• ३ मंसिर २०८२, बुधबार

ढिँडोदेखि मार्सीसम्म : रैथाने खानाप्रति बढ्दो आकर्षण

blog

तस्बिर : प्रदीपराज वन्त

अच्युत रेग्मी/रासस

काठमाडौँ, म‌ङ्सिर ३ गते । एक समय यस्तो थियो, जब मानिसले कोदोको ढिँडो लुकाएर खानुपर्थ्यो। ढिँडो खाएको कुरा खुलाउन पनि हिच्किचाइन्थ्यो। गाउँघरमै समेत ढिँडोलाई ‘गरिबको खाना’ भन्ने मानसिकता थियो।

त्यसबेला चामलको भात धनीहरूको प्रतीक मानिन्थ्यो र कोदो गरिबले खाने अन्न भनेर बुझिन्थ्यो। कतिपय ठाउँमा त घरभित्र ढिँडो खाइन्थ्यो, तर बाहिर भने कुकुरलाई एकमुख दूध–भात दिएर ‘भात खाने’ छवि बनाउन खोजिन्थ्यो भन्ने कथनहरू सुनिन्थे।

तर अहिले समय धेरै बदलिएर आएको छ। गाउँघर मात्र होइन, सहरका ठूला होटल–रेस्टुरेन्टहरूमा समेत मानिस ढिँडो खान खोजेर जान थालेका छन्। ढिँडो अब लुकाएर खाने होइन, गर्वसहित मनपर्ने र रोजाइको खानाको रूपमा स्थापित भएको छ। सामाजिक सञ्जालमा ‘आज ढिँडो खाइयो’ भन्दै तस्बिर पोष्ट गर्ने चलनसमेत बढेको छ।

पहिले दुर्लभजस्तै मानिएको चामलको भात अहिले धेरैका लागि विकल्पको खाना भएको छ। घरमा होस् वा होटलमा, धेरै मानिसहरू भात कम खानेतर्फ उन्मुख भएका छन्। रोटी, फापर, कोदो तथा ढिँडो नै रोजाइमा पर्न थालेका छन्। पहिले धनीमानीको खानाजस्तो ठानिने भातलाई अहिले धेरैले ‘रोगको घर’ का रूपमा हेर्न थालेका छन्। चिकित्सकहरू नै बढी भात नखान र सकेसम्म अर्गानिक तथा रैथाने खाना खान सुझाव दिन्छन्।

अहिले मानिसको स्वास्थ्यप्रतिको चेतना उल्लेखनीय रूपमा बढेको देखिन्छ। विषादीरहित, स्थानीय उत्पादन तथा कम कार्बोहाइड्रेटयुक्त खानातर्फ आकर्षण बढेको छ।

खाद्य, पोषण तथा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीका अनुसार हाल कोदो, फापर, गुन्द्रुक, मकै तथा च्याँख्ला, दाल–ढिँडोजस्ता रैथाने परिकार धेरैको रोजाइमा पर्न थालेका छन्। रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि आधुनिक प्रोसेस्ड खानाभन्दा रैथाने अन्न उत्तम हुने चेतना बढेको उनी बताउँछिन्।

उनका अनुसार, “पहिले रैथाने खाना खाँदा अपहेलित हुने अवस्था थियो। तर अहिले त्यस्तो छैन। सञ्चारमाध्यमको प्रभावले मानिस यस्ता खानातर्फ आकर्षित भएका छन्। अहिले त पाँचतारे होटलको मेन्युमै पनि कोदो, फापरको परिकार राख्न थालिएको छ।”

शारीरिक श्रम घट्दै गइरहेको, बजारका प्रोसेस्ड खानेकुरा बढ्दै गएको वर्तमानमा अर्गानिक र रैथाने उत्पादन स्वास्थ्यका लागि लाभदायी हुने उनको सुझाव छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित घरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको प्रसङ्ग सार्वजनिक भएपछि मार्सी चामलको चर्चाले बजार तताएको थियो। त्यसैले मार्सी चामल ‘ब्रान्ड’ बन्न पुगेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ।


मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने भएकाले यसको भात स्वादिलो हुने बताइन्छ। मार्सी थकालीका सञ्चालक मधुसूदन ढकालका अनुसार उनीहरूले हिमाली–पहाडी क्षेत्रमा उत्पादित यस्ता धान र अन्य रैथाने उत्पादनलाई ब्रान्ड बनाएर अघि बढाइरहेका छन्।

काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनीष श्रेष्ठ भन्छन्—पहिले मानिस होटलमा भात खानकै लागि आउने गर्थे, तर अहिले उनीहरूको रोजाइमा रैथाने तथा अर्गानिक खाना प्रमुख बन्न थालेको छ। भात खान चाहे पनि मार्सी चामल वा त्यस्तै रैथाने चामल बढी खोज्ने गरेको उनी बताउँछन्।

स्थानीय उत्पादन माग बढेपछि होटलले कालो मास, लोकल सागसब्जी, गाउँघरका गेडागुडी तथा मार्सी चामलको थाली राख्ने गरेका छन्। यही मागका कारण होटल परिसरमै हरेक शनिबार अर्गानिक र स्थानीय उत्पादनको बजारसमेत लाग्ने गरेको श्रेष्ठको भनाइ छ।

सेफ्स एसाेसिएसन नेपालका पूर्वअध्यक्ष तथा नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी भन्छन्, “पहिले होटलमा जाने भनेको धनीहरूको कुरा जस्तो मानिन्थ्यो। अहिले भने ठूला होटलमै गए पनि मानिसले रैथाने र अर्गानिक खाना खोज्ने गरेका छन्, यो स्वास्थ्य–चेतनाको सङ्केत हो।”

उहाँका अनुसार विगतमा विषादी कम प्रयोग हुने भएकाले होटलका खानेकुरा पनि आजजत्तिकै अस्वस्थ थिएनन्। अहिले यस्ता खबरले मानिस अझ स्वास्थ्यप्रति सजग हुन थालेका छन्।

काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्ल भन्छन्—“हाल नेपाली र रैथाने खानाप्रति मानिसको रुचि उल्लेखनीय रूपमा बढेको छ। यहाँ आउने अधिकांश पाहुनाले ढिँडो, गुन्द्रुक, सिस्नु, फापर, मार्सी चामलको भात, लोकल कुखुरा आदि विशुद्ध नेपाली स्वादका परिकार खोज्नुहुन्छ।”

अहिले काठमाडौँ सहरभन्दा काँठ क्षेत्रमा धेरै रेष्टुरेन्टहरू खुलेका छन् र ती क्षेत्रमा पाहुनाको चहलपहल बढी देखिन्छ।

काठमाडौँबाहेक पोखरा तथा चितवनका थकाली तथा ढिँडो परिकारका होटल–रेस्टुरेन्टहरूले समेत रैथाने खानाको स्वाद चखाउँदै आएका छन्। पारखीहरूका लागि यी परिकार अब आकर्षक विकल्प बनेका छन्।