामाङले महाभारत गाउँपालिका जोड्ने सडक राम्रो नहुँदा ज्यानै जोखिममा मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । “महाभारत गाउँपालिका जोड्ने दुई÷तीनवटा सडक बनाइएको छ तर स्थायी बाटो कुनै पनि भएन, जसले गर्दा हामी चालक र यात्रु दुवैले ज्यान जोखिममा राख्नुपरेको छ,” चालक राजन तामाङले थप्नुभयो । 

उहाँले सडक राम्रो नहुँदा जहाँ बढी जोखिम त्यही स्थानमा सडक उकालो तथा वर्षाका कारण बनेका खाल्डाहरूबाट सवारी चलाउनुपर्ने बाध्यता रहेको भन्दै सडक राम्रो नहुँदा तीन–चार घण्टामा पुग्ने स्थानमा आठ घण्टाभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो । 

यसैगरी महाभारत गाउँपालिका–४ का धनबहादुर बम्जनले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सडकका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन गरे पनि खासै राम्रो काम नभएको बताउँदै विभिन्न सडकमा छुट्याइने बजेटलाई एकीकृत गरी एउटै बाटोलाई दिगो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

खानीखोला गाउँपालिका–७ का बलाराम थापामगरले गाउँपालिका जोड्ने सडक राम्रो नहुँदा सदरमुकाम र अन्य स्थानमा जान समस्या हुने गरेको दुखेसो पोख्नुभयो । 

उहाँले सरकारले हरेक वर्ष विभिन्न सडकमा विनियोजन गर्ने बजेटलाई एउटै सडकमा विनियोजन गरेर व्यवस्थित र दिगो सडक बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।