• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट

blog

काठमाडौँ, पुस १४ गते । सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै हुनुहुन्छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उहाँले बताउनुभयो ।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवा निगमलाई २०७७ मङ्सिरमै अनुमति दिइसकेको छ । निगमले जहाजको म्याक्सिम सर्टिफिकेटेड टेकअफ वेट (एमटीओडब्लू) अधिकतम उडानयोग्य तौललगायतका आधारमा भूमिस्थ सेवा शुल्क लिनेछ । गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि विभिन्न सेवा शुल्कमा छुट दिँदै आएको छ । त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हवाई सेवाले हाल भूमिस्थ सेवामा ५० प्रतिशत छुट लिँदै आएका छन् । 

प्राधिकरणले पोखरा विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले गरेको क्यालिब्रेसन फ्लाइटको पूर्ण प्रतिवेदनका आधारमा एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरामा व्यावसायिक उडान गर्न अनुमति दिने प्रक्रिया सुरु हुने प्रवक्ता निरौलाले बताउनुभयो ।

पोखरा विमानस्थलमा उडान गर्न जजिरा एयरवेज र हिमालय एयरलाइन्सले चासो देखाए पनि एआईपी सार्वजनिक गरेपछि अनुमतिको प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्ने यात्रुलाई दुईवटा ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको हो ।  

विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग छ । वार्षिक ८० लाख हाराहारीमा यात्रुले हवाई सेवा लिने अपेक्षा गरिएको यो विमानस्थलमा साना–ठूला गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको प्राधिकरणले जनाएको छ ।  

यता गत कात्तिक १७ गतेदेखि  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले भने यात्रु नपाएको भन्दै उडान रोकेको छ । 

एयरलाइन्स स्रोतका अनुसार रोकिएको उडान पुनः कहिलेबाट उडान हुन्छ भन्ने निश्चित छैन । हिमालयले उडान रोकेपछि अब उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै साताको तीन उडान गर्ने भएको छ ।