• ११ असार २०८१, मङ्गलबार

प्रदूषण गर्ने सवारी साधनलाई पाँच हजार जरिवाना

blog

काठमाडौं, पुस ६ गते। काठमाडौं उपत्यकामा धेरै धुवाँ फाल्ने एक सय ३३ वटा सवारी साधन कारबाहीमा परेका छन्। वातावरण विभागले पुस १ गतेदेखि बुधबारसम्म तीन सय सवारी साधनको चेकजाँच गर्दा एक सय ३३ सवारी साधन कारबाहीमा परेका हुन्। 

विभागका सूचना अधिकारी सरोजा अधिकारीका अनुसार पुस १ गतेबाट विभागले धेरै धुँवा फाल्ने सवारीलाई कारबाहीको प्रक्रिया सुरु गरेको हो। 

कारबाहीमा परेका प्रतिसवारीट पाँच हजारका दरले जरिवाना तिराइएको छ। उहाँले भन्नुभयो, ‘विभागले निकालेको सूचना अनुसार नै उपत्यकामा ट्राफिक प्रहरीको सहयोगमा तीन सय सवारीको जाँच गर्दा बढी वा फाल्ने एक सय ३३ वटा सवारीलाई पाँच हजारका दरले जरिवाना गरेर छाडेका छौँ।’

उपत्यकाको वायु प्रदूषण बढ्नुको प्रमुख कारण नै सवारी साधनबाट निस्किएको धुँवा भएकाले यसको व्यवस्थापनका लागि सवारीको चेकजाँच गर्न लागिएको उहाँको भनाइ छ। कारबाहीमा परेका सवारीलाई सचेत गराएर समेत पठाइएको उहाँको भनाइ छ। 

विभागले मङ्सिर ७ गते देखिनै अनुगमन गरेर धुँवा फाल्ने सवारी साधनलाई सचेत गराउदै आएको थियो। यसअघि सचेत गराइएका सवारी साधनलाई पुस १ गतेबाट कारबाही थालिएको हो। एउटै सवारी दुई वा दुईभन्दा बढी पटक कारबाहीमा परे जरीवाना बढ्दै जाने अधिकारीको भनाइ छ। 

पछिल्लो पटक सवारीको प्रदूषण मापन उही अवस्थाको रहे चालकको सवारी कागजात नै राखेर चेकजाँच गर्न लगाइने उहाँको भनाइ छ।

‘कतिपय सवारी चालकले अटेर गरेर यान्त्रिक परीक्षण नगरिकन प्रदूषण मापन गर्न आउने गरेको पाइएको छ। अटेर गर्ने सवारी चालकको कागजपत्र नै राखेर चेकजाँच गर्न पठाउने गरिएको छ’, उहाँले भन्नुभयो। 

केही सवारी साधन चेतावनीपछि सवारी मर्मत केन्द्रमा लगेर जाँच गराएर पुनः जाँच गर्न आउँदा अवस्था राम्रो भएको पाइएको छ। केही सवारीले अटेरी गरेर जाँच नै नगरी त्यसै चलाउने गरेको पाइएपछि जरिवाना गरिएको अधिकारीको भनाइ छ। 

केही सवारी चालकले सवारी धनीलाई देखाएर चेकजाँच गर्ने नगरेको भेटिएको उहाँको भनाइ छ। अधिकारीले भन्नुभयो, ‘चेतावनीपछि केही सवारी साधनलाई चेकजाँच गरेर राम्रो बनाएको पाइयो भने केही सवारी साधन वेवास्ता गरेको पाइएको छ। चेकजाँच नगर्ने सवारीलाई जरिवाना तिराउन थालेका छौँ।’

वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ मा प्रदूषण जाँचपास हुन नसक्ने सवारीलाई एक लाखसम्म जरिवाना गर्न सकिने उल्लेख छ। विभागले अहिलेसम्म प्रति सवारी साधन पाँच हजारभन्दा बढी जरिवाना तिराएको छैन।

धेरै धुँवा फाल्ने सवारी देखेको भए नागरिकले  सवारी नम्बरसहित वातावरण विभाग, यातायात व्यवस्था विभाग वा नजिकैको ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गरेर टिपाउन सकिने अधिकारीको भनाइ छ। विभागले सुरुमा डिजेलबाट चल्ने सवारीको मात्र धुँवाको प्रदूषण चेकजाँच गर्ने गरेको छ।

कसरी हुन्छ प्रदूषण मापन ? 

विभागले सडकमा सवारी चेकजाँचका लागि रोकेपछि सवारी साधनको साइलेन्सरमा विशेष मेसिन जडान गरेर प्रदूषण मापन गर्ने गरेको छ। प्रदूषण मापनका लागि वातावरण विभागका कर्मचारीलाई ट्राफिक प्रहरीले साथ दिँदै आएको छ। बढी धुवाँ फाल्ने सवारी साधनको साइलेन्सरमा मेसिन जडान गरेपछि स्टार्ट गर्न लगाइन्छ। यसरी स्टाट भएको सवारीको एक्सिलेटर दबाउँदा निस्किएको धुवाँमा प्रदूषणको मात्रा चेकजाँच हुन्छ। छोटो समयमा मेसिनको सहयोगले धेरै सवारीको प्रदूषण मापन गर्न सकिने अधिकारीको भनाइ छ। यसरी चेकजाँच गर्दा मेसिनमा प्रदूषणको मात्रा ६५ अङ्कसम्म पुगे यसलाई सामान्य मानिन्छ। प्रदूषणको मात्रा त्योभन्दा माथि पुगेमा पहिलो चरणमा यस्ता सवारी साधन चेकजाँचका लागि पठाइन्छ। मर्मतपछि पनि प्रदूषणको मात्रा बढी देखिए कारबाही हुन्छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।