• ११ असार २०८१, मङ्गलबार

पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन

blog

काठमाडौं, पुस ८ गते । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट  ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो । 

चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर व्यावसायीको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले पटक पटक आन्दोलन गर्दै आएको थियो । आन्दोलनकै क्रममा केही दिन व्यावसायीहरुले ढुवानी बन्द गरेका थिए।  जसका कारण केही दिन पदार्थको ढुवानी सेवा प्रभावित भएको थियो । 

आयल निगमले अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको बताएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८ देखि १० प्रतिशतले वृद्धि भएको छ । भाडा वृद्धि नियमित प्रक्रिया भएको उहाँले बताउनुभयो । 

उपाध्यायले भन्नुभयो, ‘गत चार वर्षदेखि उही भाडादरमा व्यावसायीहरुले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका थिए । अहिले भाडादर केही बढाउनुपर्ने माग पनि थियो । यही आधारमा नियमित प्रक्रिया अनुसार नै भाडामा वृद्धि भएको हो । ’ बजारमा धेरै वस्तुहरुको लागत बढेको र मेसिनरी पाटपुर्जाको पनि लागत बढेकाले मूल्यवृद्धि समायोजन नियमित प्रक्रिया नै भएको उहाँको भनाइ छ । 

ट्याङ्करको भाडा बढाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव उर्मिला केसीको संयोजकत्वमा समिति गठन भएको थियो । जसमा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियर विभाग प्रमुख, यातायात व्यवस्था विभागका इन्जिनियर र निगमका कर्मचारीसहितको टोलीले अध्ययन गरेको थियो । 

समितिले तयार पारेको उक्त प्रतिवेदन पुल्चोक इन्जिनियरिङ संस्थानमा पठाइएको थियो । त्यहाँबाट विज्ञ टोलीको समुहले अध्ययन गरेर परामर्श दिएपछि मात्र भाडादर बढेको हो । ढुवानीको भाडादर वृद्धि हुँदा मात्र निगमलाई मासिक साढे तीन करोड रुपियाँ खर्च बढ्ने उहाँ बताउनुहुन्छ । अब निगमलाई वार्षिक  ४६ करोड खर्च बढ्ने देखिएको छ । 

‘व्यवसायीले ४० प्रतिशतसम्म बढाउनुपर्छ भन्ने माग गरेका थिए तर आयल निगमले मात्र बढाएको होइन,’उहाँले भन्नुभयो ‘पुल्चोक इन्जिनियरिङ् कलेजले दिएको परामर्शको आधारमा ८ देखि १० प्रतिशतले भाडा समायोजन गरेको हो । ’

यता नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष विश्व अर्याल भने भाडा वृद्धि समयानुकूल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयल निगमले बढाएको भाडा वर्तमान समयअनुसार बढेको छैन । हामीले अपेक्षा गरेभन्दा धेरै कम मात्र भएको छ । ’

गत सोमबार आयल निगमलाई भाडादर वृद्धिको सन्दर्भमा चित्त नबुझेकाले ध्यानाकर्षण पत्र बुझाएको उहाँको भनाइ छ । आयल निगमले बढाएको भाडादर वैज्ञानिक नभएकाले यसको कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामीले अलि बढी भाडा वृद्धि गर्नुपर्ने मागसहित सुझाव पेश गरेका थियौँ । तर आयल निगमले सोचेको अनुपातमा भाडा वृद्धि गर्न सकेन । भाडा वृद्धिका आधारको मापन समयानुकूल भएको देखिएन ।’

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।