• ८ जेठ २०८१, मङ्गलबार

हिउँद (कविता)

blog

हिउँद

सेतो बर्काे ओढेर

निस्किसक्यो 

गर्दै क्याटवाक

उँघ्दै बसेको छ

कोही 

अँगेनाको डिलमा

नेपथ्यबाट ठोकिन्छ आवाज

ए छोरी !

बाख्रालाई दुधिलो (डाले घाँस)

हाल्दे है 

म भकारो फालेर 

पत्कर बिछ्याइ

आएर मस्काउँछु ढिँडो

बरू त्यो तिहुन खनाइ

ढिडाको पानी बसाल्दै गर है 

सखारै जानुछ

पाटेबारीको कोदो टिप्न

अहो ! हिउँदका दिन 

साँदेको भोगटेझैँ कति मीठा !

खासाको खास ज्याकेटको

गोजीभरि हालेर मकैभटमास 

पार्दै कुत्रुङ, कुत्रुङ

मूलाको डुकु चबाउँदै 

अघि निस्किसकेछ हिउँद

पदचाप पछ्याउँदै 

लौ म पनि निस्किएं

एक गिलास 

मोहीको स्वादभन्दा 

मीठो 

हिउँदे घामको स्वाद लिदै !