• ३ मंसिर २०८२, बुधबार

बर्सेनि घट्दै पशुपालन क्षेत्रमा बजेट

blog

घोराहीमा रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय ।

लीलाधर ओली

घोराही, मङ्सिर ३ गते । दाङमा बर्सेनि पशुपालन क्षेत्रमा बजेट घट्दै गएको छ । पशुपालन क्षेत्रमा नयाँ पुस्तालाई आकर्षण गर्ने भनिएपनि बजेट भने बर्सेनि घट्दै गएको छ । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङमार्फत् पशुपालक किसानका लागि प्रत्येक वर्ष आउने बजेट बर्सेनि घट्दै गइरहेको छ । कृषि र पशुपालनमा लागेका किसानलाई सरकारले प्रोत्साहन गर्ने नीति लिएपनि बजेट कटौतीले कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ । 

आर्थिक वर्ष २०८९-०८० मा दाङमा नौ करोड एक लाख ५० हजार तीन सय रुपियाँ बजेट पाएको कार्यालयले आर्थिक वर्ष २०८०-०८१ मा आउँदा सात करोड एक लाख ३४ हजार रुपियाँमा मात्र प्रदेश सरकारबाट प्राप्त गरेको थियो । 

गत आर्थिक वर्ष २०८१-०८२ मा कटौती भएर पाँच करोड ५९ लाख २३ हजार रुपियाँ मात्रै प्राप्त गरेको कार्यालयले चालु आर्थिक वर्ष २०८२-०८३ मा तीन करोड २८ लाख सात हजार रुपियाँ बजेट रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा हरिनारायणप्रसाद थारूले जानकारी दिनुभएको छ । जसमध्ये चालुतर्फ तीन करोड ५६ लाख ४८ हजार र पुँजीगततर्फ चार लाख दुई हजार बजेट रहेको छ । 

गत वर्षको कुल बजेटमा अनुदान रुपियाँ तीन करोड एक लाख २५ हजार थियो । चालु आवमा ९४ लाख चार हजार रुपियाँ मात्रै रहेको कार्यालय प्रमुख थारूले बताउनुभयो । उहाँका अनुसार समग्र बजेट घटेसँगै अनुदान रकम पनि घटेको छ ।  चालु आर्थिक वर्ष २०८२-०८३ मा साधारण कार्यक्रममा एक करोड ७६ लाख ६४ हजार बजेट रहेको छ ।

आव २०८०-०८१ मा तीन करोड ५३ लाख अनुदान बजेट थियो । गत वर्ष २०८१-०८२ मा एक करोड ७५ रुपियाँ बजेट आएकोमा यसवर्ष त्यो पनि आधा घटेको कार्यालय प्रमुख थारूले बताउनुभयो । उहाँका अनुसार जिल्लामा मत्स्य पालनका क्षेत्रमा समेत बजेट घटेको छ । गत वर्ष मत्स्य विकास तथा प्रवर्धन कार्यक्रमतर्फ ५९ लाख आए पनि यो वर्ष करिब आधा घटेर २५ लाखमा सीमित भएको छ । पशुपक्षी उत्पादन, बजारीकरण, नियमन, प्रविधि प्रसार कार्यक्रमतर्फ गतवर्ष तीन करोड १९ लाख आठ हजार रुपियाँ रहेकोमा यो वर्ष एक करोड ४९ लाख आठ हजार बजेट छ । 

आव २०८०-०८१ मा खाद्य तथा पोषण सुरक्षा कार्यक्रमतर्फ एक करोड ६९ लाख ४४ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ ७० लाख, पशुपक्षी स्रोत प्रविधि सेवा टेवा कार्यक्रममा एक करोड १७ लाख चार हजार, पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि २१ लाख ६१ हजार र पशु सेवा विभाग (सङ्घ शर्सत अनुदान) मा छ लाख ५० हजार बजेट रहेको थियो । हरेक वर्ष बजेट घटेसँगै बर्सेनि किसानको अनुदान पनि कटौती भइरहेको छ । 

कार्यक्रम नै घटेर आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख थारूले बताउनुभयो । कार्यालय प्रमुख थारूले भन्नुभयो,‘‘पशुपालनका क्षेत्रमा किसानलाई आकर्षण गर्नुपर्ने भए पनि बर्सेनि बजेट घट्दा किसानलाई प्रोत्साहनका कार्यक्रम सञ्चालनमा समस्या हुने गरेको छ ।’’