• ४ जेठ २०८१, शुक्रबार

बाख्रा पालनले गुजारा चलाउने गाउँ सहिदभूमि

blog

हिले, मङ्सिर २७ गते । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ सफाइ टारका किसान सोमनाथ खड्काले खोर भरी खरी, जमुना पारी र बोयर जातका बोका बाख्रा पाल्नु भएको छ ।  आम्दानीको अन्य विकल्प नदेखे पछि बाख्रा पालनमा लाग्नुभएको खड्काले वार्षिक बाख्राबाट मात्रै ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । पहिले पहिले जीविकोपार्जन गर्न समेत समस्या हुने गरेकोमा बाख्रा पालनकै कारण निक्कै सहज भएको खड्काको भनाइ छ । सोमनाथ खड्का मात्र हैन यस क्षेत्रका ७० घरधुरी भन्दा बढी स्थानीयले कम्तीमा पनि १० माउदेखि ७० माउ सम्म बाख्रा पालेका छन् ।

धनकुटा सहिदभूमि गाउँपालिकाको सफाइटार, धाप र घंगरु लगायतका तमोर किनारका क्षेत्रका किसान बाख्रा पालन स्रोत केन्द्र बनाउन लागि परेका छन् । सामूहिक रूपमै बाख्रा पालनमा लागे पछि यहाँका किसानको जीविकोपार्जन सहजपनि बन्दै गएको छ । बाख्राको लागि बजारको समेत कुनै समस्या नभएको स्थानीयको भनाइ छ । व्यापारी घर घरमै आएर खसिबोका किनेर लैजाने गरेका छन् । 

फस्टाउँदो बाख्रा पालन र यस पेसामा स्थानीयको लगाव देखेर प्रदेश–१ सरकारले तमोर गडतीरको यो ठाउँलाई बृहत्तर बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र घोषणा गरिए पनि व्यावसायिक बाख्रा पालनका लागि अपेक्षित सरकारी सहयोग नपाएको यहाँका किसानको गुनासो छ । पकेट क्षेत्र घोषणा त भयो तर प्राविधिक सहयोग लगायतका सहयोग भने पाएका छैनौ स्थानीय टेक बहादुर खड्काले गुनासो गर्नुभयो ।

साप्तीङ्ग, गोपालपुुर, सफाइ, धाप, घंगरु, कर्कले, पोखरे तथा अखुवाटारका किसान बाख्रा पालनमा व्यावसायिकता खोजिरहेका छन् । समूहमा आबद्ध उनीहरू प्राविधिक सहयोग र सहुलियत दरको कर्जा सुविधा पाए बाख्रा पालन स्रोत केन्द्रका लागि मझौला र ठूला फर्म सञ्चालन गर्ने बताउँदै आएका छन् । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।