• १३ पुस २०८१, शनिबार

दौलतविक्रम विष्टका कथाहरूको भावभूमि

blog

आधुनिक नेपाली कथा परम्पराको ‘यथार्थवादको युग’ (सं. १९९१–२०१९) का सशक्त कथा, शिल्पी दौलतविक्रम विष्ट (सं. १९८३–२०५९) ले ‘ऊ गयो’ (सं. २००५) शीर्षकको कथाबाट आफ्नो यात्रा प्रारम्भ गरेका हुन् । ‘नवचेतनाको युग’ (सं. २०२०–३९) देखि ‘परावर्तनको युग’ (सं. २०४०–२०६३) सम्म निरन्तर रूपमा आफ्नो कथा यात्रालाई निरन्तरता दिएका उनका कथाहरूमा परिवर्तित समय र मान्यताअनुसार विविध भावभूमिहरू देखिनु कुनै अस्वाभाविक कुरो होइन । यस लामो यात्रा क्रममा उनका (१) गालाको लाली (सं. २०१४), (२) प्रदर्शनी (सं. २०२३), (३) छाया (सं. २०३१), (४) घाउका सत्र चक्का (सं. २०३५), (५) आलो कथा (सं. २०४०) र (६) आँसु त्यसै त्यसै छचल्किन्छ (सं. २०४६) कथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । सङ्ख्यात्मक मात्र होइन गुणात्मक दृष्टिले पनि उनी आधुनिक कथा परम्पराको एक स्तम्भ ठहरिन्छन् । आख्यान उनको प्रमुख कार्यक्षेत्र भएकै कारणले उनलाई सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार र सं. २०४९ मा मदन पुरस्कार प्रदान गरिएको थियो । यति मात्र नभएर उनी ‘साहित्यरत्न’बाट पनि सम्मानित भए । ‘उफान’, ‘हाटखोलाको गोरेटोमा’, ‘क्याक्टस एउटा अन्तरकथा’, ‘विश्वासहीनताको गोरेटोमा’, ‘राजीनामा’, ‘छाया– नासपाती बोटको’, ‘प्रदर्शनी’, ‘आँसु त्यसै त्यसै छचल्किन्छ’, ‘मुर्कुटा’, ‘कुप्री’ जस्ता कथाहरूमा पाइने विविध भावभूमिले के सिद्ध गर्दछन् भने उनी गत्यात्मक प्रवृत्तिका कथा– प्रतिभा हुन् ।

दौलतविक्रम विष्टको कथाकारिताको प्रारम्भिक भावभूमि हो अन्तर्यथार्थको सटिक चित्रण । यस भूमिमा उनले हाम्रो नेपाली समाजमा बलियो जरो गाडेर बसेको अन्धविश्वास, रूढिवाद र सङ्कीर्ण विचारधाराको विरोध गरेका छन् । यसको अर्थ के हो भने उनले परम्परित प्रणालीबाट सञ्चालन भएको समाजका दुष्परिणामलाई देखाएका छन् । धामीझाँक्रीहरूद्वारा रोगको औषधोपचार गराउन र रूढिवादका नाममा अनेकौँ रीतिरिवाज र परम्परामा विश्वास गर्ने समाजप्रति उनले तीक्ष्ण व्यङ्ग्य गरेका छन् । यसका साथै उनले समाजको निम्न वर्गको गरिबगुर्बाहरूमाथि हुँदै आएको अमानवीय शाोषण तथा अत्याचार, ती गरिबगुर्बाहरूको दमित चाहना र मनोकाङ्क्षा तथा बिनाछाना र नाना आजीवन सङ्घर्षरत ती गरिबहरूका अन्तर्पीडालाई प्रस्तुत गर्दै यावत् असामानिक कृत्यहरूको पर्दाफास गरेका छन् । सङ्क्षेपमा भन्नुपर्दा उनले सामन्ती प्रणाालीमा आधारित हाम्रो जस्तो समाजभित्रका विकृति र विसङ्गतिहरूको यथार्थ चित्रण गरेका छन् ।

कथाकार दौलतविक्रम विष्ट सामाजिक यथार्थका संवाहक भएर पनि मानवीय भावना, संवेग र संवेदनाको मनोवैज्ञानिक पक्षमा अत्यन्तै रमाएका छन् । त्यसैले उनी आफ्ना कथाको भावभूमिमा निबन्धकारझैँ आत्मपरक हुने चरित्रका भएका छन् । यसको अर्थ के हो भने वस्तुपरक सामाजिक यथार्थबोध होइन, वस्तुको यथार्थमा उनको विश्वास रहेको पाइन्छ । पात्र र घटनाबीचको अन्योन्यक्तिमाबाट सिर्जित मानसिक द्वन्द्व र अन्तक्र्रिया उद्घाटन गर्नमा उनी बढी प्रवृत्तिरत रहेको पाइन्छ । यसको तात्पर्य के हो भने उनले सामाजिक पदमा पारदर्शी भएको मनोयथार्थको सम्बन्धलाई आफ्ना कथाको भावभूमि बनाएका छन् । सत्यता उनी विश्वेश्वरप्रसाद कोइराला, गोविन्द गोठाले, विजय मल्ल, पोषण पाण्डेझैँ निक्खर मनोवैज्ञानिक यथार्थवादी कथा–शिल्पी नभएर विशुद्ध सामाजिक यथार्थताका पक्षपाती भएको हुँदा उनले शोषणविहीन समाजको परिकल्पना गर्दै पुराना मूल्य र मान्यताको उपेक्षा गरेका छन् । वस्तुसँग भावात्मकता जोड्दै उनले मानिसको मनोलोकभित्र देखिने समाजको अनुहार आफ्ना पाठकहरूसमक्ष प्रस्तुत गरेका छन् । 

दौलतविक्रम विष्टका कथाको अर्को भावभूमि हो मानिसका जीवनको विङ्गतिबोध । उनी वर्तमान जीवनभित्र अनेकौँ र निस्सारता र विकृतिहरू देख्छन् । उनको दृष्टिमा वर्तमान जीवन जटिल युगको अत्यन्त सङ्कटपूर्ण स्थितिमा आइपुगेको हुनाले मानिस मूल्य विघटन, उदासीनता र निराशाको भुमरीभित्र फसी दिशाहीन र अर्थहीन बन्न पुगेको छ । उनी वर्तमानमा कतै पनि आशाको किरण वा प्रकाश देख्दैनन्, जताततै विस्मय, चिन्ता, विश्वासहीनता र पलायन भावको साम्राज्य रहेको देख्दछन् । नवचेतनाको कालका कथाहरूको भावभूमिसँग एकाकार हुनसक्ने उनको प्रतिभा साँच्चैको उर्वर र शक्तिशाली देखिन्छ अर्थात् परिवर्तित समय र परिस्थितिलाई आफ्ना कथाको भावभूमिभित्र अनुकूलन गर्ने उनको क्षमताले आधुनिक कथा परम्परालाई अझ सबल बनाएको कुरामा विश्वास गर्न सकिन्छ ।

दौलतविक्रम विष्टले युद्धकथा मात्र नभएर दार्शनिक कथाहरूसमेत लेखे । उनले आत्मगत अनुभूति र भाव–संवेदनालाई सामाजिक पृष्ठाधारमा राखेर कथाहरू लेखे । जीवनविषयक चिन्तनमा पूरै डुबेर लेखिएका उनका कथाहरूमा विसङ्गतिबोधको प्राचल्य रह्यो अर्थात् युगीन यथार्थलाई उनले आत्मसात गरे । 

रैखिकदेखि निजात्मक निबन्धको शैलीसम्ममा आफ्नो क्षमता देखाउन समर्थ कथाकार दौलतविक्रम विष्टले आफ्ना आख्यानहरूमा प्रतीकहरूको कुशल प्रयोग गरेका छन् नै साथै उनले स्वैरकल्पनाको पृष्ठभूमिमा पनि आफ्ना संवेगात्मक तरङ्गहरूलाई फैलन दिएर कथाको भावभूमिलाई सुन्दर बनाएका छन् ।