• ९ मंसिर २०८१, आइतबार

कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर

blog

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीस्थित कालिगण्डकी नदीमा निर्माण गरिएको काठको अस्थायी पुल । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस ६ गते । कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि स्थानीय एक युवाले नदीमा स्थानीय प्रविधिको प्रयोग गरेर काठको अस्थायी पुल निर्माण गर्नुभएको छ । झोलुङ्गे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ ।  

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र बिरामीहरुको सुविधाका लागि स्थानीयवासी कुमार तिलिजा पुनले व्यक्तिगत रुपमा एकलाख रुपियाँ खर्चिएर काठको अस्थायी पुल निर्माण गर्नुभएको हो । पुल बनाउन तिलिजाले काठका फ्ल्याक, बाँस र ग्यावियन झाली प्रयोग गर्नुभएको छ । तातोपानी कुण्ड जाने विरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधारण काठको पुलबाट नदी वारपार गर्दछन् । 


कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र बिरामीहरु नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भए पनि सहज बनाउन आफूले काठको अस्थायी पुल निर्माण गरेको तिलिजाले बताउनुभयो । पुल बनेसँगै कुण्डमा स्नान गर्न आउने बिरामी अवस्थाका वृद्धवृद्धाहरु र पर्यटकलाई निकै सहज भएको छ । पुल जेठको दोस्रो हप्तासम्म रहने र नदीमा पानीको सतह बढेपछि झिकेर राख्ने तिलिजाले बताउनुभयो । 

पुल बनाउन तिलिजासँगै दैनिक रुपमा ७ जनाले एकमहिना काम गरेका थिए । मजदुरलाई ज्याला, पुल बनाउन प्रयोग भएका काठ, बाँस र ग्यावियन जालीसहित करिब एकलाख रुपियाँ खर्च भएको तिलिजाले बताउनुभयो । उक्त पुल करिब ६ महिनासम्म रहने उहाँले बताउनुभयो । पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन पाए पनि अहिलेसम्म रकम नपाएको तिजिलाको भनाइ छ ।  


कुण्डको व्यवस्थापनको जिम्मा लिनुभएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेट भएको कुण्डमा स्नान गर्न आउनुभएका  रघुगङ्गा गाउँपालिका २ तिप्ल्याङकी लीला गुरुङले बताउनुभयो । रोग निको पार्न कुण्डमा स्नान गर्न आउने वृद्धवृद्धाहरु घुमाउरो बाटो हिंडेर आउन असहज भएको थियो गुरुङले भन्नुभयो, ‘‘काठको अस्थायी पुलले वारिपारि गर्न निकै सहज बनाइदिएको छ ।

पक्की झोलुङ्गे पुल नै बनाइदिए कुण्डमा आउन नदी वारपार गर्न सजिलो हुने र कुण्डको पनि प्रवर्धन हुने थियो ।’’ पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सकारले बजेट विनियोजन गरेको जनाएको छ ।