• ११ असार २०८१, मङ्गलबार

पुरानो संसद् भवन पुनर्निर्माणको तयारीमा

blog

सिंहदरवारस्थित रहेको पुरानो संसद भवन । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ९ गते । सिंहदरबारभित्र रहेको पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माण गरिने भएको छ । इतिहास बोकेको उक्त भवन पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले चासो देखाएपछि सो भवन पुनर्निर्माण हुने भएको हो । 

कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै पुनर्निर्माणका लागि नाँपजाँच गर्न भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाउन आग्रह गरेको छ । त्यहाँ रहेका पुराना ऐतिहासिक सामानहरू नहटाउँदासम्म नापजाँच गर्न नमिल्ने भएकाले  व्यवस्थापन गरिदिन आग्रह गरेको छ । 


मुलुककै पहिलो संविधानको रूपमा लिइने ‘नेपाल सरकार : वैधानिक कानुन’ २००४ पनि तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले यही भवनमै घोषणा गर्नुभएको थियो । तर यो संविधान कार्यान्वयनमा आउन भने सकेन । 

मुलुककै पहिलो संविधानको रुपमा लिइने ‘नेपाल सरकार वैधानिक कानुन’ २००४ पनि तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले यही भवनमै घोषणा गर्नुभएको थियो । तर यो संविधान कार्यान्वयनमा आउन भने सकेन । 

यही संसद् भवनमा भारदारी सभा पनि बसेको थियो । त्यसपछि संविधान सभाको पहिलो निर्वाचनसम्मका सबै संसद् बैठक यही भवनमा बसेको थियो । संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि सङ्घीय संसद् बैठक बानेश्वरमै बस्दैआएको छ । 

२०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि उक्त पुरातात्त्विक भवन प्रयोगविहीन भएको थियो । भवनको पुनर्निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न विशेष भवन निर्माण आयोजना समन्वय समितिले सङ्घीय संसद् सचिवालयलाई अनुरोध गरेको हो । 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख मचाकाजी महर्जनका अनुसार यसको अध्ययन गरेपछि मात्र पुरै भत्काएर पुनर्निर्माण गर्ने कि रेट्रोफिटिङ मात्र गर्ने भन्ने निष्कर्षमा चाँडै पुगिनेछ । 


उहाँले भन्नुभयो, ‘सङ्घीय संसद् सचिवालयले भित्र रहेका पुराना ऐतिहासिक महत्त्वका सामानको व्यवस्थापन गरेपछि हामीले त्यसको नापजाँच तथा अध्ययन गर्नेछौँ । त्यसको अवस्था हेरेपछि मात्र पुरै भत्काएर पुनर्निर्माण गर्ने कि आंशिक रूपमा रेट्रोफिटिङ गर्ने टुङ्गो लाग्छ ।’ 

यो भवन भूकम्पपछि प्रयोगमा नआएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले २०७६ सालको पुस महिनामा यो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव दिएको थियो । यसको प्राविधिक अध्ययन सकिएपछि मात्र डीपीआर तयारको प्रक्रिया थालिने उहाँको भनाइ छ । 

सङ्घीय संसद् सचिवालयले भित्र रहेका पुराना ऐतिहासिक महत्त्वका सामानको व्यवस्थापन गरेपछि हामीले त्यसको नापजाँच तथा अध्ययन गर्नेछौँ । त्यसको अवस्था हेरेपछि मात्र पुरै भत्काएर पुनर्निर्माण गर्ने कि आंशिक रूपमा रेट्रोफिटिङ गर्ने टुङ्गो लाग्छ ।

भवनमा भूकम्पले क्षति गरेपछि वर्षाको पानीबाट जोगाउन प्लास्टिकले छोपेर राखिएको छ । यो भवनलाई विदेशी पाहुना सत्कार भवनको रूपमा विकासका लागि प्रस्ताव भएको थियो । तर, अहिले यो कुन प्रयोजनका लागि पुनर्निर्माण गरिदैछ भन्ने कुरा खुलाइएको छैन । पहिले राणाहरूले आफ्नो निवासमा भेट्दा पारिवारिक र आन्तरिक सुरक्षाका धेरै विषयहरू विदेशी पाहुनालाई थाहा हुने भएकाले यो भवनलाई पाहुना भेटघाट गर्ने थलोको रूपमा प्रयोग गरेको पाइन्छ । 


सुरुमा यो भवनलाई राणाहरूले भोजभतेर, नाचगान तथा  रमाइलो गर्ने ठाउँका रूपमा प्रयोग  गर्दैआएको देखिएको जानकारलाई उद्धृत गर्दै संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेयले बताउनुभयो ।  

भूकम्पले क्षति गरेको आठ वर्षपछि मात्र यसको पुनर्निर्माण गर्न लागिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. पाण्डेयले पुरानो सङ्घीय संसद् भवनभित्रका सामानको व्यवस्थापनको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।  

भवनभित्रका पुराना ऐतिहासिक सामानलाई व्यवस्थापन गरेर विशेष भवन आयोजना कार्यालयलाई यसको अध्ययन र नापजाँच गर्न सहज बनाइने बताउनुभयो । यो निकै पुरानो ऐतिहासिक महत्त्वको भवन रहेका कारण पनि यसको मौलिकता नमेटिनेगरी यसको पुनर्निर्माण गरिनुपर्ने उहाँको भनाइ छ ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।