• १३ साउन २०८१, आइतबार

धराप बन्दै सडक आसपासका रुख

blog

सिलढुङ्गा सामुदायिक वनको सडक आसपासका जोखिमपूर्ण अवस्थामा रहेका रुखहरु । तस्बिरः कविराज

हिले, चैत्र ४ गते । धनकुटा नगरपालिका एक हिले निवासी आशिष तामाङ र उहाँकी श्रीमती उषा तामाङ बिहीबार दिउँसो करिब ४ बजे धनकुटाबाट हिले घरतर्फ फर्कदै हुनुहुन्थ्यो । मोटरसाइकलमा सवार उहाँहरु धनकुटा नगरपालिका वडा नं–४ स्थित सल्लेरीमा आइपुग्दा माथिवाट शिरीषको रुखको हाँगा खस्यो । माथीबाट खसेको बुढाे रुखको हाँगाका कारण सडकमा यात्रा गरिरहेका तामाङकाे परिवारमा एकाएक वज्रपात आइपर्यो । हाँगाले लागेर घाइते भएको श्रीमती उषा तामाङलाई अस्पताल पुर्‍याउन साथ अस्पतालले मृत घोषणा गर्यो । श्रीमान आशिष घाइते छन् । 

लामो सयमदेखि सडक आसपासका जोखिमपूर्ण रुख नहटाइँदा एकाएक बिहीबार आशिषकी श्रीमती मात्र हैन नाबालक दु छोराले आमा गुमाउनुपर्‍याे । कोशी राजमार्ग अन्तर्गत धनकुटा खण्डमा सडक वरिपरि धेरै बुढा र कमजोर रुख छन् । ती रुखका कारण यात्रुहरुको यात्रा जहिले जोखिमपूर्ण बन्ने गरेको छ । यतिसम्म कि कतिबेला कुन रूख लडेर यात्रुले मृत्युवरण गर्नुपर्ने हो टुङ्गो छैन । ती रुख व्यवस्थापनको काम नहुँदा सडकमा जोखिम कम हुन सकेको छैन । धनकुटा हिले खण्डको १२ किलोमिटर सडक वरिपरि मात्रै सयौ जोखिमपूर्ण अवस्थाका रुख छन् । यो बिचमा एक सरकारी वन दुई सामुदायिक वन र धेरै निजी वनका रुख छन् । 

सिलढुङ्गा सामुदायिक वनका मात्र करिब ८६ वटा रुख सडक आसपास जोखिमपूर्ण अवस्थामा रहेको अध्यक्ष दोदराज बाँस्तोला बताउनुहुन्छ । त्यस्तै सल्लेरी वनका सडक आसपासका अधिकांश रुख जोखिम अवस्थामा छन् । यो वन व्यवस्थापनको काम भइरहे पनि जोखिमपूर्ण अवस्थाका रुख व्यवस्थापनको काम हुन सकेको छैन । यी रुखका कारण बाटो हिंड्नै डरमर्दो अवस्था रहेको धनकुटा नगरपालिका वडा नम्बर ३ का स्थानीय बाबुराम मिश्र बताउनुहुन्छ । “दायाँबायाँ नहेरी हिंड्दा त ठिकै हो तर दायाँबायाँ र माथि हेरेर हिंड्न सक्ने अवस्था छैन” मिश्र भन्नुहुन्छ । 

ती रुखको व्यवस्थापन  हुन नसक्दा यो सडक खण्डको यात्रा जोखिमपूर्ण मात्र बनेको छैन, यी रुख सडकमा थापिएको धराप झैं बनेको छ । यो सडक खण्डमा रुख लड्नु कुनै नौलो कुरो हैन । पटक पटक सडकमा रुख लड्ने गरेका छन् । बर्खा तथा चैत वैशाखको हुरीमा यहाँ रूख ढल्ने गरेका छन् । तर आफूहरुले यस्ता जोखिम कम गर्न अध्ययन गर्ने काम गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल बताउनुहुन्छ । “हामीले रुखसहित सडकका जोखिम हटाई सडक सुरक्षित गर्नुपर्छ भनेर त्यस्तो जोखिम पहिचान गर्ने काम गरिरहेका छौं अचानक बिहीबार दुर्घटना भयो, यो काम अझ छिटो गर्नुपर्ने देखियो” पौडेल भन्नुहुन्छ । खटिएको टोलीले प्रतिवेदन पेश गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी हटाउने उहाँको भनाइ छ । 

कोशी राजमार्गको धनकुटा खण्डमा पर्ने भेडेटारदेखिको चित्रेसम्मको करिब ६० किलोमिटरको धेरै स्थानमा त्यस्ता जोखिमपूर्ण अवस्थाका रुख छन् । तर कुनै पनि निकायसँग कति जोखिमपुर्ण अवस्थाका रुख छन् भन्ने तथ्याङ्म छैन । न त जोखिम हटाउन सुरु नै भएको छ ।  पहिले यस्ता जोखिमपूर्ण रुख हटाउन समस्या भए पनि अहिले समस्या नहुने डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरतराज श्रेष्ठ बताउनुहुन्छ । 

जोखिमपूर्ण रुख रहेको र व्यवस्थापन गर्नुपर्ने माग भएको खण्डमा प्रमुख वन अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयको अधिकृत, जिल्ला प्रहरी, मालपोत नापि कार्यालयका प्रतिनिधि र सम्बन्धित वडाका वडाध्यक्ष सम्मिलित टोलीले जोखिम ठहर गरेको खण्डमा यस्ता रुख  व्यवस्थापन गर्न मिल्छ । तर अहिलेसम्म कतैबाट यस्तो माग नभएको उहाँको भनाइ छ । जोखिमपूर्ण रुखको हकमा पहिले जस्तो समस्या छैन जिल्लामा एउटा समिति हुन्छ माग भइआएको खण्डमा त्यो समितिले जोखिम भएको ठहर गरे स्थानीय स्तरबाटै हटाउन सकिन्छ  श्रेष्ठ भन्नुहुन्छ । 

यता जिल्ला डिभिजन वन कार्यलयसँगको समन्वयमा जोखिमपूर्ण अवस्थाका रुख पहिल्याउने जिम्मा पाएको सडक डिभिजन कार्यालयले भने त्यस्ता रुखको पहिचान गरिसकेको छैन । त्यस्ता रुख पहिचान गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यलय धनकुटाका इन्जीनियर सन्तोष शाह बताउनुहुन्छ । “हामी पहिचानको काम त गरिरहेका छौं तर सडकको क्षेत्राधिकारका कारण पहिचान गर्न समस्या छ सरकारी र सामुदायिक वनमा त्यो समस्या कम भए पनि निजी जग्गाको हकमा यो समस्या छ” चौधरी भन्नुहुन्छ ।  

यो सडक हुँदै भोजपुर तेह्रथुम संखुवासभासहित पूर्वी पहाडका लागि तथा ती स्थानबाट तराईको लागि  दैनिक सयौं सवारीसाधन र हजारौं यात्रु यात्रा गरिरहेका हुन्छन् । उनीहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यस्तोमा चाँडोभन्दा चाँडो यस्ता रुखको पहिचान गरी व्यवस्थापन गर्न स्थानीयको माग छ ।  तामाङकाे परिवारले जस्तो नियति अरुले भोग्न नपरोस् ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।