तिमी यति उदास र दुःखी किन देखिन्छौ ? उससँग यसको कुनै उत्तर छैन । बरु प्रश्नतिर हेर्छ । उही आत्मीय मुस्कान । सधैँझैँ मुस्कुराइरहेको ।
मैले त सोचेकी थिएँ, हाम्रो निकटतापछि तिमी झन् हर्षित हुनुपर्ने, तर... ।
प्रश्न आत्मीय मुस्कानकै । यसमा पनि उसले केही उत्तर दिन सकेको छैन । दिनु पनि कसरी वा कसरी स्पष्ट पार्ने ? कतै केही त अवश्य पनि छ, जुन अपुग भइरहेको छ । सोच्छ ऊ र फेरि हेर्न थाल्छ आत्मीय मुस्कानको अनुहारतिरै ।
हो भनेको, भन न । हेर, जीवन भनेको हर्षका साथ जिउनुपर्छ, भोलि के थाहा, के हुन्छ । जति छ, त्यतिमै सन्तुष्ट र हर्षका साथ बाँच्न सिक्नुपर्छ ।
आत्मीय मुस्कानको यो कथन उसका लागि हुन त कुनै कर्मशील विदुषीको भन्दा कम लागेको छैन, तर पनि कतै केही त छ, जुन ऊ भन्न चाहन्छ, तर सकेको छैन अथवा यसो भनूँ, कतै केही छ उसका लागि सधैँ अपूरो जस्तो लाग्ने । के ? यसको ठेट र स्पष्ट उत्तर भने छैन । यसैले त मलिन भएरै आत्मीय मुस्कानको मुहार हेरिरहन्छ । हेर्छ र आफ्नो दृष्टि भुइँतिर पार्छ; उत्तर खोज्न होइन, केही छिन घोरिनलाई ।
म त तिमीसँग नजिक हुनुको अर्थलाई प्राप्ति नै मान्दै आएकी छु, तर तिमी भने... !
यहाँनेर केही अपूरो वाक्यांश आत्मीय मुस्कानको उसले सुनेपछि ऊ घोरिन्छ । हुन त ऊ अल्पभाषी हो, तर यति पनि अबुझ त होइन, जसबाट कुनै कुराको अर्थ नै नबुझोस् र त्यसको उत्तर दिन नसकोस्, तर पनि... ।
यसैले त मलाई कहिलेकाहीँ तिमीप्रति क्रोध उम्रिने गर्छ र तिम्रो कुनै कुराको उत्तर दिने गर्दिनँ । आत्मीय मुस्कानले यसो भनेपछि उसको मुटुभित्र कतै ‘प्लेट’ चलायमान हुन्छ र भूकम्प जाने सङ्केत देखिन्छ । अनि त्यसपछि ऊ...?
०००
ऊ भागिरहेको छ, दौडिरहेको छ– यो भीडबाट, यो हल्लाबाट, यो सहरबाट । किन ? प्रश्न स्वतः पनि उभिन्छ, तर उत्तर भने सजिलै प्राप्त होला, यो निश्चित भने छैन । हो, ऊ भागिरहेको छ– त्यो मुस्कानबाट, त्यो रूपबाट, त्यो अतीत सामीप्यबाट । यद्यपि उसलाई थाहा छ, त्यो ठाउँ । उसले उहिल्यै बनाएको हो त्यो ठाउँको खाका, उसको स्वप्न ठाउँ । तीन पहाडी टाकुरा, त्यसबीचमा खोच, कन्दरा । टुप्पामा बादलको डेरा, घामको सामान्य स्पर्श । पूरा एकान्त । सानो मात्र आवाज उम्रिए प्रतिध्वनित हुने खाँेच, कन्दरा । ऊ उहिल्यै आफ्नो त्यस स्वप्न स्थानमा जान चाहेको हो । खोजी पनि गरेकै हो । कहिले समय मिलेनछ त कहिले उसलाई मौका । तैपनि जान चाहन्छ त्यो ठाउँ । त्यो ठाउँ, उसले आफ्नो आदर्श मृत्युको कल्पना गरिएको यथार्थ स्थान । त्यही स्थानमा पुगेर विसर्जन गर्न चाहन्छ असीम छटपटीको व्यापक ऐकान्तिकता । अहिले पनि मानौँ, लाखौँ पीडाको जुलुसले उसलाई लखेटिरहेका छन् र ऊ भागिरहेको छ, ती पीडाको जुलुसदेखि डराएर होइन, पीडालाई नै दौडाउन ऊ दौडिरहेको भान हुन्छ । अहिले कुरा मानौँ यति... ।
०००
यति भने पनि ऊ दौडनुको यथार्थ भने खुट्टिने छैन । ऊ दौडिरहेको छ । दौडँदादौडँदै टक्क अड्छ । उसको आँखानेरै एउटा मुस्कान आएर उभिन्छ । ऊ तिरमि¥याउँछ । यही मुस्कान त हो, जसका लागि ऊ एकाकी बनेको, एकोहोरो मोहित बनेको । एउटा नजानिँदो त्यो आफन्ती रूप । आफ्नो अथाह पीडाको सागरबीच लखतरान हुँदा आश्वासनको बुँदमय बोध । यही मुस्कान त हो, जसका लागि सधैँ निकट उसलाई आवश्यक भएको । यसैले ऊ त्यस मुस्कानको केन्द्र–परिधिबाट टाढिनै चाहेको छैन; निकट, जतिसक्दो निकट हुन चाहन्छ –सपनामा होइन, बिपनामै पनि उही आत्मीय मुस्कान । कहिलेकाहीँ भने उसले जति चाहे पनि मुस्कान आत्मीय नबनेर टाढा–टाढा गएको प्रतीत हुन्छ । ऊ सोच्छ, फेरि जीवनको यो एक क्षण पनि पीडाले छोडेको छैन । अनि एक्लो हुनुको विराट अनुभूतिले फेरि उसलाई गाँज्न थाल्छ र ऊ बेतोडिन्छ । सुइँसुइँ । कहिले पहाडको टाकुरा । कहिले समथर भूमिको क्षितिज । दौडेको–दौडेकै छ, मुटुभित्रको अनन्त कन्दरा बोकेर । हुन त ऊ जति दौडिए पनि उसको आत्मीय मुस्कान भने टाढिएको छैन, मानौँ उसको छाया भएर उसैको पछिपछि आइरहेछ र प्रश्न गरिरहेछ– कहाँ ? यसरी भागेको किन ? कसका लागि ? के कारण ? ऊ एकछिन चकरिन्छ । भाउन्न हुन्छ । रोकिन्छ । धरमर पाइलासँगै भूमि पनि अडिन्छ, यही बोध हुन्छ । टक्क अडेर उभिन्छ । ऊ उभिएर आँखा चिम्लिन्छ । चिम्लेर विम्ब बनाउँछ । सर्रसर्र उही आत्मीय मुस्कान उसको नजिकै आइपुग्छ । अनुभूत गर्छ, अहँ–अब भाग्न सकिने छैन । अनि बिस्तारै भूमिमा उत्तानो पर्छ । दुई हातलाई पैmलाएर आकाशतिर ताक्छ । आकाश, एउटा विशाल नीलो दह । पहिलापहिला भएको यही नीलो आकाश देखेर उसलाई नजानिँदो पाराले आत्महत्या गर्न मन लागेको, तर अहिले कताकता अदृश्य मोहले तानेको बोध हुन्छ । फेरि ऊ आकाशतिर हेरिरहन्छ एकोहोरिएर... ।
०००
एकोहोरिएर भागिरहेको ऊ । यथार्थमा कुनै कथाको पात्रजस्तो होइन, आफ्नै जीवनको प्रतिरूप भएर दौडिरहेछ । पात्र त उसले सोचेको हो । सोच्नुको कारण छ । जीवन एउटा कथाभूमि नै हो, मान्छे त्यसको पात्र र बाँच्नु नेपथ्यको चरित्रक्रिया । ऊ यो सोच्तैसोच्तै दौडिरहेको । अनि दौडँदा–दौडँदै बीच बाटोमा एक्कासि कसैले उसलाई रोकिदिन्छ । रोकिएर हेर्छ । अगाडि एक जोडी युवकयुवती । मलिन अनुहार, तर एकटक सम्मोहित आँखा, मानौँ सम्मोहित भएर कतै तानिँदै गइरहेका हुन् । तिनैले बाटो रोकेको उसको । ऊ प्रश्नशील भएर हेर्छ ।
जोडी सोध्छन्– “दाइ, यता चिहानपोखरी कता पर्छ ?”
ऊ घोरिन्छ– चिहानपोखरी ?
यो स्थानमा उसले पहिलोचोटि सुनेको हो ।
यसैले भन्छ– “भाइबहिनी हो, मलाई थाहा छैन ।”
उनीहरूको मुहारमा एक प्रकारको क्रोध उम्रिन्छ– “तपाईंलाई के थाहा छ त ?” उसले भन्छ– “मलाई त मुहानपोखरी मात्र थाहा छ, तर तिमीहरू चिहानपोखरी किन खोज्दै छौ ?”
उनीहरूको उत्तर– “हामी हाम्रो प्रेम सुरक्षित स्थान खोज्दै छौँ ।”
उसले यो पनि बुझेको छैन, यसैले सोध्छ–“किन ?”
उनीहरूको कथन– यस युगमा पनि प्रेम गर्न यति दुर्लभ स्थिति किन भएको ? ऊ ट्वाल्लिन्छ– दुर्लभ... !
उसले कुनै उत्तर दिन नसकी ट्वाल्ल परेर तिनीहरूको अनुहार हेरिरहन्छ । भन्न त उसलाई यो भन्न मन लागेको हो, ‘प्रेम भनेजस्तो सुलभ भएको भए, दुर्लभको कुनै ठाउँ नै हुने छैन नि ।’
उनीहरू भन्दै छन्– “साँच्ची यस युगमा प्रेम गर्न यति कठिन किन दाइ ?” यहाँनिर ऊ झन् मौन हुन्छ । यसको उत्तर उससँगै छैन । यसैले “म पनि त यसैको उत्तर खोज्न दौडिरहेछु” भन्न त यो नै चाहन्छ, तर मौन हुन्छ र मौन भएर उनीहरूलाई हेरिरहन्छ ।
उसले केही सम्झेझैँ गरी बरु सोध्छ– “एउटा कुरा भन, तिमीहरू चिहानपोखरी किन खोज्दै छौ ?”
उनीहरू सम्मोहित चरित्रझैँ एकसाथ बोल्छन्– “हामी हाम्रो प्रेम टुङ्ग्याउन सक्छौँ, टुक््रयाउन होइन । यसैले हामी हाम्रो प्रेम आफूभित्र लुकाएर देहत्याग गर्न खोज्दै छौँ ।”
ऊ झस्किन्छ– अर्थात् आत्महत्या ? प्रेमका लागि आत्महत्या नै गर्नु त उचित होइन नि भाइबहिनी हो !
उनीहरूको तर्क– हामीलाई लागेको छ, मर्नुभन्दा बहुलाउनु राम्रो होइन, बहुलाउनुभन्दा मर्नु राम्रो हो, यसैले ।
ऊ झस्किन्छ र केही छिनलाई आफूभित्रको विशाल एकाकीपना उसले बिर्सन्छ, अनि तिनीहरूलाई सम्झाउन अगाडि बढ्छ, तर ती जोडी उसको सोचाइको परिधिबाट अघि नै बिलाइसकेछन् । ऊ दायाँबायाँ हेर्छ । कतै केही देखिएको छैन । ऊ मात्र एक्लो । यो के ? कतै यो भ्रम ?
०००
भ्रमलाई सोच्तै ऊ आफ्नो बेतोडिएको दौडाइ बिर्सन्छ, अनि लुरुक्क परेर ओरालिएर जान्छ । तल फेदमा पुगेर यताउता हेर्छ । एउटा सानो काठे खाजा पसल देख्छ । ऊ त्यहीँ पुगेर बस्छ र एउटा लामो सुस्केरा फाल्छ । भित्रतिर हेरेर साहुनी दिदीलाई एक कप कालो चिया माग्छ ।
चिया आएपछि बिस्तारै पिउँदै यताउति हेर्छ । त्यही बेला उसको दृष्टि अलि अगाडिको एउटा पानी घ्याम्पोनेर पुगेर अडिन्छ । त्यहाँ एक सानी बालिकाले कप र प्लेट पखालिरहेकी छन् । बालिका सानी, डल्ली, सानासाना आँखा भएकी । उसलाई नजानिँदो आकर्षक लाग्छ । बालिकाको काम गराइले होइन, काम गरिरहेको सानो हात र उनका अधरमा रहेको एउटा अबोध विजयी मुस्कान देखेर । त्यो मुस्कानको कुनै तुलना छैन । त्यो मुस्कानमा मानौँ ब्रह्माण्ड आएर टक्क अडेको छ, बालक्रीडा हेर्नलाई । बालिका पखालिसकेको कप–प्लेट बोकेर भित्र जान्छिन् । टेबुलमा राख्छिन् । साहुनी दिदीले ‘खाजा खाऊ छोरी, धेरै पानी नखेल’ भनेको सुनिन्छ ।
बालिका खाजाको प्लेट बोकेर उसको नजिकैको मेचमा बस्न आइपुग्छिन् । ऊ हेरिरहन्छ, कति अबोध र आकर्षक मुहार । कुनै चिन्ता छैन, पीडा छैन, समस्या छैन, चोट छैन । छ भने केवल बाँच्नुको अथाह परिवेश । उसलाई ती बालिकासँग कुरा गर्न मन लाग्छ ।
उसले सोध्छ– “नानी, यति सानी भएर पनि भाँडा माझ्ने काम गर्नु हुन्छ त ! खाजा पो खानुपर्छ त ।”
आफ्नो गोरो र डल्लो गालालाई पैmलाउँदै उसै त सानो आँखा झन् सानो पारेर हाँसेर बोल्छिन्– “अङ्कल, घरको काम हो, पहिला सकेर खाजा खानुपर्छ नि ।”
त्यसपछि बालिका हाँसीहाँसी खाजा खान थाल्छिन् । ऊ मोहित भएर एकटक ती बालिकालाई हेरिरहन्छ र आफ्नो असीमित अथाह दौडाइलाई बिर्सन पुग्छ । लखतरान परेको शरीरलाई शीतलता प्राप्त भएको अनभूत गर्छ । अनि हेरिरहन्छ बालिकाको बालसुलभ क्रिया ।
कति अबोध मुहार ! कति गहिरो मुस्कान ! उसलाई केही अनौठो अनुभूतिले छोएजस्तो लाग्न थाल्छ र सोच्छ, “मान्छेलाई बाँच्न अन्ततः के नै चाहिने रहेछ र जीवनमा ?”
०००