यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर १८ गते । मनाङ अहिले ‘घरबास गन्तव्य’ का रूपमा उभिँदै छ । पर्यटन पूर्वाधार सीमित भए पनि यहाँका गाउँघरमै सञ्चालन भइरहेका घरबासले पर्यटकलाई होटेलभन्दा फरक आत्मीय र मानवीय बसाइको अनुभव दिन थालेका छन् ।
विशेष गरी नासोँ गाउँपालिकाका ओढार, ताचै र नाचैगाउँ तथा चामे आसपासका घरबासले मनाङेली समाज र संस्कृतिलाई प्रत्यक्ष भोग्ने अवसर पर्यटकलाई उपलब्ध गराइरहेका छन् ।
नासोँ गाउँपालिका–४ मा ओढार होमस्टे र वडा नं. ८ मा ताचै होमस्टे सञ्चालनमा छन् । त्यसै गरी चामे गाउँपालिका–५ मा सुनिता होमस्टे, ह्याप्पी होमस्टे र कजिनसरा होमस्टे सञ्चालनमा छन् । त्यसै गरी मनाङ ङिस्याङ गाउँपालिकाका भ्राका, हुम्डे, नाघलमा होमस्टे सञ्चालनमा रहेका छन् । नार्पाभूमि गाउँपालिकामा भने होमस्टे सञ्चालन गरिएको छैन ।
यी घरबासको आकर्षण नै घर घरमै देखिने परम्परागत ढुङ्गा काठका संरचना हुन् । बाक्लो काठका ढोका झ्याल, न्यानो छानो र सौर्य ऊर्जाबाट तातोपानीसहितका सामान्य तर सफासुग्घर कोठाले पर्यटकलाई तान्ने गरेको छ । त्यति मात्रै नभई यहाँको रैथाने खानाले पनि सहजै पर्यटकको मन जितेको छ । चिसो मौसममा ‘भुइँचुलो’ वरिपरि बसेर आगो ताप्दै स्थानीयसँग गफिँदा पर्यटकले हिमालपारिको दैनिकी कति चुनौतीपूर्ण र रमणीय छ भन्ने अनुभूति गर्न सक्छन् ।
कोदो तथा फापरको ढिँडो, फापरका परिकार, जडीबुटी मिसाएको कुखुराको मासुको झोल, ट्राउट माछा, थुक्पादेखि बटर टीसम्मका परिकारले पर्यटकको मन जित्छ । यहाँको घरबासमा घरकै बारीमा फल्ने अन्न तथा तरकारीमा आधारित हुन्छन् । चुलोको धुवाँ र काठको सुगन्ध मिसिएको यस्ता परिकार पर्यटकका लागि नयाँ स्वाद मात्र होइन, एक सांस्कृतिक अनुभव पनि बन्छ ।
ताचै घरबासका अध्यक्ष यज्ञ घलेले आन्तरिक तथा बाह्य पर्यटक आगमन बाक्लै हुने गरेको बताउनुभयो । उहाँले पाहुनाले मागे अनुसारको खाना दिने गरेको बताउनुभयो । विशेष गरी पाहुनाले विषादीरहित गोबर मलमा फलेको आलुको परिकार, कोदो तथा फापरको ढिँडो बढी रुचाउने अध्यक्ष घलेले बताउनुभयो ।
घरबासले मनाङको संस्कृति पनि जोगाइरहेको छ । हिमाली समुदायको पहिरन, नाचगान, धार्मिक अनुष्ठान र सामुदायिक पर्वमा पर्यटकलाई सहभागी गराइने परम्परा बढ्दो छ । यति मात्र नभई घरबास कार्यक्रमले मनाङका महिलालाई सक्षम बनाएको छ । धेरै घरबासको नेतृत्व स्थानीय महिलाकै हातमा छ । कोठा व्यवस्थापन, खाना पकाउने, सांस्कृतिक प्रस्तुति समन्वयदेखि पाहुनालाई गाउँ घुमाउनेसम्मका काम उनीहरूले दक्षतापूर्वक समाल्छन् । यसले गाउँस्तरमै आर्थिक अवसर सिर्जना गरेको छ भने सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुगेको छ ।
चामेमा ह्याप्पी होम होमस्टे सञ्चालक युवा उद्यमी सेराप विष्टले आफ्नो होमस्टेमा विदेशी पर्यटकले आफैँ पकाएर खाने गरेको बताउनुभयो । उहाँले स्वदेशीभन्दा पनि बढी विदेशी पाहुना आउने गरेको बताउनुभयो ।