गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । नेपालका विभिन्न क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरूको कार्यमूलक अनुसन्धानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
जापानका विभिन्न विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य शिक्षा समाज(हिन)को संयुक्त आयोजनामा यहाँस्थित बुधबार सो कार्यशाला सम्पन्न भएको थियो ।
शिक्षा दिगो विकास (ईसीडी), नसर्ने रोग (एनसीडी) र जीवनशैली विषयक कार्यशालामा यी विषयलाई कसरी प्रभावकारी अध्यापन गराउन सकिन्छ भनेर जापानको चुक्यो विश्वविद्यालयका प्राध्यापक कोकुडोले प्रशिक्षण दिनुभएको थियो ।
प्राध्यापक कोकुडोले ‘प्रत्यक्ष अध्ययन’, ‘ईसीडी, एनसीडी र जीवनशैली’, ‘विद्यार्थीको उचाइ र तौल मापन’, ‘वर्कसिट तयारी र प्रयोग’, ‘ विद्यार्थीको उचाइ र तौल मापन गर्ने अभ्यास’, ‘मोक कक्ष, सूक्ष्म अध्यापन’ मा उहाँले प्रशिक्षित गर्नुभएको थियो ।
प्राध्यापक कोकुडोले सर्ने रोगभन्दा नसर्ने रोगले विश्वमा प्रत्येक वर्ष (७१ प्रतिशत) अर्थात् पाँच करोड ७० लाख बिरामी मर्ने गरेको बताउँदै जनस्वास्थ्यमा सुधार गर्दै दिनानुदिन जीवन शैलीलाई परिमार्जन गर्न आवश्यकतामा जोड दिनुभयो ।
उहाँले खानपानमा विशेष रूपमा ध्यान दिएर हरेक विद्यार्थीहरूको बडी मास इन्डेक्स (बीएमआई)लाई सन्तुलनमा राख्न सके ज्यान जाने जोखिम दरलाई कम गर्न सकिन्छ, भन्नुभयो ।
कानागावा विश्वविद्यालयका प्राध्यापक सागावाको उपस्थितिमा सम्पन्न कार्याशालामा प्रा.डा. भीमसेन देवकोटाले स–सानो कुरामा ध्यान दिएर जनस्वास्थ्यको क्षेत्रमा शिक्षक र अध्यापकले मृत्युदर कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिनुभयो ।
हिनका सदस्य तथा त्रिविका उपप्राध्यापक यदुराम उप्रेतीले सूक्ष्म योग र ध्यानका विभिन्न क्रियाकलापबारे प्रकाश पार्नुहुँदै कार्यशालाको सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो ।
यसअघि मंगलबार कार्यशालालाई उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले कार्यशालाको अनुभवलाई अध्यापनमा प्रयोग गर्न अध्यापकहरूलाई निर्देशन दिनुभएको थियो । कार्यशालामा प्रा.डा. लोकेन्द्र शेरचनलगायतले धारणा राख्नुभएको थियो । –उपेश महर्जन