• ३ मंसिर २०८२, बुधबार

लमजुङमा राहदानी सेवा प्रभावित

blog

जिल्ला प्रशासन कार्यालय लमजुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर ३ गते । समयमै राहदानी नआउने भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी बनाउन आएका सेवाग्राहीलाई काठमाडौँ पठाउने गरिएको छ । राहदानी सेवा प्रभावित भएपछि सेवाग्राहीहरू नै आउन छाडेको प्रशासनका अधिकारीहरूको भनाइ छ । 

राहदानी विभागले आगामी फागुनसम्म अत्यावश्यक बाहेक नयाँ राहदानी तथा नवीकरण गरिएका राहदानी समयमै छपाइ गर्न नसक्ने बताएपछि यहाँको सेवा पनि प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाटै राहदानी पठाउन सकिँदैन भनेपछि, हामीले सेवाग्राहीलाई काठमाडौँ जानुहोस् भनेर पठाउने गरेका छौं ।” तत्काल राहदानी नचाहिनेहरूको निवेदन भने जिल्लामै लिने गरिएको उहाँले बताउनुभयो ।

राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरेको र जिम्मेबारी हस्तान्तरणको सङ्क्रमणकालीन अवस्था सिर्जना भएको भन्दै तत्कालका लागि अत्यावश्यक बाहेक नयाँ राहदानी उपलब्ध गराउन नसकिने सूचना प्रवाह गरेको थियो । 

सोहीअनुसार जिल्लामा राहदानीका लागि आवेदन दिए पनि फागुनसम्म राहदानी हात नपर्ने भएपछि प्रशासन कार्यालयमा सेवाग्राही नै आउन छाडेका हुन् । जिल्लाबाट नयाँ राहदानी तथा पुरानो राहदानी नवीकरण सेवा प्रभावित भएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले तीन महिनाअघि आवेदन दिएका राहदानी सेवा पनि वितरण गर्न नसकिएको जनाएको छ । 

गत साउन महिनाबाट राहदानी छपाइ सेवा अवरुद्ध भएकाले गत भदौदेखि नै आवेदन दिएका राहदानी छपाइ नभएको र वितरण नगरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

यद्यपि जिल्ला प्रशासन कार्यालय लमजुङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय १५ थान राहदानी वितरण गरिसकेको छ । साउन महिनाअघि नै आवेदन दिएका र छपाइ भएर आएका राहदानी मात्र प्रशासन कार्यालयबाट वितरण भएको हो ।

सोही अवधिमा प्रशासन कार्यालयमा एक हजार पाँच सय ४७ जनाले राहदानीका लागि आवेदन दिएका छन् । त्योमध्ये अधिकांशको राहदानी छपाइ हुन नसक्दा वितरण पनि रोकिएको छ । पहिलो त्रैमासिकपछि पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी आवेदन दर्ता भइरहेकोमा ती सबै छपाइकै प्रक्रियामा रहेको प्रशासन कार्यालयले जनाएको छ ।