• ९ पुस २०८१, मङ्गलबार

धनकुटाको डाँडैडाँडा

blog

धनकुटाको डाँडैडाँडा 

चल्यो हुलाकी नि राजै चल्यो हुलाकी

सासूलाई चाबी सालोलाई जाबी

सालिमाज्यूलाई झुम्के बुलाकी

प्रख्यात गायिका हिरादेवी वाइबाले उहिल्यै गाएको यी गीति पङ्क्तिले धनकुटाको वर्णन गरेको छ । राणाकालीन प्रशासन इलाका र व्यापारिक केन्द्र रहेको धनकुटा सदरमुकाम अचेल सुनसान छ । त्यसो त धनकुटाले १८७३ सालतिरै प्रशासनिक इलाकाका रूपमा मान्यता पाएको थियो । राजा राजेन्द्रविक्रम शाहले नेपाललाई १० क्षेत्रमा विभाजन गरेसँगै दुधकोशीदेखि पूर्व मेचीसम्मको पल्लो किरातसँगै धनकुटा इलाका अस्तित्वमा आएको इतिहास पाइन्छ । मुलुकलाई भौगोलिक रूपमा पाँच विकास क्षेत्रमा विभाजन गरिएपछि समेत पूर्वाञ्चलको क्षेत्रीय सदरमुकामका रूपमा धनकुटा रह्यो ।

विसं १८७३ मै प्रशासनिक हिसाबले अस्तित्वमा आएको धनकुटा १९४२ सालमा राणा प्रधानमन्त्री वीरशमशेरको पालामा प्रशासनिक केन्द्र (गौँडा) का रूपमा स्थापना भयो । २०२९ सालमा राजा वीरेन्द्रले पूर्वाञ्चलको सदरमुकाम धनकुटालाई बनाएपछि धनकुटाले अझ प्रसिद्धि पायो । 

स्थानीय राजेन्द्र श्रेष्ठका अनुसार २०३७ सालतिर धनकुटाबजारमा दैनिक उपभोग्य वस्तु खरिदका लागि वरपरका पहाडी जिल्लाबाट एकडेढ सय भरियाको दैनिक भिड लाग्थ्यो । बजारभरिका पाटीपौवा ढाक्रे र बटुवाको बासले खचाखच भरिन्थे ।१६ जिल्लाको प्रशासनिक तथा शैक्षिक केन्द्र धनकुटाबजारमा भिडभाड र चहलपहल हुँदा नगरवासीले रामै्र लाभ लिएका थिए ।

बेलायत सरकारको सहयोगमा कोशी राजमार्गले २०३९ सालमा धरान–धनकुटा जोडिएपछि धनकुटाबजार थप गुल्जार भएको थियो । २०३५ सालमै धनकुटालाई नगर घोषणा गरिएको थियो । २०४० सालतिर नगरको १३ किलोमिटर उत्तर हिलेबजारमा सडक जोडिएको थियो । हिलेमा सडक पुगेपछि धनकुटा सदरमुकामबाट पहाडी चार जिल्लामा हुने व्यापारिक चहलपहल हिलेतर्फ केन्द्रित भयो । स्थानीय राजेश्वरबहादुर श्रेष्ठका अनुसार धरान, धनकुटा हुँदै हिलेबाट अन्य चार जिल्लासम्म जाने कोशी राजमार्गलाई सो समयमा धनकुटाबजारबाट लैजान नदिइएपछि नै धनकुटाबजारको दुर्दशा सुरु भएको हो ।

विसं २०४७ मा क्षेत्रीय अदालत विराटनगर सारिएपछि धनकुटाको अधोगति सुरु भएको मानिन्छ । गाउँ गाउँमा १० जोड दुई कक्षा सुरु गरिएपछि पूर्वाञ्चलको शैक्षिक केन्द्र धनकुटा थप सुनसान बन्यो । त्यो बेलासम्म धेरै पुराना धनकुटेलीले धनकुटा छाड्ने क्रम बढिसकेको थियो । मुलुकले नयाँ राजनीतिक गन्तव्य तय गरेपछि धनकुटा सात स्थानीय तहमा विभाजन भयो । गाउँबस्तीमा नयाँ बजार विकास हुन थाल्यो । त्यसपछि पूर्वको प्रशासनिक केन्द्र राजधानीसमेत विराटनगर सारिएपछि धनकुटाबजार थप सुनसान बन्यो ।

करिब दुई सय वर्षअघिदेखिको प्रशासनिक तथा व्यापारिक केन्द्र धनकुटाले आफ्नो सौन्दर्य गुमाउँदै गयो । बेहुली अन्माएर पठाइसकेपछिको घर जस्तो एक प्रकारको सुनसान बन्यो । पुरानो बजार भएका कारण बजार क्षेत्र र संरचना साँघुरो बन्यो । धनकुटाका व्यापारी नयाँ व्यापारिक स्थल खोज्दै धरानलगायतका सहरमा विस्थापित हुन थाले । यसले गर्दा परम्परागत रूपमा स्थापित धनकुटाको साँघुरो बजार आधुनिक विकासतर्फ उन्मुख हुन नसकेको जानकारी श्रेष्ठले दिनुभयो ।

व्यापार व्यवसाय ठप्प भएपछि अहिले नगरका मुख्य तीन बजारमध्ये माथिल्लो कोप्चे र तल्लो कोप्चेबजारका अधिकांश घर बन्द भएका छन् । वडा नम्बर ६ को लहरे चौतारा, वडा नम्बर ४ को लोक सेवा क्षेत्र, वडा नम्बर ७ को श्रीवानी बजार धेरैअघिबाट सुनसान भइसकेका हुन् । चलायमान भनिएको धनकुटा बसपार्कको हुलाकटोल–बिचबजार–गणेशथानसम्मको करिब एक किलोमिटर बजार क्षेत्रको पनि एक चौथाइ भागसम्म मात्र चहलपहल छ । अहिले वडा नम्बर ६ को बसपार्कदेखि वडा नम्बर ६ मा रहेको परिचय मोडसम्मको करिब तीन सय मिटर सिधा लाइनमा मात्र बजारको चहलपहल देखिन्छ । 

विसं २०३८ सम्म व्यापारिक केन्द्र रहेको माथिल्लो र तल्लो कोप्चेबजार सबैभन्दा बढी सुनसान छ । २०३९ सालमा हालको वडा नम्बर ७ मा सडक आइपुगेपछि यहाँको व्यापार क्रमशः सरेर गएको धनकुटा नगरपालिका–५, माथिल्लो कोप्चेबजारका रमेश अमात्य बताउनुहुन्छ । 

व्यापार व्यवसाय नभएपछि अहिले माथिल्लो कोप्चे र तल्लो कोप्चेबजारका अधिकांश घरका ढिक (काठले बनेको आधा झ्याल आधा ढोकाको रूप) बन्द देख्न पाइन्छ । बन्द रहेका घर व्यापारका लागि अरूलाई पनि नबेच्ने र आफू पनि नबस्ने भएकाले बजार विस्तार हुन नसकेको तल्लो कोप्चेबजारका सञ्जय श्रेष्ठको भनाइ छ । तीन पुस्तादेखि खाद्यान्नको व्यापार गर्दै आएका श्रेष्ठले ३५ वर्षअघिको व्यापार अहिले नहुने दुःखेसो गर्नुभयो । 

अहिले सबैभन्दा धेरै सुनसान कोप्चेबजार देखिएकाले यसको साख फर्काउन हालैबाट ‘कोप्चे जागरण अभियान’ सुरु गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष धनकुमार श्रेष्ठका अनुसार बजारका सबै घरमा सुन्तला रङ लगाउने, खाना महोत्सव आयोजना गर्ने र कोप्चेबजारमा घरबास सेवा सञ्चालन गर्न लागिएको छ । धनकुटा बिचबजारका युवा उद्यमी विकास घिमिरेका अनुसार जिल्लाका व्यापारी, समाजसेवी, नेता सबै सुविधासम्पन्न ठाउँमा घरघडेरी जोडेर बस्न थालेपछि सदरमुकामको बजार मृत अवस्थामा पुगेको हो । उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले व्यापारिक केन्द्र र प्रशासनिक केन्द्रका रूपमा रहेको धनकुटाबजार सडक सञ्जाल र प्रशासनिक केन्द्र स्थानान्तरणका कारण रित्तिँदै गएको बताउनुभयो ।

उहाँले सबैतिर सडक पुगेपछि धनकुटाको व्यापार पनि उतै सरेर गएको र देश आर्थिक मन्दीमा गएकाले जिल्लामा लगानी गर्ने उद्यमी तथा व्यवसायी थप सङ्कटमा परेको बताउनुभयो । उहाँले नगरलाई पुनः गुल्जार बनाउन कृषिमा आधारित उद्योग, पर्यटन प्रवर्धन, शैक्षिक केन्द्र तथा मेडिकल कलेज स्थापना गर्न सके बिस्तारै बजार लयमा फर्कने बताउनुभयो ।

अहिले धनकुटाबजार क्षेत्रको घरघडेरी बिक्री ठप्प जस्तै छ । जिल्लामा सदरमुकाम रहे जस्तै राजधानी पनि हुन्छ भन्ने आसमा खरिदबिक्री भएका घरघडेरी अहिले आधा दाममा पनि बिक्न छाडेका छन् । पहिला बस्नका लागि खचाखच भाडा लाग्ने घर पनि अहिले सबै बन्द अवस्थामा छन् । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष नगेन्द्र राईका अनुसार व्यापार व्यवसाय ठप्प हुँदै गएकाले धनकुटाका सात स्थानीय तहभन्दा सदरमुकाममा महँगी बढेको छ ।

अहिले धनकुटाबजारभन्दा वडा नम्बर १ मा रहेको हिलेबजार चार जिल्ला र चार स्थानीय तहको व्यापारिक केन्द्र बनेकाले अधिकांश मालसामानका डिलर पनि त्यतै सरेका छन् । यसका कारण कुनै बेला व्यापारिक केन्द्र रहेको धनकुटाबजारका बासिन्दाले धरान र हिलेसम्म घरायसी मालसामान लिन जानुपर्ने अवस्था आएको छ । धनकुटाबजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठका अनुसार अहिले धनकुटाबजारको व्यापारमा ७० प्रतिशतभन्दा बढीले मन्दी आएको छ । देशमा आएको परिवर्तनसँगै हुने हेरफेरमा जिल्लाका लागि पहल गर्ने र लड्ने नेताको अभावका कारण नगरको बजार दयानीय अवस्थामा पुगेको धारणा उहाँको छ । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटाबजारका अग्रजले आफ्नो ठाउँलाई माया नगरेका कारण बजार सुनसान अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाम, दाम र इज्जत धनकुटामा कमाउने तर लगानी तराई र काठमाडौँमा गरिएकाले बजार सुनसान भएको हो ।”

ढिलै भए पनि चेत खुलेका कारण पछिल्लो समय नगरका केही व्यक्तिले धनकुटाबजार क्षेत्रको विकासमा खर्च गरेकोप्रति प्रमुख तामाङले खुसी व्यक्त गर्नुभयो । १० वटा वडा भएको नगरको वडा नम्बर १ हिले व्यापारिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको छ । वडा नं. ४ मा तत्कालीन पूर्वाञ्चल तथा हाल जिल्लाको प्रशासनिक कार्यालय रहेका छन् । वडा नं. ५, ६ र ७ पुरानो सदरमुकाम क्षेत्र तथा मुख्य बजार क्षेत्र हुन् । यीबाहेक  वडा नं. २, ३, ८, ९, १० प्रायः ग्रामीण क्षेत्रले ओगटेको छ । एक हजार १०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको धनकुटा नगरपालिकामा २०७८ को जनगणना अनुसार ३५ हजार ९८३ जनसङ्ख्या रहेको छ । 

नगरको अवस्था सुधार गर्न नगरपालिकाको बजेट क्षमताले भ्याएसम्म काम गरिरहेको प्रमुख तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सङ्कटमा रहेको दुई कोप्चे जागरण अभियान, धनकुटा नगरपालिकालाई २०७५ सालमा एभोकाडोको राजधानी घोषणासँगै यसको खेती र उद्योग स्थापनामा नगरपालिकाले सहयोग गरिरहेको छ । त्यसका साथै नगरले कृषि, पशुपालनको क्षेत्रमा विभिन्न अनुदानका कार्यव्रmम र पर्यटनको क्षेत्रमा चुलीवन पर्यटन विकास कार्यक्रमलगायतका काम गरिरहेको जानकारी उहाँले दिनुभयो । जिल्लाबाहिर रहेका नगरवासीले क्रमशः आफ्नो ठाउँमा लगानी गर्ने परिपाटी सुरु भएको देखिएकाले बिस्तारै नगरको व्यापार र चहलपहल बढ्दै जाने विश्वास प्रमुख तामाङले व्यक्त गर्नुभयो । नगर प्रमुखको विश्वास जस्तै बजारका पुराना व्यापारी, स्थानीय सरकारको पहलले धनकुटाबजारले पुनर्जीवन पाउला त ? त्यसो भएमा गायिका कुन्ती मोक्तानले भने जस्तै धनकुटाको सुन्तलाले पुनः प्रख्याति पाउला त ? 

सुनकै भाउ छ सुन्तला भारीको

चाखी जानु भन्ने मनकारीका

खै त बुटजुत्ता

कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा   

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।